सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय प्रजातन्त्रबारे चिन्तन–मनन

बिहीबार, ०५ भदौ २०८२, १३ : २६
बिहीबार, ०५ भदौ २०८२

आजको संसारलाई ऐतिहासिक विकासको विचारबाट चर्चा गरिन्छ । आध्यात्मिक चिन्तनबाट भन्दा वेदसम्मत शब्दबाट अर्कै प्रकारले चर्चा गरिन्छ । वेदसम्मत विचारबाट यो विशाल धर्तीलाई सात भागमा विभाजन गरिएको छ—जम्बुद्वीप, शाल्मलद्वीप, कुशद्वीप, शाकद्वीप, प्लक्षद्वीप, क्रौंचद्वीप र पुष्करद्वीप ।
हामी हिमालयको फेदमा बस्नेहरू जम्बूद्वीपमा बसेका छौँ । परापूर्व कालदेखि हाम्रा पुर्खाले कुनै कार्यक्रम, अनुष्ठान, यज्ञ–यज्ञादि जेसुकै गर्दा पनि मन, वचन, कर्मले निष्ठापूर्वक, विधिसम्मत संकल्प गर्ने गरिएको छ । संकल्पमा ‘जम्बूद्वीपे भरतखण्डे भारतवर्षे’ भनेर वचनसिद्ध गर्ने चलन थियो र आज पनि छ । त्यसैले पनि हामी जम्बुद्वीपवासी हौँ । 

जम्बुद्वीपभित्र हिन्द महासागर र अरब महासागर पर्छन् । यी दुई सागरका बिचमा त्रिकोणात्मक रूपमा विशाल भूमि अवस्थित छ । एकातर्फ हिन्द महासागर र अर्कोतर्फ अरब महासागरको संगमस्थल एकाकोण हो, बाँकी दुई कोणमध्ये उत्तरपूर्वी भागमा हाम्रो सुन्दर एवं ऐतिहासिक मुलुक नेपाल पर्छ भने दक्षिण पश्चिमतर्फको कोणमा विशाल मुलुक चीनको भाग पर्छ । यसरी चीन र नेपाललाई शिरमा बोकेर त्रिकोणात्मक अवस्थामा रहेको विशाल मुलुक राजा भरतको नामबाट परिचित भारतवर्ष तपाईं हाम्रो छिमेकमा छँदै छ ।

भारत वर्षको दुवैतर्फ विशाल सागर भएको हुँदा विश्वभरि नै यातायातको विस्तार गर्न कुनै समस्या भएन । संसारभरिका सामान त्यही सागरको बाटो गरेर तिनै तर्फबाट भारतमा भित्रिने र भारतका व्यावसायिक सामान पनि संसारभरि जुनसुकै मुलुकमा लैजान सकिने हुँदा यातायातको दृष्टिकोणले धनी छ । यस मुलुकमा संसारका धेरै मुलुकले आफ्नो शक्ति र क्षमतानुसार यसको मूल्यलाई बुझेर फाइदा लिन आक्रमण गरे, कब्जा गरे र निष्कण्टक राज्य पनि गरे । हाम्रो मुलुकको तुलनामा भारत वर्षको विकास, उन्नति र प्रगतिबारे कुरा गर्दा हामी पछि पर्न सक्छौँ तर भारतको इतिहासलाई कोट्ट्याएर हेर्दा फ्रान्स भन्ने देशले आक्रमण गरी भारतवासीमाथि धेरै समयसम्म शासन गर्‍यो । त्यसपछि पोर्चुगिजहरूले शासन गरे, फेरि डचहरूले शासन गरे र थाङ्नो बनाएको भारतमा मुगलहरूले पनि आक्रमण गरेर शासन गरेको इतिहास प्रस्ट छँदै छ । अन्त्यमा धर्म प्रचारका नाममा भारत आउने गरेका बेलायतीले पछि व्यापार गर्ने कुरा गर्दै भारतमा व्यापार उद्योग र कारखानालाई विस्तार गरे । त्यसो गर्दागर्दै भारतवासीलाई नैतिक रूपमा, आध्यात्मिक एवं धार्मिक रूपमा अनि आर्थिक रूपमा पनि आक्रमण गर्न थाले । गर्दागर्दै ती विदेशीले भारतको राजनीतिमा पनि आफ्ना पन्जा छिराउन थाले । भारतीयको मन–मस्तिष्कमा प्रभाव पारेर गिजोल्दा गिजाल्दै सन् १८५७ मा सिपाही विद्रोहको घटनालाई आधार बनाई सिङ्गै भारतको राजनीतिलाई आफ्नो कब्जामा पारे । भारत कब्जामा परेसँगै के सुन्न थालियो भने संसारमा कहिल्यै घाम नअस्ताउने साम्राज्य हो बेलायती साम्राज्य । 

भारतबाट अंग्रेज धपाउने अभियानका योद्धा र आफ्नो विरोधी महात्मा गान्धीको सालिक अंग्रेजहरूले आफ्नै देशको संसद् भवनको प्राङ्गणमा बनाएर राष्ट्रिय प्रजातन्त्रप्रति चिन्तन–मनन गर्नुपर्ने विषय संसारभरिका देशभक्त। राष्ट्रवादी र प्रजातन्त्रप्रेमी जनताका माझमा छरेका छन् । 

हुन त हाम्रो देश नेपाललाई कसैले आक्रमण गर्न र कब्जामा लिन सकेन । हामी नेपालीलाई कसैले दास बनाउन सकेन । हामी यस्ता स्वाभिमानी देशका बासिन्दा हौँ भनी गर्व गर्छौं । 

नेपालबाट कलकत्तामा भएको काली मन्दिरको दर्शन गर्न जाने तीर्थयात्री र बंगालबाट नेपालमा पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीले नेपालको सुन्दरता, भव्यता र यसको आफ्नै मौलिकताको प्रशंसा गरेका कुरामा कलकत्ताका बादशाह पनि अनभिज्ञ थिएनन् । उनी प्रभावित भएका थिए नै, उनको मनमा डाह समेत भरिएर आएको थियो । डाह खप्न नसकी, लोभलाई रोक्न नसकी बंगालका त्यसबेलाका शासक समसुद्दिन इलियासले सन् १३५० तिर करिब–करिब २० हजार लडाकु फौज लिई नेपालतिर प्रवेश गरे । उनी बंगालको सिलगढीबाट भित्र छिर्दै हाम्रो सिन्धुलीगढी हुँदै धुलिखेल बनेपाको ढोकाबाट काठमाडौँमा छिरे । काठमाडौँलाई एकरात कब्जा पनि गरे र अध्ययन निरक्षण गर्न थाले । काठमाडौँमा भएका ठुल्ठुला मन्दिर, चैत्यहरू, देवलहरू र धार्मिकस्थल एवं कला–संस्कृतिको राम्रै अध्ययन पनि गरे । उनी व्यापारी थिए । उनले हाम्रो देश नेपालबाट धनसम्पत्ति उठाएर लैजाने, चोरेर लैजाने वा डाँका गरी लैजानेमा फाइदा देखेनन् । उनी त आफ्नो यो व्यापारिक यात्रामा नोक्सानीमा परे । व्यापारमा उनलाई ठुलो घाटा भयो । उनले यहाँका कैयौँ मन्दिर र देवस्थल रिसाउँदै भत्काए र हामीलाई सराप्दै भोलिपल्टै जुन बाटोबाट आएका थिए, हामीमाथि एक दिन मात्र शासन गरी फर्किए । 

भारतमा अंग्रेज शासन लम्बिरहेकै थियो । सन् १८६९ मा भारतको गुजरात राज्यमा एकजना मोहनदास करमचन्द गान्धी नामका बालकको जन्म भयो । उनी सन् १८८८ मा बेलायतमा वकालती पढ्न गए । वकालती अध्ययन सकेपछि सन् १८९३ मा दक्षिण अफ्रिकामा भइरहेको रंगभेद नीतिको लडाइँमा काला अफ्रिकनलाई सघाउन र उनीहरूको पक्षमा मुद्दा गर्न दक्षिण अफ्रिकातर्फ गए । उनीमा राष्ट्रिय भावनाको विकास हुँदै थियो । आफ्नो देशमा विदेशी अंग्रेजले शासन गरेको तर आफूचैँ अर्कै मुलुकमा अर्कालाई सघाउन बसिरहेको कुराले मनमा छोयो । उनको मनमा राष्ट्रिय प्रजातन्त्रको चिन्तन–मननले ठाउँ ओगट्यो । उनी त्यहाँ अलमल गरी बस्न सक्ने भएनन् । देश पे्रमले उनलाई उकुसमुकुस बनायो । अब देशमा फर्किएर अंग्रेजविरोधी आन्दोलन उठाउनुपर्छ भनी १९१५ मा उनी दक्षिण अफ्रिकाबाट आफ्नै सो मुलुक फर्किए र ‘अंगेज भारत छोडो’ नारा लगाउन थाले । 

भारतमा अंग्रेजविरोधी आन्दोलन चर्कियो । महात्मा गान्धीको नेतृत्वमा देशभक्त राष्ट्रवादी भारतीय जनता संगठित हुन थाले । आन्दोलनले उग्र रूप लिन थाल्यो । महात्मा गान्धी आफ्नो ज्यानको बाजी लगाई भारतबाट अंग्रेज धपाई छाड्ने अभियानमा अगाडि बढिरहे । उनी अंगे्रजको आँखाको कसिङ्गर भए । अंग्रेजी साम्राज्यका कट्टरविरोधी र शत्रु भए तर आन्दोलन रोकिएन । अंग्रेज शासकले आन्दोलन दबाउन सक्दो प्रयास गर्‍यो । धेरै भारतीय सहिद भए । गान्धी भारतका मुक्तिदाता नभई नछाड्ने नै भए । आखिर सन् १९४७ मा उता अंग्रेजको कहिल्यै घाम नअस्ताउने साम्राज्यका अधिपति शासक, त्यो शक्तिशाली अंग्रेज सरकार, यता एउटा साधारण थोत्रो धोती लपेटेर युद्धमा होमिएका महात्मा गान्धी, उनले अंग्रेजलाई धपाई छाडे । अंग्रेजको हार भयो, महात्मा गान्धीसँग । भारतीय जनताले महात्मा गान्धीलाई राष्ट्रपिता भनी सम्बोधन गरे । 

सन् १९१५ मा अंग्रेज शासकलाई धपाई छाड्ने उद्देश्य लिएर भारतमा आएका महात्मा गान्धीको सम्मानमा तिनै अंग्रेज शासकले आफ्नो देश बेलायतको राजधानी लन्डन सहरमा भएको आफ्नो जनप्रतिनिधि सभा संसद् भवनको प्राङ्गणमा महात्मा गान्धीको सालिक निर्माण गर्न थाले । महात्मा गान्धीले सन् १९१५ मा भारत छोडो अंग्रेज भनी सुरु गरेको लडाइँको ठिक सय वर्ष अथवा सन् २०१५ का दिन उनको त्यो सालिक अनावरण गरियो । भारतबाट अंग्रेज धपाउने अभियानका योद्धा र आफ्नो विरोधी महात्मा गान्धीको सालिक अंग्रेजहरूले आफ्नै देशको राजधानीमा र आफ्नै देशको संसद् भवनको प्राङ्गणमा बनाएर राष्ट्रिय प्रजातन्त्रप्रति चिन्तन–मनन गर्नुपर्ने विषय संसारभरिका देशभक्त। राष्ट्रवादी र प्रजातन्त्रप्रेमी जनताका माझमा छरेका छन् । 
(मिति ः २०८२ साउन २८, काठमाडौँ ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

देवराज अधिकारी
देवराज अधिकारी
लेखकबाट थप