शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

कानुन बनाउँदा विद्यालय सञ्चालकको कुरा होइन, अति विकटका जनताको कुरा सुन्नुपर्छ : पौडेल

बिहीबार, ०५ भदौ २०८२, ११ : ४८
बिहीबार, ०५ भदौ २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विद्यालय शिक्षासम्बन्धी विधेयक बिहीबार नै समितिबाट टुङ्ग्याउनुपर्ने बताएका छन् । 

सिंहदरबारस्थित समिति सचिवालयमा जारी प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सांसद पौडेलले समिति सदस्यहरूले आज नै विधेयक समितिमा पेस गर्ने बताएकोमा आफू खुसी भएको बताए । 

उनले विधेयकमा विद्यालय शिक्षा र उच्च शिक्षा कहाँ जोड्ने भन्ने विषयलाई सरकारले ध्यान दिनुपर्ने बताए ।  

बाल शिक्षा पढाउनेलाई सहजकर्ता होइन शिक्षक भन्ने व्यवस्था गर्नुपर्ने पौडेलले समिति बैठकमा बताए । कक्षामा पुगेर पढाउनेलाई शिक्षक भन्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । ‘कक्षामा गएर पढाउनेलाई बाल सहजकर्ता होइन, बाल शिक्षक भनौँ । त्यो विधेयकमा उल्लेख गरौँ,’ पौडेलले भने ।

विधेयकमा निजी विद्यालयलाई कहीँ कतै ङ्याक्न नखोजिएको पौडेलले बताए । विषयलाई अतिरञ्जित बनाउन प्रयास गरिएकोप्रति आपत्ति जनाउँदै बैंकले कानुन हेरेर नभई विद्यालयको प्रबन्धपत्र र कार्यक्रम हेरेर ऋण दिने बताए । 

समितिले निजी विद्यालयका सञ्चालकको कुरा नसुनेर अति विकटका अभिभावक र विद्यार्थीको कुरा सुन्नुपर्ने सांसद् पौडेलले बताए । 

शिक्षकले आफूले पढाउनुपर्ने विद्यालयमा पढाउनै पर्ने बाध्यकारी व्यवस्था गरिनुपर्ने बताए । यो व्यवस्थाले विद्यालय सुधार्ने जिम्मा लिएका व्यक्तिहरूको दायित्व र जिम्मेवारी बोध हुने उनले बताए । 

प्रधानाध्यापकलाई त्यो पदमा रहुन्जेल थप सुविधाको व्यवस्था गरिनुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप