शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विचार

कमजोर हुँदैन प्रचण्ड र जनार्दनको सम्बन्ध

मङ्गलबार, १० भदौ २०८२, १७ : ४१
मङ्गलबार, १० भदौ २०८२

अहिले नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबिचको अन्तरविरोधले तनाव सिर्जना गरेको चर्चा भइरहेको छ । करिब एक महिनाअघि बसेको स्थायी समिति बैठकले यसको एक हदसम्मको समाधान निकालिसकेको छ ।   

यसअघि पनि नेपालको कम्युनिस्ट आन्दोलनमा प्रचण्ड र जनार्दन शर्माको सम्बन्धलाई तोड्न धेरैले प्रयास गरेको देखिन्छ । कतिपयले चाकडी, चाप्लुसी र व्यक्तिगत स्वार्थका आधारमा यी दुई नेताबिच दरार पैदा गर्ने कोसिस गरे । त्यस्तो प्रवृत्तिका व्यक्तिलाई माओवादी आन्दोलनभित्र ‘लालगद्दार’को रुपमा चिनिन्छ, जसको राजनीति अन्ततः विलिन हुँदै जानेछ भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ ।

प्रचण्ड र जनार्दनबिचको राजनीतिक सहयात्रा २०४२ सालमा विद्यार्थी आन्दोलनबाट सुरु भएको हो । विद्यार्थी आन्दोलन हुँदै जनयुद्धसम्मको यात्रामा प्रचण्डको नेतृत्व क्षमतामा जनार्दनको विश्वास र जनार्दनको साहसिक भूमिकामा प्रचण्डको भरोसाले सम्बन्ध आत्मीयतामा परिणत भयो । 

यसबिचमा पार्टीभित्र र बाहिर कतिपयले ‘चाकडी–चाप्लुसी’ गर्दै, कहिले व्यक्तिगत स्वार्थ देखाउँदै, कहिले आरोप–प्रत्यारोप खेल्दै प्रचण्ड र जनार्दनबिच दरार ल्याउन खोजेको देखियो ।

२०५२ सालमा जनयुद्ध सुरु भएपछि प्रचण्डले पार्टी नेतृत्वको कमाण्ड सम्हाले भने जनार्दनले संगठन, मोर्चा र आन्दोलनमा आफ्नो जिम्मेवारी पूरा गरे । युद्धका कठिन घडीमा दुवैले जीवनमरणसँगै बाँडेर यात्रालाई अघि बढाए । यो सम्बन्ध कुनै अवसरवादी सौदाबाजीबाट होइन, रगत–पसिनाले बनाइएको सच्चा सहयात्रा थियो । शान्ति प्रक्रियादेखि सत्तायात्रासम्म पनि प्रचण्ड र जनार्दनबिचको आत्मीयता कहिल्यै कमजोर भएन । 

प्रचण्ड प्रधानमन्त्री हुँदा जनार्दन निरन्तर सरकारका महत्त्वपूर्ण मन्त्रालयहरूमा रहे । ऊर्जा, गृह, शान्ति तथा पुनर्निर्माण र अर्थ मन्त्रालयसम्मको जिम्मेवारी सम्हाल्दा जनार्दनले प्रचण्डसँगको सहकार्यलाई निरन्तरता दिए ।

यसबिचमा पार्टीभित्र र बाहिर कतिपयले ‘चाकडी–चाप्लुसी’ गर्दै, कहिले व्यक्तिगत स्वार्थ देखाउँदै, कहिले आरोप–प्रत्यारोप खेल्दै प्रचण्ड र जनार्दनबिच दरार ल्याउन खोजेको देखियो । तर यस्तो प्रयास प्रचण्ड–जनार्दन सम्बन्धलाई कमजोर बनाउन सफल भएन । 

माओवादी आन्दोलनलाई आफ्नै अस्तित्वसँग जोडेर बुझ्ने प्रचण्ड–जनार्दनका लागि यस्ता प्रवृत्तिका व्यक्तिको भूमिका सधैँ घृणाको पात्र मात्रै बनेको छ । आत्मसन्तुष्टि लिने स्वार्थीहरूको राजनीति अस्थायी हुन्छ, तर सिद्धान्त र सङ्घर्षमा बनेको सम्बन्ध शाश्वत रहन्छ भन्ने प्रमाण आजको नेपाली राजनीति हो ।

प्रचण्ड र जनार्दनको सम्बन्ध चाकडी वा व्यक्तिगत स्वार्थले होइन, आत्मालोचना र आत्मीयताले मजबुत बनेको हो । प्रचण्डका लागि जनार्दन ‘आलोचना गर्ने, सत्य बोल्ने र सधैँ सहयात्री बन्ने’ साथी हुन् भने जनार्दनका लागि प्रचण्ड ‘प्रेरणा दिने, मार्गदर्शन गर्ने र सपना देखाउने’ व्यक्ति हुन् ।

मेरो निचोड के हो भने अहिले जे जति चाकडीवाजहरुले तिक्तता राखेपनि प्रचण्ड र जनार्दन शर्माको सम्बन्धलाई तोड्नेहरू, दरार ल्याउन खोज्नेहरू, चाकडी–चाप्लुसी गर्नेहरू आज पार्टीभित्र वा बाहिर कतै पनि दीर्घकालीन रूपमा टिक्न सकेका छैनन् । 

(शर्मा अखिल क्रान्तिकारी दाङ जिल्ला इन्चार्ज हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिभाइड शर्मा 'शुभम्'
डिभाइड शर्मा 'शुभम्'
लेखकबाट थप