बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुदूरपश्चिममा हुने लगानी सम्मेलनबारे सरोकारवालासँग अन्तरक्रिया

बिहीबार, १२ भदौ २०८२, १७ : ३२
बिहीबार, १२ भदौ २०८२

काठमाडौँ । आगामी मङ्सिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबिचको बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरक्रिया गरिएको छ । 

अन्तरक्रियामा उद्योगमन्त्री दामोदर भण्डारीले लगानी, उत्पादन र उत्पादकत्वमा आत्मनिर्भर बन्न नेपालकै बजार पर्याप्त ठुलो रहेको बताए । 

करिब ३ करोड जनसङ्ख्या भएको नेपाललाई लक्षित गरेर छिमेकी मुलुकहरूले उद्योग स्थापना गरिरहेको उल्लेख गर्दै उनले नेपाली उद्योगीले पनि घरेलु माग पूरा गर्ने वस्तु उत्पादन बढाउनुपर्नेमा जोड दिए । 

भारत र चीनले आफ्नो उत्पादन सजिलै नेपाल भित्र्याउने पूर्वाधार तयार गरेकाले त्यसको फाइदा उठाउँदै निर्यात बढाउन सकिने उनको भनाइ छ ।

मन्त्री भण्डारीले भने, ‘हाम्रो पहिलो बजार घरेलु बजार हो, आवश्यक सबै सामग्री हामी आफैँ उत्पादन गर्नुपर्छ । नेपाली बजार सुरक्षित गर्न सके देशको जीडीपी बढ्छ, त्यसका लागि सबैभन्दा पहिले आयात प्रतिस्थापन गर्नुपर्छ ।’

साथै अन्य देशबाट नेपाल भित्रिने सामानमा नेपाल गुणस्तर अनिवार्य गर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला स्थापना गरिने पनि उहाँले जानकारी दिए ।

कार्यक्रममा उपस्थित निजी क्षेत्रका प्रतिनिधिहरूले सुदूरपश्चिममा लगानी आकर्षित गर्न सडक पूर्वाधार विकास, कानुनी तथा संस्थागत सुधार, छुट–सुविधा र सहुलियत व्यवस्था आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनीहरूले कतिपय कानुन केन्द्रीय सरकारले बनाए पनि प्रदेश स्तरमा अधुरै रहेका कारण कार्यान्वयनमा कठिनाइ भइरहेको बताएका छन् । लगानीकर्ताका लागि उपयुक्त प्रस्तावना र विस्तृत परियोजना प्रतिवेदन उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।

मुख्यमन्त्री शाहले विगतको तुलनामा सुदूरपश्चिम प्रदेशमा भौतिक विकास भएको उल्लेख गर्दै प्रदेश भारत निर्यातको प्रमुख गन्तव्य बन्न सक्ने बताए । 

भारतको उत्तराखण्ड र दिल्ली नजिक भएकाले सुदूरपश्चिमबाट निर्यात सहज हुने बताउँदै उनले लगानीकर्तालाई मङ्सिर १ र २ गते हुने सम्मेलनमा सहभागी हुन आग्रह गरे ।

सरोकारवालाहरूले सुदूरपश्चिममा रहेका जडीबुटी, हर्बल, रेसाजन्य कच्चापदार्थको प्रशोधन, खानीजन्य सम्पदाको उपयोग तथा धार्मिक पर्यटनको विकासमार्फत आर्थिक समृद्धि हासिल गर्न सकिनेमा जोड दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप