बालबालिकाको स्वास्थ्यमा परम्परागत विधि : के हो ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ ?
सारांश
- सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिँदै 'राष्ट्रिय स्वर्ण बिन्दु प्राशन' कार्यक्रम सुरु गरेको छ।
- यो कार्यक्रमअन्तर्गत, ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई विशेष आयुर्वेदिक औषधि खुवाइनेछ।
- कार्यक्रमले बालबालिकाको शारीरिक र मानसिक विकासमा सहयोग गर्ने तथा रोग प्रतिरोधात्मक क्षमता बढाउने लक्ष्य राखेको छ।
काठमाडौँ । सरकारले प्राचीन चिकित्सा पद्धतिलाई प्राथमिकता दिएर राष्ट्रिय कार्यक्रमको रूपमा ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम सुरु गरेको छ ।
आधुनिक एलोप्याथी अभ्यासलाई पूर्ण रूपमा नै अङ्गीकार गरी औषधि, शल्यक्रिया र उच्च प्राविधिक उपचारहरूको प्रयोग भइरहँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परम्परागत चिकित्सालाई पनि प्राथमिकता दिएको छ ।
जसअनुसार राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रमलाई व्यवस्थित र एकरूपताका साथ सञ्चालन गर्न स्वास्थ्य मन्त्री प्रदीप पौडेलले ‘राष्ट्रिय स्वर्ण बिन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका २०८२’ समेत स्वीकृत गरेका छन् ।
बिहीबारदेखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट ‘स्वर्ण बिन्दु प्राशन’समेत सुरु गरिएको छ । आयुर्वेद विभागका अनुसार अब सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई एक विशेष आयुर्वेदिक औषधि खुवाउने भएको छ । मन्त्रालयका अनुसार शास्त्रीय विधिसम्मत बिहानको समयमा पुष्य नक्षत्रको दिन पारेर देशभरिका २५ वटा आयुर्वेदिक केन्द्रहरूबाट महिनैपिच्छे ‘स्वर्ण बिन्दु प्राशन’ वितरण गरिनेछ ।
विभागका पूर्वमहानिर्देशक डा. उपाध्यायले स्वर्ण प्राशन आयुर्वेदको एक प्राचीन चिकित्सा पद्धति हो, जसलाई आधुनिक खोपको अवधारणासँग तुलना गर्न मिल्ने बताए । बालबालिकाको शारीरिक तथा मानसिक विकासलाई बढवा दिनु र उनीहरूलाई विभिन्न रोगबाट बचाउनु हो, उनले बताए ।
के हो स्वर्ण बिन्दु प्राशन ?
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. श्यामबाबु यादवले ‘स्वर्ण बिन्दु प्राशन’ करिब पाँच हजार वर्ष पुरानो आयुर्वेदिक ग्रन्थ ‘काश्यप संहिता’ मा वर्णन गरिएको एक परम्परागत विधि भएको बताए ।
प्रशोधित स्वर्ण भस्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्ने उनले बताए । मस्तिष्कको क्षमता बढाउने जडिबुटीयुक्त ब्राह्मी घृतले स्नायु कोषहरूको रक्षा गर्ने र स्मरण शक्ति बढाउन भूमिका खेल्छ । शुद्ध मह आफैँमा एक प्राकृतिक जीवाणुरोधी तत्त्व हो, जसले सङ्क्रमणबाट बचाउँछ ।
‘यो कुनै अन्धविश्वासमा आधारित परम्परा होइन, यो हजारौँ वर्षको अनुभव र अनुसन्धानमा आधारित विज्ञान हो,’ आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका पूर्वमहानिर्देशक वासुदेव उपाध्याय सुनाउँछन् ।
महानिर्देशक डा. यादवका अनुसार स्वर्ण भस्मको ‘इम्युनोमोडुलेटर’ गुण, ब्राह्मीको ‘न्युरो–प्रोटेक्टिभ’ क्षमता र महको प्राकृतिक ‘एन्टी–माइक्रोबियल’ गुणबारे आधुनिक अनुसन्धानले पुष्टि गर्छ । यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखाका प्रमुख डा. पुष्पराज पौडेल ‘स्वर्ण बिन्दु प्राशन’को वैज्ञानिक पक्ष रहेको बताउँछन् ।
‘आधुनिक वैज्ञानिक दृष्टिकोणबाट हेर्दा ‘स्वर्ण बिन्दु प्राशन’ एक अत्यन्तै परिष्कृत ‘नानो–मेडिसिन’ र ‘न्युरो–इम्युनोमोडुलेटर’ फर्मुलेसन हो । यसमा प्रयोग हुने ‘स्वर्ण भस्म’ सामान्य सुन होइन । यो विशेष प्रशोधन विधिबाट तयार पारिएको सुनको नानो कण हो, जसले शरीरको रोग प्रतिरोधात्मक प्रणालीलाई सन्तुलित गर्ने क्षमता राख्दछ ।’
नेपालमा सुरु भएको यो राष्ट्रिय कार्यक्रमले परम्परागत चिकित्सा पद्धतिलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्न र नागरिकलाई एलोप्याथिकका साथै वैकल्पिक उपचार विधिहरूमा पहुँच विस्तार गर्ने सरकारको नीतिलाई थप सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ ।
ब्राह्मी र शंखपुष्पी जस्ता ‘मेध्य रसायन’ जडीबुटीहरूमा पाइने ‘नूट्रोपिक्स, एड्याप्टोजेन्स’ जस्ता सक्रिय तत्त्वहरूले स्नायु कोषहरूको रक्षा गर्ने र मस्तिष्कको सिक्ने क्षमतालाई बढवा दिने पूर्वमहानिर्देशक डा. उपाध्याय बताउँछन् । उनले यो केवल परम्परा मात्र नभएर बालबालिकाको प्रतिरक्षा प्रणाली र स्नायु प्रणालीलाई सबल बनाउने एक वैज्ञानिक रूपले सिनर्जिस्टिक संयोजन भएको बताए ।
‘स्वर्ण बिन्दु प्राशन’ बनाउन ‘स्वर्णभस्म’लाई घ्यू र महमा मिसाएर औषधीय गुण भएको पदार्थ बनाइन्छ भन्ने डा. उपाध्यायले बताए । स्वर्णभस्मलाई घ्यू र महसँग मिसाएर पेस्टका रूपमा बालबालिकालाई दिइन्छ भन्ने उनले बताए । स्वर्णभस्म बनाउन सुनलाई बालेर त्यसको पातलो तह निकाली शुद्धीकरण गरी विभिन्न औषधीयहरूको प्रयोग गरी आगोमा राखेर बनाइन्छ ।
यस्तै निर्देशिकामा स्वर्ण बिन्दु प्राशनको मिश्रण तयार पार्ने विधि, मात्रा, गुणस्तर, भण्डारण, खुवाउने प्रक्रिया र स्वास्थ्यकर्मीको भूमिकालाई स्पष्ट रूपमा परिभाषित गरिएको आयुर्वेद विभागका महानिर्देशक डा. यादव बताउँछन् ।
नेपालमा सुरु भएको यो राष्ट्रिय कार्यक्रमले परम्परागत चिकित्सा पद्धतिलाई राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्न र नागरिकलाई एलोप्याथिकका साथै वैकल्पिक उपचार विधिहरूमा पहुँच विस्तार गर्ने सरकारको नीतिलाई थप सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ ।
महको प्रयोगः चिन्ता र भ्रम
सामान्यतया दुई वर्षभन्दा कम उमेरका बालबालिकालाई मह खुवाउनु हुँदैन भन्ने मान्यता छ । यस कार्यक्रममा महको प्रयोग हुने भएपछि धेरैमा चिन्ता र भ्रम छ ।
आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा. उपाध्याय कार्यक्रममा प्रयोग हुने औषधिको थोपामा महको मात्रा अत्यन्तै न्यून हुने बताउँछन् ।
‘ठुलो मात्रामा सीधै मह चटाउँदा हुने जोखिम यसमा हुँदैन । यसलाई अन्य जडीबुटीसँग मिलाएर यस्तो तरिकाले बनाइएको हुन्छ कि त्यसले बच्चालाई कुनै हानि गर्दैन,’ उनी बुझाउँछन् ।
यो औषधि घरमै बनाउन वा जथाभाबी खुवाउन नहुने डा. उपाध्यायको सुझाव छ । सरकारी मापदण्डअनुसार अस्पताल वा आधिकारिक केन्द्रहरूमा विज्ञको प्रत्यक्ष निगरानीमा बनाइन्छ र खुवाइन्छ । औषधिमा प्रयोग हुने स्वर्ण भस्म, मह र अन्य जडीबुटीहरू औषधि व्यवस्था विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रमाणित र गुणस्तरीय हुनुपर्ने कार्यविधिमा उल्लेख छ । यसले गर्दा यसको सुरक्षा र गुणस्तर सुनिश्चित गरिएको छ ।
कार्यक्रमको वैज्ञानिक आधार र विगतको अनुभव
आयुर्वेद विभागका पूर्वमहानिर्देशक डा. उपाध्याय ‘स्वर्ण बिन्दु प्राशन’ कार्यक्रम शास्त्रीय ज्ञानमा आधारित भए पनि यसको वैज्ञानिक परीक्षण र प्रमाणहरू समेत रहेको बताउँछन् । विभिन्न विश्वविद्यालयहरूले गरेको अनुसन्धानले स्वर्ण प्राशनले बालबालिकामा हुने बारम्बारको रुघाखोकी, कुपोषण र अन्य स्वास्थ्य समस्यालाई कम गर्न मद्दत पुर्याएको देखाएको छ ।
विश्व स्वास्थ्य संगठनले आफ्नो ‘ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०१४–२०२३’ मार्फत सदस्य राष्ट्रहरूलाई प्रमाणमा आधारित परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न प्रोत्साहित गर्दै आएको छ ।
नेपालमै पनि लुम्बिनी प्रदेशको दाङ, बिजौरीस्थित आयुर्वेद चिकित्सालयले यो कार्यक्रम लामो समयदेखि सफलतापूर्वक सञ्चालन गरिरहेको उनी सुनाउँछन् । त्यहाँका सेवाग्राही (अभिभावक) हरूले आफ्ना बालबालिकाको स्वास्थ्यमा सकारात्मक सुधार आएको, भोक बढेको र पहिलेभन्दा कम बिरामी हुने गरेको अनुभव सुनाएका उनले बताए ।
विश्व स्वास्थ्य संगठनले आफ्नो ‘ट्रेडिसनल मेडिसिन स्ट्राटेजी २०१४–२०२३’ मार्फत सदस्य राष्ट्रहरूलाई प्रमाणमा आधारित परम्परागत चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समावेश गर्न प्रोत्साहित गर्दै आएको छ ।
भारतमा ‘स्वर्णप्राशन संस्कार’ लाई राष्ट्रिय आयुर्वेद अभियानअन्तर्गत बाल स्वास्थ्यको एक महत्त्वपूर्ण अङ्गको रूपमा वर्षौंदेखि सञ्चालन गरिँदै आएको छ ।
त्यहाँका विभिन्न राज्य सरकारहरूले यसलाई सरकारी स्वास्थ्य केन्द्रहरूबाट निःशुल्क उपलब्ध गराउँदै आएका छन् । त्यसैगरी, चीन, जर्मनी, अस्ट्रेलियाजस्ता विकसित देशहरूमा समेत आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिहरूलाई पूरक स्वास्थ्य सेवाको रूपमा स्वीकार्यता बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण