बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

तिज र चौरचनको महिमा

आइतबार, ०८ भदौ २०८२, ११ : ४४
आइतबार, ०८ भदौ २०८२

चन्द्रमासका आधारमा गत साउन २५ गते अर्थात् ६ दिनअघि नै कृष्ण पक्षको प्रतिपदा तिथिबाट भाद्र मास लागिसकेको थियो । यस महिनाका मैथिल पर्वको सूचीमा कुसेऔँसी, चौरचन र अनन्त चतुर्दशीले विशेष महत्त्व राख्नेछन् । साथै, यस महिनामा नेपालीभाषी महिलाले मान्ने तिज हरितालिका व्रत पर्वको पनि चहलपहल निकै रहनेछ ।

  • हरितालिका तिज

हरितालिका तिज व्रत नारीले सौभाग्य र समृद्धिका निम्ति उमामहेश्वर अर्थात् शिव र पार्वतीको उपासना गर्ने पर्व हो ।

भदौ शुक्ल पक्षको तृतीया तिथिमा तिज व्रत लिइन्छ । अघिल्लो दिन दर खाएपछि औपचारिक रूपमा सुरु हुने तिज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । धार्मिक रूपमा तिज अन्तर्गत उमामहेश्वरको पूजा गरी निराहार व्रत बस्ने र भोलिपल्ट व्रतको उद्यापन गरेर भोजन गर्नेसम्मका कृत्य पर्छन् । तृतीयाका दिन हरितालिका व्रत, चतुर्थीका दिन गणेश पूजन र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तिजको समापन हुन्छ । हिन्दु धर्मावलम्बी (विशेषतः नेपालीभाषी) महिलाले तिज व्रत लिन्छन् र दिवा–रात्रि जाग्राम गरी नाचगान गरी धूमधामका साथ पर्व मनाउँछन् । यो पर्व नेपाल, भारत लगायत सनातनीहरूको बसोबास भएका अन्य मुलुकमा समेत मनाइन्छ । नेपालका मिथिलानीहरूले पनि तिज व्रत लिन थालेका पाइन्छ । तिजको लोकप्रसिद्ध नाम हरितालिका हो । 

‘आलिभिः सखिभिः हरिता इति हरितालिका । 
अथवा सखिभिर्हरिता यस्मात् तेनेयं हरितालिका ।’

‘हरित’को अर्थ हरण गरिएको र ‘आलिका’ को अर्थ साथी हुन्छ । पौराणिक प्रसङ्ग अनुसार भाद्र शुक्ल तृतीयाको दिन पर्वतराज हिमालयकी सुपुत्री पार्वतीलाई विष्णुसँग निश्चय गरिएको विवाहबाट जोगाउन उनका सखीले हरण गरेर लुकाएका कारण यस दिनलाई हरितालिका भनिएको हो ।

नारीले यो व्रत लिने विधान छ । मुख्य रूपले सौभाग्यवती वा विवाहित नारीले तिज व्रत लिन्छन् । यो व्रत अविवाहिताले पनि लिने गरेका छन् । अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । व्रती यस दिन निराहार/निर्जला व्रत बस्छन् र शिव–पार्वतीको पूजन गर्छन् । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिन्छ ।

विवाहिताले पतिको दीर्घायुको कामना गरी तिज व्रत लिने हुनाले पतिपत्नीबिचको सम्बन्ध प्रगाढ हुने विश्वास गरिन्छ । उमामहेश्वरको एकत्व भावको पूजाको प्रेरणाले पतिपत्नीबिच पनि एकत्वको भाव संरचित भइरहन्छ ।

तिज व्रत लिने नारीले पूजा गर्ने, व्रतको कथा सुन्ने, समापनमा पूजा लगाई ब्राह्मण–ब्राह्मणीलाई दान दक्षिणा गर्ने चलन रहेको छ । साथै नाचगान गरी मनोरञ्जन पनि गर्छन् ।

तिजको दरखाने दिन विशेष खानपान, नाचगान र मनोरञ्जन समेत गरिन्छ । तिज व्रत निराहार बस्ने भएकाले व्रतालुले शक्ति प्राप्तिका लागि मिठामिठा एवं अडिलो परिकार दरका रूपमा खाई व्रतका लागि पूर्वतयारी गर्छन् ।

तिजको सामाजिक महत्त्व निकै छ । तिजमा मिठामिठा परिकार आफैँले पकाएर आफन्तलाई बोलाएर आफ्नै मिहिनेतको फल खाने र खुवाउने चलन छ । यस्तै नयाँ कपडा तथा गरगहना जोरजाम गर्ने पर्वका रूपमा पनि तिज परिचित छ । नेपाली समाजमा प्राचीनकालदेखि नै तिजलाई महत्त्वपूर्ण पर्वका रूपमा लिने गरेको पाइन्छ । विवाह भएर टाढा पुगेका छोरी–चेली–भान्जीलाई घरसम्मै माइती लिन जाने, माइतमा एकसाथ भेला हुने, रमाइलो भेटघाटबिच मिठो एवं स्वादिष्ट दर खाने, व्रत बसी सामूहिक पूजा गर्ने र नाचगानका माध्यमले आफ्ना दुःखसुखका पीरमर्का व्यक्त गर्ने अवसर तिजले नै जुटाउँछ ।

  • ऋषि पञ्चमी

सनातन संस्कार अनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति नै महत्त्व भएको पर्व मानिन्छ ऋषिपञ्चमी । पौराणिक कथन अनुसार नारी रजस्वला हुँदा जानेर वा नजानेरै गरिएका जति पनि पाप छन्, तीबाट मुक्ति पाउनका लागि यसको व्रत बसिन्छ । यस पर्वमा व्रतालु महिलाले नदी, ताल, पोखरी लगायत जलाशयमा गई तीन सय ६५ वटा दतिवनले दाँत माँझ्छन्; चोखो माटो, तिल र गोबर लगाई स्नान गर्छन्; चोखो वस्त्र पहिरेर मध्याह्नमा अरुन्धतीसहित सप्तऋषिको षोडशोपचार विधिले पूजा गरी ब्राह्मणलाई दानदक्षिणा दिन्छन् । व्रतालुले कर्कलाको तरकारी बनाई एक छाक खाना खाने गर्छन् ।

प्रकृति पूजा गर्ने मिथिलाको संस्कृतिमा चौरचन पर्व महत्त्वपूर्ण छ । यस पर्वका समयमा चन्द्रमाको पूजा गरिन्छ र कलङ्कबाट मुक्त हुन प्रार्थना गरिन्छ ।

ऋषिहरूको पूजा गर्दा विवाहित महिलाले अटल सौभाग्यका लागि सौभाग्यसूचक चुरा, धागो, सिन्दूर, पोते पनि चढाउँछन् । यसरी स्नान गरेपछि अरुन्धतीसहित सप्तऋषिहरू कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको पूजा गर्नाले महिलाको रजोदोष लगायत अन्य सबै दोष नाश भई यस लोकमा समृद्धि प्राप्त हुने र परलोकमा मुक्ति मिल्ने भविष्योत्तर नामक पुराणमा उल्लेख गरिएको छ । ऋषि पूजापछि नाचगान तथा भजनकीर्तन गरेमा तिजको व्रत पूर्ण हुन्छ भन्ने मान्यता छ ।

  • चौरचन व्रत र चौरचन पूजा

भाद्र मासको शुक्ल पक्षको चतुर्थी तिथि चौरचन व्रत र चौरचन पूजाका नामले प्रचलित छ । यो दिन गणेश चतुर्थीको दिन हो । यो तिथि चन्द्र दर्शनका लागि अत्यन्तै शुभ मानिन्छ । तिज, चौरचन र ऋषि पञ्चमी सँगसँगै पर्छन्– तृतीयामा तिज, चतुर्थीमा चौरचन र पञ्चमीमा सप्तऋषि पूजा । चन्द्र दर्शनलाई सनातन संस्कृतिमा भगवान् चन्द्रमाको दर्शन मानिन्छ । चन्द्रमाको पूजा गरेमा घरमा सुख, शान्ति एवंं समृद्धिको आगमन हुन्छ र अन्य देवता पनि प्रसन्न हुन्छन् । भगवान् चन्द्रमाको पूजाले घरमा सफलता र सौभाग्य ल्याउँछ ।

  • चौरचन व्रत

चौरचन व्रत दिनभरको उपवास हो । दिनभरि निराहार र निर्जल रही साँझ चौरचन पूजा विधि सम्पन्न गरेपछि पारण गरिन्छ । यस व्रत र पर्वमा श्री गणेश र चन्द्रदेवको पूजा–आराधना गरिन्छ । व्रतीले पूरै दिन चतुर्थी व्रतमा रही चौरचन पूजा नैवेद्यको पाक तयार गरी साँझ श्री गणेश तथा चन्द्रदेवलाई अर्घ्य दिएपछि यो व्रत पूरा हुन्छ । चौरचन उपवास दिनभरिको मात्र हुने भए पनि व्रतालुको व्रत प्रक्रिया अघिल्लै दिन प्रारम्भ भइसकेको हुन्छ । व्रतालुको तृतीयाकै दिन ‘नहाय–खाय’ हुन्छ । नङ काटी कपालसहित नुहाइधुवाइ गरी शुद्ध पवित्र वस्त्र लगाई शृङ्गार गरी तयार भएपछि चौरचन पूजाका लागि दही जमाउने कार्य गर्नुपर्छ । व्रतालुले सात्त्विक भोजन गर्नुपर्छ; लसुन, प्याज, मसुरो, मासको दाल, बैगुन खानुहुँदैन । अरुवा चामलको भात, चनाको दाल, लौकाको सब्जी वा चना र लौकाको सब्जी बढी प्रयोग गर्ने गरिन्छ । नुन भने सैन्धा खानुपर्छ । चौरचन व्रत परिवारमा एकजना स्त्रीले मात्र लिन्छन्, अरूले लिनुनपर्ने वा अरूले नलिने चलन छ । यद्यपि अर्घ्य भने परिवारका सबै सदस्यले दिन्छन् ।

चुलो, दही र पकवान : पहिले–पहिले माटोको नयाँ चुलो बनाई चौरचन पूजाको तयारी थालिन्थ्यो । खिर, दही, पुडी, ठेकुवा, पुडुकिया चौरचन पूजाको त्यस्तो विशिष्ट पाक हो, जो व्रतालु आफैँले शुद्ध, स्वच्छ र पवित्रतापूर्वक तयार गर्नुपर्छ । यसका लागि चौरचन पर्व आउनुअघि नै माटोको चुलो बनाइन्छ । गाउँघरमा यो प्रथा छँदै छ तर सहर–बजारमा मानिसले ग्यास चुलो र सिलिन्डर प्रयोग गर्न थालेका छन् । चौरचनका लागि बनाइएको चुलोमै चौरचनको अघिल्लो दिन दूध उमालेर दही जमाउने र खास पर्वको दिन खिर, पुडी, ठेकुवा, पुडुकिया आदि पाक तयार गर्ने गरिन्छ ।

दहीको प्रधानता : चौरचन पूजामा दहीको प्रधानता हुन्छ । चौरचनमा दही विधिका लागि मात्र होइन, परिवारलाई टन्नै पुग्ने गरी जमाइन्छ । परिवारमा जति सदस्य छन्, त्यतिवटा माटोको भाँडामा दही जमाउनुपर्छ । दही जमाउने माटोको भाँडालाई ‘छाँछ’ र ‘छाँछी’ भनिन्छ । छाँछ आकारमा छाँछीभन्दा ठुलो हुन्छ । पुरुष सदस्यका लागि छाँछ र स्त्री सदस्यका लागि छाँछी प्रयोग गर्ने चलन छ । सबै छाँछ–छाँछीलाई पुग्ने जति दुध चाहिन्छ । चुलो फुकेर दुध बसाल्नुअघि चुलो (अग्नि) को पूजा गर्ने गरिन्छ ।

चौरचन पूजाको नैवेद्य : चौरचन पूजामा दुईवटा केराको पातमा नैवेद्य अर्पित गरिन्छ । दुवै पातमा खिर, मुगको गुलियो पुडी, केरा, लड्डु, पान, सुपारी सजाइन्छ भने ठेकुवा, पुडुकिया, फलफूल, दही, चिउरा, चिनी आदि छुट्टाछुट्टै भाँडाहरूमा सजाएर राखिन्छ ।

व्रतालुको आत्मतयारी : चौरचन व्रत र पूजाको दिन व्रतालुले दुईपटक स्नान गर्नुपर्छ । बिहान पकवान्न पकाउन थाल्नुअघि र साँझ चौरचन पूजा पसार्नुअघि । साँझमा भने स्नान गरी नयाँ वस्त्र पहिरेर सोह्र शृङ्गार गरी लहठी लगाई सिउँदोमा टन्नै सिन्दूर धारण गरी त्यसमाथि चुनरी ओढी पूजाका लागि सम्पूर्ण रूपमा तयार भई कुलदेवता छेउ गई बसी शिर निहुर्‍याइ ढोग्नुपर्छ ।

गोसाइँ पूजा : हरेक पर्वमा सर्वप्रथम गोसाइँ (कुलदेवता) को पूजा अनिवार्य हुन्छ । गोसाइँको पूजा गरेर मात्र पर्व विशेषको पूजा प्रारम्भ हुन्छ । त्यस दिनको पर्वका लागि तयार गरिएको नैवेद्य नै गोसाइँ पूजाको पनि नैवेद्य हुन्छ ।

चौरचन पूजाको अरिपन : चौरचन पूजा आँगनमा गरिन्छ । खासमा चन्द्रदेवलाई प्रत्यक्ष रूपमा अर्घ्र्य दिन आँगनमा पूजा बसाल्ने परम्परा बनेको हुन सक्छ । मानिसले पक्की घर बनाउन थालेदेखि आँगनमा छेकिने र छानामा निर्बाध देखिने भएकाले छानामा नै पूजा बसाल्ने गर्न थालेका छन् । चौरचनको पूजा चन्द्राभिमुख भएर गरिन्छ ।

अरिपन : अरिपन मैथिली संस्कृतिको प्रतीक हो । अरिपन एक भूमि कला हो । अरिपन, प्राचीन कालको अद्भुत कला हो, जसलाई मैथिली संस्कृतिले हृदयमा धारण गरेर राखेको छ । अरिपन मिथिलाको सुन्दर सृष्टि र सांस्कृतिक धरोहर हो । मिथिला संस्कृतिमा अरिपनको विशिष्ट स्थान छ । अरिपनको प्रयोग व्रत, पूजा, अनुष्ठान, संस्कार, चाडपर्व आदिमा गरिन्छ । अरिपन बनाउँदा आँगनलाई माटोमा गाईको गोबर मिसाई लिपि शुद्ध पार्नुपर्छ । पूजा गर्ने ठाउँ सुकिसकेपछि अरिपन बनाउन सुरु गर्नुपर्छ । अरिपनमा अक्षताको पिठोको घोलले चित्र कोरिन्छ र सिन्दूरले टीका लगाइन्छ । केवल अक्षताको श्वेत रङले वृत्त, अर्धवृत्त, कुण्डली, कचनी, त्रिभुज, चतुर्भुज, षट्कोण, अष्टकोण र नक्षत्र, भाँडाकुँडा, औजार, वृक्ष–लतादी, जलाशय, जीवजन्तु आदि प्रकृतिको जुनसुकै रचनालाई आकार दिइनु प्राचीन समाजमा निश्चित रूपमा अनौठो थियो । हरेक पर्व र संस्कारको आ–आफ्नै स्वरूपको अरिपन बनाइन्छ । श्री सत्यनारायण भगवानको पूजा, दीपावली, देवोत्थान एकादशी, भाइटीकाजस्ता पर्वहरूमा अरिपन अनिवार्य हुन्छ ।

चौरचनको अरिपन : चौरचनको अरिपन पश्चिमाभिमुख हुन्छ । यसमा दुवै देवताको आसन र भोजनको पातका साथै कलश, धूप, दीप, कोहा, छाँछ–छाँछी, बौरकी, कौरनी, लदिया, ढकना लगायतका माटाका भाँडा र मिठाई, फलफूलका डाली आदि राख्न बिँड बनाइन्छ । अरिपनमाथि कलश राखी, धूप, दीप बाली अरू दर्जनौँ पूजन सामग्री तोकिएको स्थान–स्थानमा राखी श्री गणेश र चन्द्रदेवलाई छुट्टाछुट्टै अर्घ्य दिइन्छ ।

अर्घ्यपछि चन्द्रमाको दर्शन गरिन्छ । प्राचीन कालदेखि नै हिन्दू धर्ममा चन्द्र दर्शनको ठुलो महत्त्व छ किनभने चन्द्रमालाई भगवान् समान मानिन्छ । चन्द्र दर्शन भनेको चन्द्रमा देख्नु हो । हिन्दु धर्ममा चन्द्र दर्शनको धेरै ठुलो महत्त्व छ । मान्यता अनुसार यस दिनको धार्मिक महत्त्व छ । यस विशेष दिनमा भगवान् चन्द्रमाको पूर्ण भक्तिभावले पूजा गरिन्छ । हिन्दु धर्म अनुसार यस दिन चन्द्रमा देख्नु धेरै फलदायी हुन्छ । साथै यसलाई भाग्य र समृद्धिको सङ्केत पनि मानिन्छ । चन्द्रमाको दर्शन खाली हात गर्नुहुन्न, कलङ्क लाग्छ ।

प्रसाद ग्रहण र पारण : चौरचन पूजा र अर्घ्य सम्पन्न भएपछि परिवारका सदस्यद्वारा प्रसाद ग्रहण र व्रतालुले पारण गर्ने चरण आउँछ । अरिपनको स्थानबाट केरापातको प्रसादबाहेक अन्य प्रसाद उठाइन्छ । केरापातको प्रसाद त्यहीँ खाएर जुठो पात त्यहीँ माटोमा गाडी दिने चलन छ । त्यसपछि व्रतालुले पनि आफ्नो व्रत पूरा गर्दै पारण गर्छन् । त्यसपछि खिर, चनाको क्रन्ची पुडी, मसालेदार सब्जी, पापड, अचार, दही, केरा, मिष्ठान्न आदि सबै परिवार मिलेर खान्छन् र चौरचनको आनन्द लिन्छन् ।

चौरचन पर्वको महत्त्व : प्रकृति पूजा गर्ने मिथिलाको संस्कृतिमा चौरचन पर्व महत्त्वपूर्ण छ । यस पर्वका समयमा चन्द्रमाको पूजा गरिन्छ र कलङ्कबाट मुक्त हुन प्रार्थना गरिन्छ । प्राचीन समयमा एक दिन ब्रह्मा, विष्णु र महेशले तीन अष्टसिद्धि र नवनिधिहरू गणेशलाई समर्पित गरे । गणेश पनि धेरै प्रसन्न भए र उनीहरूलाई सृष्टि, पालनपोषण र विनाशको जिम्मेवारी सुम्पिए । चन्द्रमाले ठुलो पीडामा पानीमा प्रवेश गरेपछि स्वर्गमा त्रास फैलियो । देवताहरूले चन्द्रमालाई ब्रह्माको आदेश अनुसार गणेशको पूजा गर्न भने । चन्द्रमाले धार्मिक विधिपूर्वक गणेशको पूजा गरेपछि गणेशले उनलाई वरदान दिए कि उनीमाथि झूटो आरोप लाग्नेछैन र उनको कायाकल्प स्वस्थ हुनेछ । परिवारमा सुख र शान्ति हुनेछ ।

अनन्त चतुर्दशी

भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा–आराधना पनि गरिन्छ । यसैले यस दिनलाई अनन्त चतुर्दशी पनि भनिन्छ । चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभ हुन्छ भन्ने विश्वास छ । श्रावण शुक्ल पूर्णिमाका दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने शास्त्रीय विधान रहेको छ ।

महाराज युधिष्ठिरले गरेको राजसूय यज्ञको प्रसङ्ग निकै रोचक छ । यज्ञका लागि तयार गरिएको यज्ञशाला अत्यन्त सुन्दर र मनोरम थियो । त्यो यज्ञशाला यति अद्भुत थियो कि जल र स्थलको भिन्नता नै प्रतीत हुँदैनथ्यो । जल स्थल र स्थल जल प्रतीत हुन्थ्यो । यज्ञमा आमन्त्रित ज्ञानीजनहरू पनि मण्डपमा झुक्किएका हुन्थे ।

यज्ञशालाको प्रशंसा सुनेर दुर्योधन पनि त्यस यज्ञ–मण्डपमा आए । हिँड्दाहिँड्दै उनी लडे । जल उनलाई स्थल प्रतीत भएको थियो । द्रौपदीले दुर्योधनको हबिगत देखेर हाँसिन् र ‘अन्धाको छोरो अन्धो’ भनेर उनको उपहास गरिन् । यसबाट दुर्योधन चिढिए । यो कुरो तिनको हृदयमा बाणझैँ बिझ्न थाल्यो । उनको मनमा द्वेष उत्पन्न भयो र उनले पाण्डवलाई द्युतक्रीडामा हराएर त्यस अपमानको बदला लिने विचार गरे । अनि हस्तिनापुरमा बोलाएर कल, छल र बलले उनले पाण्डवलाई जुवामा पराजित गरे । जुवामा हारेपछि सर्त अनुसार पाण्डवले बाह्र वर्षसम्म वनवासमा बस्नुपर्‍यो । वनवासमा रहेका बेला भगवान् श्रीकृष्ण पाण्डवहरूलाई भेट्न आए । युधिष्ठिरले उनीसित आफ्नो दुःख निवारणको उपाय सोधे । त्यसपछि श्रीकृष्णले आज्ञा गर्नुभयो, ‘हे युधिष्ठिर ! तिमीले विधिपूर्वक अनन्त भगवानको व्रत गर, यसबाट तिम्रो समस्त सङ्कट नष्ट हुनेछ र तिम्रो गुमेको राज्य पुनः प्राप्त हुनेछ ।’ यसरी अनन्त चतुर्दशी पूजाको प्रारम्भ भयो ।

(लेखक झा इतिहास, संस्कृति र समसामयिक विषयमा दक्खल राख्छन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अजयकुमार झा
अजयकुमार झा
लेखकबाट थप