रुपन्देही–३ उपनिर्वाचन : समाजवादी मोर्चा अन्योलमा, आएन केन्द्रबाट निर्णय
सारांश
- रुपन्देहीमा हुने उपनिर्वाचनमा समाजवादी मोर्चा एक्लै भिड्ने वा गठबन्धन बनाउने अन्योलमा छ।
- मोर्चामा आबद्ध दलहरूले आ-आफ्नो उम्मेदवार तयार पार्न थालिसकेका छन्, तर केन्द्रबाट निर्णय आएको छैन।
- माओवादीबाट सोनिया यादव, हकिउल्लाह खाँलगायत नेताहरूको नाम उम्मेदवारका रूपमा चर्चामा छ।
बुटवल । वामपन्थी राजनीतिक दलहरूको गठबन्धन रूपमा २०८० सालमा गठन भएको समाजवादी मोर्चा रुपन्देही–३ मा हुने उपनिर्वाचनमा एक्लै भिड्ने कि गठबन्धन बनाएर जाने भन्नेमा अन्योलमा परेको छ ।
निर्वाचनको मिति नजिकिँदै जाँदा मोर्चाको केन्द्रबाट कुनै पनि निर्णय भएको छैन । बरु मोर्चामा रहेका दलहरूले आ–आफ्नो ढंगले उम्मेदवार तयार पार्न थालिसकेका छन् ।
मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् । तर महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीको रुपन्देहीमा अझै सङ्गठन विस्तार भएको छैन, जसका कारण रुपन्देहीमा अन्य तीन दलबिच मात्र बैठक र अन्य कार्यक्रम हुँदै आएका मोर्चाका जिल्ला संयोजक एवं नेकपा माओवादी विप्लवका नेता शरद वलीले रातोपाटीलाई बताए ।
केन्द्रमा मोर्चाका शीर्ष नेताहरूको बैठकबाट उपनिर्वाचनको विषयमा टुङ्गो लाग्ने उनको भनाइ थियो । यद्यपि जिल्लामा दलहरूले भने आ–आफ्नो तयारी गरिरहेका उनले बताए । सँगै आफ्नो पार्टीबाट पनि उम्मेदवार बन्न सक्ने उनले दाबी गरे ।
यता नेकपा माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल पनि मोर्चासँगै उपनिर्वाचनमा जाने, कि एक्लै जाने भन्ने अझै निर्णय भइसकेको बताउँछन् । पार्टीले आन्तरिक रूपमा उम्मेदवार छनोट तयारी गरिरहेको भने उनले रातोपाटीलाई जानकारी दिए । उपनिर्वाचनको विषयमा हालै पार्टीले बैठक बसेको र उम्मेदवारबारे चर्चा भएको उनले बताए । तर मोर्चाको निर्णय कुर्ने भन्दा पनि आफ्नो तयारीमा लाग्ने काम भइरहेको उनको भनाइ थियो ।
माओवादीबाट सोनिया यादव, हकिउल्लाह खाँ, मनिष कुमार जोशी, फैजअहमत खाँ, विर बहादुर रोक्कालगायत पार्टीमा केन्द्रीय सदस्यदेखि प्रदेश समितिमा बसेका नेताहरूको नाम उम्मेदवारका रूपमा उठेको पनि उनले जानकारी दिए ।
मोर्चाका रुपन्देही संयोजक वलीले पनि केन्द्रबाट अझै स्पष्ट निर्णय नआएकाले पार्टीहरूले आन्तरिक तयारी गर्ने कि सहकार्य गरेर जाने भन्ने दुवै विकल्प खुला रहेको बताए ।
एकीकृत समाजवादी रुपन्देही जिल्ला उपाध्यक्ष अभिराम विक भने केन्द्रले टिकट वितरण गर्ने भएकाले समर्थन भए पार्टी महासचिव घनश्याम भुसाललाई उम्मेदवार बनाउने सम्भावना रहेको बताउँछन् ।
त्यस्तै आफूसहित प्रदेश कमिटी सदस्य कमल भण्डारी, थानेश्वर खरेल, आशा चौधरी, विकलगायत नेताहरू पनि उम्मेदवारको दौडमा रहेका उनको भनाइ थियो ।
निर्वाचन आयोगले राप्रपा संसद् दीपक बोहराको निधन भएपछि कात्तिक १७ गते यहाँ उपनिर्वाचन गर्न लागेको हो । जसका लागि २६ वटा राजनीतिक दल दर्ता भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण