बहुभाषिक कक्षा कोठामा अङ्ग्रेजी भाषा शिक्षकका अनुभव
नेपाल एक बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो, जहाँ विभिन्न भाषाभाषी तथा संस्कृतिका मानिस बसोबास गर्छन् । यस विविधताको प्रत्यक्ष प्रभाव विद्यालयका कक्षा कोठामा पनि पर्ने गर्छ । यी कक्षा कोठामा विद्यार्थी फरक–फरक भाषिक पृष्ठभूमिबाट आउने हुँदा शिक्षकले अध्यापनका क्रममा विभिन्न अनुभव सामना गर्नुपर्छ । दार्चुलाजस्तो ग्रामीण, बहुभाषिक र बहुसांस्कृतिक परिवेशमा अङ्ग्रेजी भाषाका शिक्षकको जीवनका अनुभव अन्वेषण गर्न मैले एक अध्ययन गरेको छु । यस अध्ययन बहुभाषिक कक्षा कोठामा अङ्ग्रेजी भाषाका शिक्षकले कसरी शिक्षणका जटिलतालाई सम्बोधन गर्छन् भन्ने कुरामा केन्द्रित छ ।
यस शोध कार्यले ‘हेर्मेन्युटिक फेनोमेनोलोजिक अप्रोच’ अपनाएको छ र यसमा चारजना माध्यमिक तहका अङ्ग्रेजी भाषा शिक्षकसँग ‘अर्ध संरचित अन्तर्वार्ता’ (सेमी–स्ट्रक्चर्ड इन्टरभ्युज) तथा कक्षा कोठा अवलोकनमार्फत तथ्याङ्क सङ्कलन गरिएको थियो । सङ्कलित तथ्याङ्कको व्याख्या, विषयगत विश्लेषण (थिमेटिक अनालाइसिस) प्रयोग गरेर गरिएको थियो । यो अध्ययन ‘ट्रान्सल्याङ्ग्वेजिङ सिद्धान्त’ र भाइगोट्स्कीको ‘सामाजिक–सांस्कृतिक परिप्रेक्ष्य’द्वारा निर्देशित छ । अर्थात् विद्यार्थीको भाषिक र सांस्कृतिक पृष्ठभूमिलाई पनि सिकाइमा प्रयोगमा ल्याउनका लागि शिक्षकले कसरी भूमिका खेल्छन् भन्नेमा यसले प्रकाश पार्छ ।
शिक्षकले अपनाउने अनुकूलनीय रणनीति
बहुभाषिक कक्षा कोठाले चुनौतीका साथसाथै केही सकारात्मक पक्ष पनि बोकेका हुन्छन्, जसले शिक्षकलाई आफ्नो अध्यापन शैलीमा नवीनता ल्याउन उत्प्रेरित गर्छ । बहुभाषिक कक्षा कोठाले शिक्षकमा भाषिक जागरुकता, समानुभूति र सांस्कृतिक संवेदनशीलतालाई बढावा दिने यस अध्ययनले देखाएको छ । यी गुणले शिक्षकलाई विद्यार्थीको विविध आवश्यकता बुझ्न र उनीहरूका लागि उपयुक्त शिक्षण विधि अपनाउन मद्दत गर्छ । परिणामतः शिक्षकले अनुकूलनीय र समावेशी शिक्षण रणनीति विकास गर्न सक्षम हुन्छन् ।
शिक्षकले अपनाउने केही प्रमुख रणनीति निम्नानुसार छन् ।
‘ट्रान्सल्याङ्ग्वेजिङ’को अभ्यास
बहुभाषिक कक्षा कोठामा ‘ट्रान्सल्याङ्ग्वेजिङ’ एक प्रमुख अभ्यासका रूपमा देखापरेको छ । यो विधिले विद्यार्थीका फरक–फरक भाषालाई कक्षा कोठामा प्रयोग गर्न प्रोत्साहन गर्छ, जसले गर्दा भाषिक अन्तरलाई कम गर्न, विद्यार्थीको सहभागिता बढाउन र बुझाइलाई गहिरो बनाउन मद्दत गर्छ । उदाहरणका लागि अङ्ग्रेजी शब्दहरू वा अवधारणा बुझाउनका लागि विद्यार्थीको मातृभाषा वा अन्य परिचित भाषाको प्रयोग गर्नु ‘ट्रान्सल्याङ्ग्वेजिङ’ हो । यसले विद्यार्थीलाई नयाँ भाषा सिक्ने क्रममा आफ्नो भाषिक स्रोतलाई प्रयोग गर्ने स्वतन्त्रता दिन्छ, जसले गर्दा उनीहरूको आत्मविश्वास बढ्छ र सिकाइ प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन्छन् ।
सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण
यो शिक्षण विधिले विद्यार्थीको पहिचानलाई पुष्टि गर्न र न्यायपूर्ण सिकाइ स्थान सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेल्छ । शिक्षकले विद्यार्थीको भाषिक र सांस्कृतिक पृष्ठभूमिमा आधारित भएर सिकाइमा सहयोग गर्छन् । यस अन्तर्गत शिक्षकले विद्यार्थीको संस्कृति, परम्परा र दैनिक जीवनका अनुभवलाई शिक्षण सामग्री र क्रियाकलापमा समावेश गर्छन्, जसले गर्दा विद्यार्थीले सिकाइलाई आफ्नो जीवनसँग जोड्न सक्छन्; आफूलाई कक्षा कोठामा मूल्यवान् महसुस गर्छन् । यसले सांस्कृतिक भिन्नताका कारण हुन सक्ने सिकाइका अवरोधलाई कम गर्छ, सबै विद्यार्थीलाई समान अवसर प्रदान गर्छ । यी रणनीतिले शिक्षकलाई बहुभाषिक र बहुसांस्कृतिक सन्दर्भमा शैक्षिक जटिलतालाई सम्बोधन गर्न र प्रभावकारी रूपमा सिकाउन मद्दत गर्छन् ।
शिक्षकका चुनौती
सकारात्मक पक्षका बाबजुद नेपालका बहुभाषिक कक्षा कोठामा अङ्ग्रेजी भाषाका शिक्षकले विभिन्न चुनौती सामना गर्नुपर्छ । यस अध्ययनले पहिचान गरेका मुख्य चुनौती निम्नानुसार छन् ।
१) अपर्याप्त तालिम
बहुभाषिक कक्षा कोठामा प्रभावकारी रूपमा पढाउन शिक्षकका लागि आवश्यक विशेष शिक्षण विधि (पेडागोजिज) मा पर्याप्त तालिमको कमी देखिएको छ । यसको अर्थ उनीहरूलाई कसरी विभिन्न भाषिक पृष्ठभूमि भएका विद्यार्थीलाई एकै समयमा सम्बोधन गर्ने, कसरी ‘ट्रान्सल्याङ्ग्वेजिङ’जस्ता विधिलाई प्रभावकारी रूपमा प्रयोग गर्ने वा कसरी सांस्कृतिक भिन्नतालाई सिकाइको स्रोतका रूपमा उपयोग गर्ने भन्नेबारे स्पष्ट मार्गदर्शन र अभ्यासको अभाव छ । यो तालिमको कमीले शिक्षकलाई आफ्नो भूमिकामा असहज महसुस गराउन सक्छ ।
अङ्ग्रेजी शब्दहरू वा अवधारणा बुझाउनका लागि विद्यार्थीको मातृभाषा वा अन्य परिचित भाषाको प्रयोग गर्नु ‘ट्रान्सल्याङ्ग्वेजिङ’ हो । यसले विद्यार्थीलाई नयाँ भाषा सिक्ने क्रममा आफ्नो भाषिक स्रोतलाई प्रयोग गर्ने स्वतन्त्रता दिन्छ, जसले गर्दा उनीहरूको आत्मविश्वास बढ्छ र सिकाइ प्रक्रियामा सक्रिय रूपमा संलग्न हुन्छन् ।
२) सीमित संस्थागत सहयोग
शिक्षकलाई विद्यालय प्रशासन वा शिक्षा निकायबाट पर्याप्त सहयोग प्राप्त हुँदैन । यसमा बहुभाषिक शिक्षाका लागि आवश्यक नीतिगत मार्गदर्शन, स्रोतसाधनको उपलब्धता र व्यावसायिक विकासका अवसरहरूको कमी देखिएको छ । जब शिक्षकले संस्थागत समर्थन पाउँदैनन्, उनीहरूले नयाँ र चुनौतीपूर्ण शिक्षण वातावरणमा एक्लो महसुस गर्न सक्छन् ।
३) भाषा पदानुक्रम
कक्षा कोठामा विभिन्न भाषाबिचको पदानुक्रम (हाइर्याकी) ले पनि चुनौती सिर्जना गर्छ । विशेषगरी अङ्ग्रेजीलाई नेपालीभन्दा वा कुनै एक स्थानीय भाषालाई अर्कोभन्दा बढी प्राथमिकता दिने प्रचलनले विद्यार्थीमा मनोवैज्ञानिक असर पर्छ । यसले गर्दा केही विद्यार्थीले आफ्नो मातृभाषालाई न्यून ठानेर कक्षा कोठामा बोल्न हिचकिचाउने अवस्था आउँछ, जसले उनीहरूको सहभागिता र सिकाइलाई असर गर्छ ।
४) स्रोतको अभाव
पर्याप्त शैक्षिक सामग्री, बहुभाषिक शब्दकोश, श्रव्यदृश्य सामग्री र अन्य सिकाइ स्रोतको अभावले शिक्षण–सिकाइ प्रक्रियामा बाधा पुर्याउँछ । बहुभाषिक कक्षा कोठाका लागि विशेष रूपमा डिजाइन गरिएका सामग्रीको कमीले शिक्षकलाई आफ्ना विद्यार्थीको आवश्यकता अनुसार शिक्षण गर्न गाह्रो बनाउँछ ।
५) पेसागत विकासको आवश्यकता
शिक्षकले विविध सेटिङमा शिक्षणका शैक्षिक र भावनात्मक दुवै मागलाई सम्बोधन गर्न सक्ने गरी सन्दर्भ सम्बन्धित पेसागत विकासको आवश्यकतामा जोड दिएका छन् । यसको अर्थ उनीहरूलाई सामान्य तालिमभन्दा पनि उनीहरूले वास्तवमा पढाउने बहुभाषिक र बहुसांस्कृतिक कक्षा कोठाको विशिष्ट आवश्यकता अनुसारको तालिम चाहिन्छ, जसले शिक्षण विधिका साथै भावनात्मक रूपमा कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि सहयोग पुर्याओस् ।
माथि उल्लिखित चुनौतीलाई सम्बोधन गर्न र नेपालमा बहुभाषिक शिक्षालाई प्रभावकारी बनाउनका लागि नेपाली शिक्षणमा केही महत्त्वपूर्ण पक्षलाई एकीकृत गर्नुपर्नेछ । यस अध्ययनले निम्न कुरा समावेश गर्नुपर्नेमा जोड दिएको छ ।
बहुभाषिक जागरूकता : शिक्षकलाई बहुभाषिकताको महत्त्व, यसका फाइदा र यसले विद्यार्थीको सिकाइमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्नेबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान दिन आवश्यक छ । यसले शिक्षकलाई आफ्ना विद्यार्थीको भाषिक विविधतालाई बोझका रूपमा नभई एक मूल्यवान् स्रोतका रूपमा हेर्न प्रोत्साहन गर्छ ।
ट्रान्सल्याङ्ग्वेजिङ अभ्यास : शिक्षकलाई ‘ट्रान्सल्याङ्ग्वेजिङ’को अवधारणा, यसको सही प्रयोग विधि र यसलाई कक्षा कोठामा कसरी प्रभावकारी रूपमा लागु गर्ने भन्नेबारे व्यावहारिक तालिम दिनुपर्छ । यसले शिक्षकलाई विद्यार्थीको सबै भाषिक स्रोतलाई सिकाइ प्रक्रियामा समावेश गर्न सक्षम बनाउँछ ।
सांस्कृतिक क्षमता : शिक्षकलाई विद्यार्थीको विविध सांस्कृतिक पृष्ठभूमि बुझ्न, सम्मान गर्न र त्यसलाई शिक्षणमा कसरी समावेश गर्ने भन्नेबारे तालिम दिन आवश्यक छ । यसले शिक्षकलाई सांस्कृतिक रूपमा उत्तरदायी शिक्षण अभ्यास विकास गर्न मद्दत गर्छ र सबै विद्यार्थीका लागि न्यायपूर्ण सिकाइ वातावरण सिर्जना गर्छ ।
यी पक्षलाई एकीकृत गर्दा बहुभाषिक कक्षा कोठाका लागि शिक्षक अझ तयार र सशक्त हुनेछन् । यस अध्ययनले ग्रामीण शिक्षकको आवाजलाई प्राथमिकता दिँदै समतामूलक र समावेशी भाषा शिक्षाको व्यापक छलफलमा योगदान पुर्याउँछ । भाषिक रूपमा जटिल कक्षा कोठामा शिक्षण अभ्यास बढाउनका लागि नीति तथा व्यावसायिक विकासका लागि अन्तर्दृष्टि प्रदान गर्छ ।
निष्कर्ष
नेपालका ग्रामीण, बहुभाषिक र बहुसांस्कृतिक सन्दर्भमा अङ्ग्रेजी भाषाका शिक्षकका अनुभव विविध र जटिल छन् । उनीहरूले एकातिर ट्रान्सल्याङ्ग्वेजिङ र सांस्कृतिक रूपमा उत्तरदायी शिक्षणजस्ता विधि प्रयोग गरी सकारात्मक सिकाइ वातावरण सिर्जना गर्ने प्रयास गर्छन् भने अर्कोतिर अपर्याप्त तालिम, संस्थागत सहयोगको कमी, भाषिक पदानुक्रम र स्रोतको अभावजस्ता चुनौती सामना गर्छन् ।
यस अध्ययनले शिक्षकको पेसागत विकासलाई सान्दर्भिक बनाउनुपर्ने र शिक्षणका शैक्षिक तथा भावनात्मक दुवै मागलाई सम्बोधन गर्नुपर्नेमा जोड दिन्छ । त्यसैले नेपालको शिक्षण प्रणालीमा बहुभाषिक जागरूकता, ट्रान्सल्याङ्ग्वेजिङ अभ्यासहरू र सांस्कृतिक क्षमतालाई एकीकृत गर्नु अपरिहार्य देखिन्छ । यसो गर्दा मात्र हामीले भाषिक रूपमा जटिल कक्षा कोठाहरूमा समतामूलक र समावेशी भाषा शिक्षा प्रदान गर्न सक्नेछौँ; सबै विद्यार्थीलाई उनीहरूको पूर्ण क्षमतामा पुग्न मद्दत गर्न सक्नेछौँ । यसले ग्रामीण क्षेत्रका शिक्षकको आवाजलाई महत्त्व दिँदै भाषा शिक्षाको क्षेत्रमा नीति निर्माण र व्यावसायिक विकासका लागि महत्त्वपूर्ण मार्गदर्शन प्रदान गर्छ ।
(लेखक सुदूरपश्चिम विश्वविद्यालय, दार्चुला बहुमुखी क्याम्पसका उपप्राध्यापक हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण