पौडेलले अर्थ मन्त्रालय सम्हालेको १३ महिनामै भन्सारमा चौथो महानिर्देशक
सारांश
- केपी शर्मा ओली नेतृत्वको सरकार बनेको १३ महिनामा अर्थमन्त्रीले भन्सार विभागमा चार जना प्रमुख फेरेका छन्।
- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनको मुख्य आधार मानिने भन्सार विभागमा छोटो समयमै नेतृत्व परिवर्तन गरेका छन्।
- भन्सार विभाग र आन्तरिक राजस्व विभागमा नेतृत्व परिवर्तनले नीतिगत स्थिरता र राजस्व संकलनमा प्रश्न उठाएको छ।
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएको १३ महिना भयो । विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री भएर आएको पनि त्यति नै समय भयो । यो अवधिमा अर्थमन्त्री पौडेलले मुलुकको राजस्व सङ्कलनको मुख्य आधार मानिने भन्सार विभागमा चार जना प्रमुख परिवर्तन गरिसके ।
पौडेल २०८१ असार ३१ मा अर्थमन्त्री हुँदा भन्सार विभागको महानिर्देशक ढुण्डीराज निरौला थिए । मन्त्री नियुक्त भएको एक महिनामै पौडेलले साउन ३२ मा निरौलालाई सरुवा गरी रिक्त स्थानमा हरिशरण पुडासैनीलाई महानिर्देशक बनाइयो ।
पुडासैनीले पनि करिब ६ महिनामात्रै काम गर्न पाए । उनलाई माघ ३० गते हटाएर महेश भट्टराईलाई महानिर्देशक बनाइयो । भट्टराईको पनि ६ महिनामै सरुवा भएको छ र यही भदौ १ गतेदेखि श्यामप्रसाद भण्डारीले महानिर्देशकको जिम्मेवारी सम्हालेका छन् ।
भन्सारमा लामो अनुभव भएका भट्टराईलाई पनि अर्थमन्त्री पौडेलले ६ महिनाभन्दा बढी काम गर्ने अवसर दिएनन् ।
राजस्व सङ्कलनको मुख्य निकाय मानिएको भन्सार विभागको नेतृत्वमा चरम अस्थिरता देखिएको छ । राजस्व प्रशासन जस्तो संवेदनशील निकायमा नेतृत्वलाई ६ महिना पनि काम गर्न नदिई सरुवा गर्ने प्रवृत्तिलाई अर्थमन्त्री पौडेलले निरन्तरता दिएका छन् ।
६ महिनामै विभागको महानिर्देशक तथा अन्य कर्मचारी सरुवा गर्दा नीतिगत स्थिरता र प्रभावकारी राजस्व संकलनमा गम्भीर प्रश्न उठाएको छ । भन्सार विभागको जस्तै हालत आन्तरिक राजस्व विभागको पनि छ ।
पौडेल अर्थमन्त्री बन्दा आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी थिए । उनलाई सरुवा गरेर पौडेलले रामप्रसाद आचार्यलाई जिम्मेवारी दिए । करिब ६ महिना काम गरेपछि आचार्यलाई हटाएर गत माघमा मदन दाहाललाई महानिर्देशक बनाइयो ।
अर्थ मन्त्रालयको नेतृत्वमा मन्त्री पौडेलको आगमनपछि मातहत निकायका महानिर्देशक, उपमहानिर्देशक र महाशाखा प्रमुखहरूको छोटो अवधिमै सरुवा हुने क्रम चलेको छ । हरेक पटक सरकार वा मन्त्री फेरिने बित्तिकै राजस्व प्रशासनको नेतृत्व परिवर्तन गर्ने प्रवृत्तिले दीर्घकालीन योजना निर्माण, सुधारका प्रयास र समग्र राजस्व परिचालनमा नकारात्मक असर पार्दै आएको समयमा मन्त्री नफेरिएकै अवस्थामा समेत मातहतका निकायका नेतृत्व ६ महिनामै फेर्ने गर्दा गम्भीर प्रश्न उठेको छ ।
गत सातामात्रै अर्थ मन्त्रालय मातहतका उच्चपदस्थ सहित ८० भन्दा बढी कर्मचारीको सरुवा गरिएको थियो । अर्थ मन्त्रालयका कर्मचारी सरुवाको क्रमले निरन्तरता पाएको छ । अर्थमन्त्रीले चालु आर्थिक वर्ष सुरु भएको पहिलो महिनामै सहसचिव, उपसचिव हुँदै शाखा अधिकृतको पनि व्यापक रूपमा जिम्मेवारी हेरफेर गरिएको छ ।
रसुवागढी भन्सार कार्यालयमा कार्यरत रवीन्द्र प्याकुरेललाई आन्तरिक राजस्व विभाग मातहतका कार्यालयमा ल्याइएको छ । ठुला करदाता कार्यालय ललितपुरमा कार्यरत निर्मलकुमार मैनालीलाई राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगमा पठाइएको छ ।
भन्सार विभागको महानिर्देशक भएर कसले कति समय काम गरे
कमल भट्टराईः २०७८ फागुन–२०७९ मंसिर (९ महिना)
चक्र बहादुर बुढाः २०७९ मंसिर–२०८० जेठ (६ महिना)
शोभाकान्त पौडेलः २०८० जेठ–२०८० चैत (१० महिना)
ढुण्डीराज निरौलाः २०८० चैत–२०८१ भदौ (६ महिना)
हरिशरण पुडासैनीः २०८१ भदौ–२०८१ फागुन (६ महिना)
महेश भट्टराईः २०८१ फागुन–२०८२ भदौ (६ महिना)
श्याम प्रसाद भण्डारीः २०८२ भदौ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण