बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्जमा फेरि बढ्यो हैजा सङ्क्रमितको सङ्ख्या, आज ११४ जना अस्पताल भर्ना

बुधबार, ११ भदौ २०८२, २२ : ३५
बुधबार, ११ भदौ २०८२

सारांश

  • वीरगन्ज महानगरपालिकामा हैजा सङ्क्रमितको सङ्ख्या फेरि बढ्न थालेको छ र एकै दिन १०० भन्दा बढी नयाँ केस देखिएका छन्।
  • पर्साका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद बिरामीको सङ्ख्या बढेर ११४ पुगेको छ, जम्मा २८३ जना उपचाररत छन्।
  • स्वास्थ्य मन्त्रालयको निर्देशनपछि नारायणी अस्पतालमा निःशुल्क उपचार सुरु भएपछि बिरामीको चाप बढेको छ र बेडको अभाव भएको छ।

वीरगन्ज । वीरगन्ज महानगरमा फेरि हैजा सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको छ । मङ्गलवार घटेको हैजा सङ्क्रमितहरूको सङ्ख्या आज भने ह्वात्तै बढेको हो ।

जनस्वास्थ्य कार्यालय पर्साका अनुसार आज एकै दिनमा एक सयभन्दा बढी नयाँ केस आएको छ । जिल्लाका विभिन्न अस्पतालमा आज मात्रै ११४ झाडा पखाला तथा हैजाका शङ्कास्पद बिरामीहरू अस्पताल भर्ना भएका जनस्वास्थ्य कार्यालय पर्साका शाखा अधिकृत जयमोद ठाकुरले बताए ।

जनस्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म जिल्लाका विभिन्न अस्पतालमा २८३ जना बिरामी उपचाररत छन् । यद्यपि निको भएर अस्पतालबाट डिस्चार्ज हुनेहरूको सङ्ख्या बढेको जनस्वास्थ्य कार्यालयको आँकडाले देखाएको छ ।

यो ६ दिनको अवधिमा अस्पताल भर्ना भएका मध्ये २५८ जना डिस्चार्ज भएर घर फर्किसकेका शाखा अधिकृत ठाकुरले बताए ।

नारायणी अस्पतालमा बिरामीको चाप

नारायणी अस्पतालमा सबै बिरामीको उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अहिले यहाँ भर्ना हुनेको सङ्ख्या बढेको छ ।

निजी अस्पतालमा जाँच गराइरहेका बिरामीहरू समेत अहिले नारायणी अस्पतालमा जान थालेका छन् । बिरामीको सङ्ख्यामा वृद्धि भएपछि अस्पतालमा बेडको अभाव हुन थालेको छ । बिरामीहरूलाई भुइँमा बेड राखेर उपचार दिन थालिएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्री प्रदीप पौडेले निः शुल्क सेवा दिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप बढेको अस्पतालका प्रवक्ता उदयनारायण सिंहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप