मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
जीवन भोगाइ

साइपालका बासिन्दाको आकाङ्क्षा : चाडपर्वमा एक बोरा चामल र नुन सहजै पाए हुन्थ्यो

मङ्गलबार, १० भदौ २०८२, ०७ : २६
मङ्गलबार, १० भदौ २०८२

सारांश

  • सुदूरपश्चिमको बझाङ जिल्लाको साइपाल गाउँपालिकामा सडकको अभावले गर्दा स्थानीयवासीलाई खाद्यान्न ढुवानीमा समस्या छ।
  • चाडपर्वमा चामलको जोहो गर्न गाह्रो हुने साइपालका बासिन्दा ढुवानी अनुदान र स्थानीय उत्पादनमा निर्भर छन्।
  • सडक सञ्जालको अभावले गर्दा विकासमा पछि परेको साइपालमा पर्यटन, जलविद्युत् र जडीबुटीको सम्भावना छ।

धनगढी । हुने–खानेका लागि राम्रो लुगा लगाउन र मिठो खान चाडपर्व कुर्नै पर्दैन तर हुँदा खानेका लागि भने चाडपर्व टार्न निकै अघिदेखि जोहो गर्नुपर्ने बाध्यता हुन्छ ।

सुदूरपश्चिम प्रदेशस्थित बझाङ जिल्लाको साइपाल गाउँपालिकाको अवस्था भने यी दुवै परिस्थितिभन्दा फरक छ । यहाँका बासिन्दामा हुने–खाने र हुँदा खाने भनेर वर्गीय विभेदको रेखा कोरिएको छैन । उनीहरूको साझा चिन्ता र समस्या छ– चाडपर्वका समयमा एक बोरा चामल र नुन कसरी जुटाउने ?

दसैँ–तिहारजस्ता चाडपर्व नजिकिँदै जाँदा साइपालवासीका धेरै ठुलो आकाङ्क्षा हुँदैन । उनीहरू सहज रूपमा एक बोरा चामल पाइयोस्, आवश्यकता अनुसार नुन पाइयोस् भनेर राज्यसँग अपेक्षा राख्छन् ।

साइपाल हिमालको फेदमा बसेको यो गाउँपालिकामा पुग्न सदरमुकाम चैनपुरबाट तीन–चार दिन पैदल हिँड्नुपर्छ । यो ठाउँ विकासको मूलधारबाट यति टाढा छ कि यहाँका बासिन्दाले एक बोरा चामल र नुनको जोहो गर्न पनि सहज छैन । कारण हो– सडक सञ्जालले नजोडिनु ।

साइपाल गाउँपालिका–५ का ५० वर्षीय धनबहादुर बोहराका अनुसार नाम सुन्दा साइपाल जति सुन्दर लाग्छ, त्यहाँको जीवन त्यति नै कठिन छ ।

साइपालमा एकातिर सेताम्मे हिमाल, बहुमूल्य जडीबुटी र पर्यटकीय सम्भावनाको खानी छ भने अर्कातिर आधारभूत आवश्यकता पूर्तिका लागि प्रकृति र प्रशासनसँग निरन्तर जुझ्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘अहिलेको जमानामा पनि हामीले एक बोरा चामलका लागि सङ्घर्ष गर्नु परिरहेको छ,’ बोहराले भने ।

साइपाल गाउँपालिकाका अध्यक्ष मानविर बोहराका अनुसार यहाँको मुख्य समस्या भनेकै सडक अभाव हो । यो गाउँपालिकामा अहिलेसम्म सडक सञ्जाल विस्तार भएको छैन ।

‘हाम्रो गाउँपालिकालाई सडक सञ्जालले छोएकै छैन,’ पालिका अध्यक्ष बोहराले भने, ‘हाम्रो कार्यकाल सुरु भएपछि मात्रै हामीले पहिलो पटक गाउँपालिकाको सिमानाभित्र डोजर लगेर सडक खन्न सुरु गरेका हौँ ।’

WhatsApp Image 2025-08-25 at 13.26.21_0813dbfa

बोहराका अनुसार यो काम पनि सहज थिएन । राज्यका निकायहरूबाट अपेक्षा अनुसार सहयोग नपाएपछि स्थानीय सरकार आफैँले असम्भव जस्तै लाग्ने कामको थालनी गरेको हो । ‘हामीले प्रदेश र संघ सरकारलाई हेलिकप्टरबाट डोजर झारिदिनुहोस्, हामी काम सुरु गर्छाैं भन्यौँ, तर सुनुवाइ भएन,’ उनले भने ।

दुई वर्षअघि अनेकौँ कठिनाइ झेल्दै तलकोटबाट डोजर अगाडि बढाइयो र गाउँपालिकाको वडा नम्बर १ र २ सम्म सडक सञ्जाल पुर्‍याउने प्रयास थालियो । यो सडकले साइपाललाई राष्ट्रिय सडक सञ्जालमा नजोडे पनि कम्तीमा गाउँपालिकाभित्रकै दुई वडालाई आपसमा जोड्ने छ ।

प्रदेश सरकारले जोड्नुपर्ने बिचको खण्डमा काम हुन नसक्दा यो प्रयासले पनि पूर्णता पाउन सकेको छैन ।

‘प्रदेशले दुई वर्षभित्र जोड्छु भनेको थियो,’ पालिका अध्यक्ष बोहराले भने, ‘हामीले पनि आफ्नो तर्फबाट दुई वर्षमा काम गर्‍यौँ । बिचको भाग नजोडिँदा हाम्रो काम पनि अधुरोजस्तै भएको छ ।’

सडक नहुँदाको सबैभन्दा ठुलो मार खाद्यान्न ढुवानीमा परेको छ । साइपालमा खाद्यान्न ढुवानीको एकमात्र भरपर्दाे माध्यम भनेको खच्चर नै हो । दसैँ–तिहारजस्ता चाडपर्वका लागि आवश्यक पर्ने चामल, नुन, तेल लगायतका खाद्यान्न धनगढीबाट गाडीमा तलकोटसम्म लगिन्छ । त्यहाँबाट खच्चरमा बोकाएर गाउँसम्म पुर्‍याउनु पर्छ ।

WhatsApp Image 2025-08-25 at 13.26.17_4c036975यहाँ वार्षिक चार हजारदेखि पाँच हजार क्विन्टलसम्म खाद्यान्नको माग हुन्छ । ढुवानी समस्याकै कारण विगतमा माग अनुसार खाद्यान्न पाइँदैन थियो । राज्यलाई बारम्बार घचघच्याएपछि बल्ल आवश्यकता अनुसार खाद्यान्न उपलब्ध गराउन पहल भएको छ ।

‘यातायात भनेकै खच्चर हो । वर्षायाममा पहिरोले बाटो अवरुद्ध हुँदा त्यो पनि सहज छैन । गाडी त परै जाओस्, खच्चड हिँड्ने बाटोसमेत नहुँदा ढुवानी गर्न समस्या छ,’ अध्यक्ष बोहराले भने । हालैमात्र स्थानीयले मिलेर बाटो मर्मत गरेपछि अब दसैँका लागि खाद्यान्न ढुवानीको तयारी सुरु गरिएको छ ।

WhatsApp Image 2025-08-25 at 13.26.19_5bacc15a

साइपालजस्ता दुर्गम क्षेत्रका लागि सरकारले खाद्यान्नमा ढुवानी अनुदान दिँदै आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत उपलब्ध हुने यो अनुदानले स्थानीयलाई ठुलो राहत दिएको छ ।

‘यदि सरकारले ढुवानी भाडा नतिर्ने हो भने एक किलो चामलको मूल्य ११० देखि १२० रुपैयाँसम्म पर्छ, तर अनुदानका कारण हामीले ६०–७० रुपैयाँमा उपलब्ध गराउन सकेका छौँ,’ पालिका अध्यक्ष बोहराले भने ।

उनका अनुसार अन्यत्र २० रुपैयाँ पर्ने एक प्याकेट नुन साइपालका बासिन्दाले ९ रुपैयाँमा पाउँछन् । सरकारले अनुदान दिए पनि यो प्रक्रिया झन्झटरहित भने छैन । ढुवानीको जिम्मा लिने ठेकदारको ढिलासुस्ती र लापर्बाहीले गर्दा हरेक वर्ष समस्या दोहोरिन्छ ।

‘राज्यले खाद्यान्न त दिन्छ, तर ठेकदारले समयमा ढुवानी गरिदिँदैन । गत वर्ष ठेकदारले १७ सय क्विन्टलमात्र ढुवानी गर्‍यो, जसले गर्दा गाउँलेहरू महँगोमा बजारको चामल किनेर खान बाध्य भए,’ अध्यक्ष बोहराले भने ।

WhatsApp Image 2025-08-25 at 13.26.18_45bb3299

साइपालमा खाद्यान्न अभाव हुनुको अर्काे कारण स्थानीय उत्पादनले नपुग्नु पनि हो । यहाँ गहुँ, जौ, कोदो, फापर, चिनो र केही मात्रामा धान (बाजुराली) उत्पादन भए पनि त्यसले वर्षभरि खान पुग्दैन । त्यसैमाथि कतिपयले खेती नै गर्दैनन् । साइपालका बासिन्दाको मुख्य आयस्रोत भनेको यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटी सङ्कलन हो ।

बाली लगाउने मुख्य समय (चैत–असार) र यार्सागुम्बा सङ्कलन गर्ने समय एउटै पर्छ । अधिकांश युवा र काम गर्न सक्ने मानिस बाली लगाउने बेलामा पैसा कमाउन लेकतिर यार्सागुम्बा सङ्कलनका लागि जान्छन्, जसले गर्दा खेतीयोग्य जमिन बाँझै रहन्छ ।

एकातिर वर्षभरिको आम्दानीको स्रोत, अर्कातिर खेतबारी । स्थानीयहरू आम्दानीको स्रोतलाई प्राथमिकता दिन बाध्य छन्, जसले गर्दा खाद्यान्नमा परनिर्भरता बढेको छ ।

स्थानीय सरकारले आलु, स्याउजस्ता नगदे बाली प्रवर्द्धन गर्ने प्रयास गरे पनि सडक अभावमा बजारसम्म पुर्‍याउन नसक्दा ती कार्यक्रम प्रभावकारी हुन सकेका छैनन् ।

संघीयता आएपछि ‘गाउँ–गाउँमा सिंहदरबार’ भनिए पनि साइपालजस्ता विकट ठाउँका लागि सिंहदरबार अझै पनि धेरै टाढा छ । अध्यक्ष बोहराका अनुसार स्थानीय तह, प्रदेश र संघले गर्नुपर्ने कामको स्पष्ट सिमाङ्कन र समन्वयको अभावमा विकास निर्माण सुस्त छ ।

‘हामी स्थानीय जनप्रतिनिधि भए पनि आफ्नो ठाउँको योजना र बजेटका लागि मन्त्रालयमा आफैँ धाउनुपर्छ, तर हाम्रो सुनुवाइ कमै हुन्छ । राज्यले साइपालको नाम त लिन्छ, तर काम र बजेट अन्यत्रै पारिन्छ,’ उनले गुनासो गरे ।

यस्तो अवस्थाले स्थानीय जनप्रतिनिधिमा एक किसिमको निराशा पैदा भए पनि आफूहरूले हिम्मत नहारेको अध्यक्ष बोहरा बताउँछन् । स्थानीय स्रोत र साधनले भ्याएसम्म विकासको दियो जलाइराख्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

स्थानीय सरकारका अनुसार अनेकौँ चुनौती र अभावका बिच साइपालले विकास र समृद्धिको अथाह सम्भावना बोकेको छ । पर्यटन, जलविद्युत् र जडीबुटी यहाँका मुख्य आधार हुन् । साइपाल हिमाल, पवित्र मानसरोवर–कैलाश यात्राको सम्भावित मार्ग र यहाँ पाइने वन्यजन्तुले पर्यटकलाई आकर्षित गर्न सक्छन् । यस क्षेत्रमा २१६ मेगावाटको माथिल्लो सेती लगायत तीन–चार वटा जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।

WhatsApp Image 2025-08-25 at 13.26.20_25fe308a

चीनको तिब्बतसँग जोड्ने रणनीतिक महत्त्वको ‘चैनपुर–ताक्लाकोट’ सडक निर्माण भएमा साइपालको मुहार फेरिने अपेक्षा छ । यो सडकले साइपाललाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र यहाँको पर्यटन तथा व्यापारमा क्रान्ति ल्याउने भए पनि उक्त योजनाको काम वर्षौंदेखि कछुवा गतिमा छ । अहिलेसम्म राज्यका तर्फबाट साइपाललाई सडक सञ्जालले नजोड्दा यहाँका बासिन्दा हरेक चाडपर्वमा चामलकै चिन्तामा बाँच्न बाध्य रहेको स्थानीय राजेन्द्र धामी बताउँछन् ।

‘सडक नहुँदा खाद्यान्नसँगै जति पनि आवश्यक चिज छन्, ती ढुवानी गर्न धेरै समस्या छ । हिमपात भएको समयमा त हेलिकप्टरमार्फत समेत चामल ढुवानी हुन्छ,’ उनले भने, ‘तर हेलिकप्टरबाट ल्याएको चामलले स्थानीयको आवश्यकता पूर्ति हुँदैन ।’

यहाँ जटिलका खालका गर्भवती, बिरामीहरूलाई उपचारका लागि सुविधासम्पन्न ठाउँमा आकस्मिक रूपमा लैजानु परेमा हेलिकप्टरबाहेक अर्को विकल्प छैन । प्रतिकूल मौसमका कारण समयमा हेलिकप्टर आउन नसकेमा त्यस्ता बिरामी उपचार अभावमै ज्यान गुमाउनुपर्ने बाध्यतामा पुग्छन् । फोटो सौजन्य : मानविर बोहरा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप