सदनलाई लयमा फर्काउन सभामुखको अपिल, रास्वपा र राप्रपाले मानेनन्
सारांश
- सभामुख देवराज घिमिरेले सदनलाई मूल लयमा फर्काउन अपिल गरेका छन्।
- रास्वपा लगायतका प्रतिपक्षले संसद् बहिष्कार गर्दै आएका छन्।
- सभामुखले सरकार, प्रतिपक्ष र सत्तापक्षलाई संवादको वातावरण बनाउन आग्रह गरे।
काठमाडौँ । सभामुख देवराज घिमिरेले सदनलाई मूल लयमा फर्काउन अपिल गरेका छन् । शुक्रबारको संसद् बैठकमा सभामुख घिमिरेले आकस्मिक समय अघि आफ्ना भनाइ राख्दै यस्तो अपिल गरेका हुन् ।
रास्वपा लगायतका प्रतिपक्षले लगातार संसद् बहिस्कार गर्दै आएका छन् । ‘भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन’, सभामुखले भने, ‘यस सम्बन्धमा सहमतिका लागि म आफैँले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुद पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारु बनाउन सरकार र राजनीतिक दलहरूबिच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।’
त्यस्तै उनले यसरी बैठक सुरु हुनासाथ “असहमति प्रदर्शन“ गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीन रूपमा हानिकारक साबित हुनसक्ने बताए । ‘हामी भविष्यलाई के सन्देश दिइरहेका छौँ भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद् केवल असहमति अभिव्यक्त गर्ने स्थल मात्र होइन; राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो’, सभामुखको भनाइ छ ।
उनले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि सङ्घीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा रहेको भन्दै यी विधेयकहरूमा सबै माननीयको गम्भीर र रचनात्मक बहस अपरिहार्य रहेको बताए ।
‘समितिहरूमा जस्तै सभामा पनि संसद्को गर्भमा रहेका यी कानुनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु । आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु’, सभामुखको आग्रह छ ।
उनले थप भने, ‘म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै माननीय सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु ।’
तर सभामुखको अपिललाई बेवास्ता गर्दै रास्वपा र राप्रपाका सांसद शुक्रबार पनि आफ्नो कुरा राखेर सदनबाट बाहिरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण