विप्लव निवासमा प्रचण्डको ४५ मिनेट
सारांश
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लवबीच समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ।
- भेटमा पार्टी एकता र समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
- दुवै नेताबीच पार्टी एकतालाई निष्कर्षमा पुर्याउने र आगामी दिनमा सँगै अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको छ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अर्थपूर्ण भेट गरेका छन् । सोमबार बिहान हरिसिद्धिस्थित विप्लव निवास पुगेर करिब ४५ मिनेट समसामयिक राजनीति, पार्टी एकता, समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरेका हुन् ।
यसअघि, विप्लव नै प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुग्ने गर्थे । तर यसपटक प्रचण्ड आफै विप्लवलाई भेट्न उनको निवासमा पुगे । खुमलटारमा नेपाल पर्वतारोहण संघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत कार्यक्रम सकिएपछि प्रचण्ड विप्लवले सञ्चालन गरेको कृषि फार्म अवलोकन गर्न बिहान ९ः४५ बजे हरिसिद्धि पुगेका थिए ।
प्रचण्डलाई पुष्पागुच्छा दिएर स्वागत गरेका विप्लवले मूल ढोकाबाट प्रवेश गरे लगत्तै बायाँतर्फ रहेको आगन्तुक कक्षमा छलफल प्रारम्भ गरे । महासचिव विप्लवले आफ्नो कुर्सी प्रचण्डलाई सेयर गरेर बाँयातर्फको सोफामा बसे ।
सुरुमा करिब १५ मिनेट पारिवारिक छलफल र नेकपाका टिमसँग परिचय गरेका थिए । त्यसपछि प्रचण्ड र विप्लवले आधा घण्टा समसामयिक राजनीतिक छलफल गरे ।
दुई नेताबिच छलफल सकिएपछि प्रचण्डले पाँच रोपनीमा जग्गामा लगाएका कृषि फार्म अवलोकन गरेका थिए । अवलोकनको क्रममा कृषि फार्म राम्रो भएको भनेको विप्लवका सचिवालयका सदस्य नारायण चन्दले रातोपाटीलाई बताए ।
‘निवासमा आएका पाहुनालाई स्वागत सत्कार गर्नु हाम्रो संस्कार हो । प्रचण्डले हाम्रो कृषि फार्म अवलोकन गर्न आउन लागेको भनेर फोन गर्नुभएको थियो । उहाँले ४५ मिनेट बिताउनुभयो । छलफलको सुरुमा पारिवारिक कुराकानी र नेकपाका नेताहरूसँग महासचिवले परिचय गराउनुभयो । त्यसपछि उहाँहरूबिच कुराकानी भयो । छलफल सकिएपछि कृषि फार्मको अवलोकन गर्नुभयो । अवलोकनको क्रममा राम्रो छ भन्नुभयो अन्य कुरा भएन’, चन्दले भने ।
आजको छलफलमा पार्टी एकतालाई निष्कर्षमा पुर्याउन र समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा छलफल सकारात्मक भएको दुवै पक्षले दाबी गरेका छन् । तर, एकताका लागि मोडालिटी र समय तालिका नै बनाएर अगाडि बढ्ने विषयमा भने छलफल नभएको उनीहरूको जिकिर छ ।
माओवादीको साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । अब बस्ने पदाधिकारी बैठकले एकता समायोजन समिति गठन गर्ने माओवादीले तयारी गरेको छ ।
नेकपाले पनि भदौ २२ गते केन्द्रीय समिति बैठक बोलाएको छ । सोही बैठकबाट माओवादीसँग एकताको विषयमा निर्णय लिनेछ । २०६९ सालमा पार्टी विभाजन हुँदा विप्लव मोहन वैद्यतिर लागेका थिए । २०७३ सालमा वैद्यको पार्टीबाट पनि अलग भएपछि विप्लव एकीकृत जनक्रान्तिमा लागे ।
क्रान्ति असफल भएपछि क्रान्ति र उत्पादनसँगै लैजाने नीतिका साथ अगाडि बढेका छन् । २०७७ साल फागुनमा सरकारसँग तीन बुँदे सहमति गरेर शान्तिपूर्ण राजनीतिमा आएका उनी माओवादी घटकसँग एकता गर्ने पक्षमा उभिएका छन् ।
समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लव पछिल्लो समय सबै कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गर्दै आएका छन् । माओवादीमा प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच अन्तर्विरोध बढ्दै गइरहेको बेला दुई शीर्ष नेताबिचको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण