सत्य र भ्रमहरू
सारांश
- लेखक जीवनमा सत्य र भ्रमको भूमिकाबारे प्रश्न गर्छन्, भ्रमलाई सत्य र सत्यलाई भ्रम मान्ने मानवीय प्रवृत्तिमाथि प्रकाश पार्छन्।
- सत्य र भ्रमको स्पष्ट सीमा नभएको र उमेर बढ्दै जाँदा सत्यको रूप परिवर्तन हुने अनुभव लेखकले व्यक्त गर्छन्।
- छोराको प्रश्न र हजुरआमाको मृत्यु सम्बन्धी घटनाले सत्य र भावनाको द्वन्द्वलाई उजागर गर्दछ, जसले जीवनमा दुवैको महत्त्व दर्शाउँछ।
हामी कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ जीवनमा ? अथवा हामीलाई बाँच्न कति सत्य र कति भ्रम चाहिन्छ ? म यिनै प्रश्नहरूको वरिपरि घुमिरहेको छु कति दिनदेखि । यसै प्रश्नको अल्झोमा अल्झन पुगेको छु र यो प्रश्न झन्झन् गहिरिँदै गएको देखेर झन्झन् अलमलिन थालेको छु । कहिलेकाहीँ त लाग्छ, म व्यर्थै यस्ता गहिरा र नचाहिँदा विषयमा फसिरहेको छु । तर के गर्नु, यो फस्नु र निस्कनु आफुले चाहेर मात्र हुने विषय नभएपछि ।
जीवनमा एक ठाउँमा उभिएर सत्य स्विकारेको तथ्य अलि पर पुगेर हेर्दा अर्कै देखिँदो रहेछ— अर्कै सत्य भएर आएको । अझ अलि पर गएर हेर्ने हो भने दृश्यको अर्कै पाटो देखिँदो रहेछ— झन् अर्को सत्य । यात्रामा हिँडेको यात्रुले हिँड्दाहिँड्दै दृश्यचित्र बदलिँदै गएर रोमाञ्चकता थपिएजस्तो जीवन पनि उमेरको प्रवाहमा बगेर जतिजति पर पुग्छ, त्यतित्यति नै सत्यको रूप, आकार र अर्थ बदलिँदो रहेछ । यात्रा अर्थपूर्ण लागेजस्तै जीवन पनि झन्झन् रोमाञ्चक र अर्थपूर्ण लाग्दै जाँदो रहेछ । यो लाग्नु चाहिँ जीवनमा लागुजस्तै रहेछ । यो लागिरहन्छ, लागिरहन्छ एकोहोरो र हामी भ्रमलाई सत्य र सत्यलाई भ्रम ठानेर त्यसैत्यसै मक्ख परिरहन्छौँ, रुन्छौँ, झगडा गर्छौं र दौडन्छौँ, रमाउँछौँ ।
यसरी सत्य र भ्रमका सम्बन्धका बारेमा गहिरिन थालेपछि कहाँनेर सत्य सकिन्छ र भ्रमको प्रारम्भ हुन्छ अथवा कतिवेला भ्रमको अन्त्य हुन्छ र सत्यको प्रकाश आलोकित हुन थाल्छ भनेर विचार गर्न थालेको छु । कहाँकहाँ सत्य र भ्रम दुवै सँगसँगै हिँड्छन् र कहाँ ती दुवै मिसिएर एकाकार हुन्छन् भनेर समेत सोच्न थालेको छु । यसरी जतिजति सोच्तो रहेछु त्यतित्यति नै अलमलिएर भुमरीमा घुमिरहेझैँ लागिरहेछ ।
भ्रम र सत्यका बिचमा त्यस्तो स्पष्ट सीमारेखा देख्तिनँ तर हामी यात्रुहरू भने यात्रामा हिँडिरहँदा कहिले बिचबाट, कहिले अलि दायाँ ढल्कँदै र कहिले अलिअलि बायाँतिर पनि ढल्कँदै हिँड्छौँ क्यार । यसै भएर हामीभित्र अनुभूतिहरूको परिवर्तन भइरहन्छ । कहिले त्यो सुखद र आनन्ददायी भइरहेको हुन्छ भने कहिले फेरि दुःखद, सुरुङजस्तै अँध्यारो र ज्यादै बिझाउने भइरहेको हुन्छ ।
जीवन अनुभवहरूको सङ्ग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ निरन्तर । अनगिन्ती कुराहरू छन् जीवनमा, जसलाई हामी भोग्न चाहन्छौँ कसैगरी र अनगिन्ती रङहरू छन् जीवनमा, जसमा हामी रङ्गिन चाहन्छौँ सधैँभरि । यही चाहनालाई मैले भोक पनि भनेको छु अर्को कुनै निबन्धमा । यसैले मान्छेलाई उफार्छ, थेचार्छ, दौडाउँछ र भगाउँछ । भाग्दाभाग्दै, उफ्रिँदाउफ्रिँदै, रमाउँदारमाउँदै र दुःखी हुँदाहुँदै जीवन त फेरि छोटिँदै जान्छ र सकिन्छ एक दिन । हामी त केही पनि पत्तै पाउँदा रहेनछौँ ।
मोह हाम्रा नजरहरूमा आएर यसरी बस्ने रहेछ, हामी त्यसैलाई मात्र देख्ता रहेछौँ र जीवनभरि अरू केही नभनेर त्यसैको मात्र पछि लाग्दा रहेछौँ, पुतलीहरू लालटिनको वरिपरि झुम्मिएजस्तो । पाँच फुट जमिन र एक भारी दाउरा जीवनको अन्तिम सत्य भएको धेरैपल्ट देखेपछि बादल फाटेर निलो आकाश देखेजस्तो हुन्छ कहिलेकाहीँ । त्यसबेलामा बडो गम्भीर र भावुक बन्न पुग्छु । त्यसैबेलामा मनले ज्ञान, विवेक र मस्तिष्कलाई बडो निरीह बनाइदिन्छ, त्यो अनुभव पनि गरेको छु । यस्तो बेलामा कुन पक्ष बलियो हो जीवनमा अनि कुन पक्ष कति सत्य हो भन्ने बारेमा अलमल उत्पन्न हुने रहेछ ।
जीवन अनुभवहरूको सङ्ग्रह हो भनेर मैले आजसम्म मानिआएको छु । अनगिन्ती विषयहरू छन् जीवनमा, जसलाई हामी जान्न चाहन्छौँ निरन्तर । अनगिन्ती कुराहरू छन् जीवनमा, जसलाई हामी भोग्न चाहन्छौँ कसै गरी र अनगिन्ती रङहरू छन् जीवनमा, जसमा हामी रङ्गिन चाहन्छौँ सधैँभरि ।
एक वर्ष अगाडिको कुरा हो, तीन वर्ष पुगेको मेरो छोरो जाडोको याम भएकाले हिटर तापेर बसिरहेको थियो । उसले एकाएक मलाई बोलायो, ‘बाबा ।’
मैले ऊतिर ध्यान मोडेँ । उसले भन्यो, ‘तपाईं र आमा खाटबाट कहिल्यै पनि नखस्नुस् है ।’
उसको कुराले मलाई स्तब्ध बनायो । म एकाएक चरम भावुकताले भरिएँ । उसले कति धेरै आशा र माया भरिएका नजरले मलाई हेरिरहेको थियो । मैले पनि गला भरिएर आँसुले भिजेका आँखाले उसलाई हेरेँ ।
कुरा के थियो भने गएको वर्ष अर्थात् २०६५ सालको श्रावणमा मेरी हजुरआमा बित्नुभयो । मैले तुरुन्त झापा घरमा जानुपर्ने भयो, छोरालाई यहीँ छाडेर । घर जाने तयारी गर्दैगर्दा उसले सोध्यो, ‘झापाको घरमा किन जाने बाबा ?’
मैले सत्यलाई अलिकति जामा लगाइदिएर भनेँ, ‘मेरी हजुरआमा खाटबाट खस्नुभयो र भगवानको घर जानुभयो ।’
‘तपाईंकी हजुरआमा कि मेरी हजुरआमा ?’ उसले फेरि सोध्यो ।
‘तिम्री होइन, मेरी हजुरआमा ।’ मैले भनेँ ।
‘डाक्टरकोमा लानु न त ।’ उसले एकदम निर्दोष पाराले भन्यो ।
‘अब डाक्टरकोमा लानुपर्दैन बा, अब भगवानकैमा बस्नुहुन्छ ।’ मैले भनेँ । उसले बुझेन, बुभ्mने कुरा पनि थिएन । त्यसैले सोध्यो, ‘कहिले आउनुहुन्छ त ?’
‘अब कहिल्यै आउनुहुन्न छोरा ।’ यति बोलिसक्ता मेरो गला भरियो । मैले अरू बोल्न चाहिनँ र सकिनँ पनि । उसलाई काखमा राखेर समसुम्याएँ । ऊ गम्भीर भएर कतै हराएजस्तो देखियो । बस्, कुरा यति नै हो । उसले सोच्यो होला, उसका बाबुआमा पनि खाटबाट खसे भने भगवानको घर जानेछन् उसलाई छाडेर र फेरि कहिल्यै फर्कने छैनन् । ममताको सागर कसरी उर्लेर भरिएको होला उसको छातीमा यतिबेला, बिछोडको रिक्ततापूर्ण त्रासले कति डराएको होला ऊ, कति निस्सासियो पनि होला कल्पनैमा पनि । र, यसरी उमेरभन्दा कति हो कति ठुलो कुरा गर्यो उसले ।
छोरो जवाफको प्रतीक्षामै थियो । त्यसैले उसलाई विश्वस्त पार्न सुमसुम्याउँदै भनेँ, ‘हुन्छ बाबु, हामी कहिल्यै पनि खाटबाट खस्तैनौँ ।’
यसपछि अबोध छोरो त ढुक्क भयो तर मेरो मनभित्र भने ठुलो आँधी–तुफान उठ्यो । यही आँधीतुफानका बिचबाट झुटो बोल्न मलाई निकै गाह्रो परेको थियो । मैले माथिमाथि उक्लँदै गरेको आफ्नो उमेर र एक दिन जानैपर्ने बाध्यता पनि सम्झेँ । गला अवरुद्ध भयो । भावनाले थिचिएर बसिरहेँ धेरैबेर त्यत्तिकै । यस्तो अवस्थामा विचार र दर्शनहरू आफैँ आफैँ पराजित हुँदा रहेछन् र भावना र संवेदनाहरू विजेता भएर माथिमाथि उठ्ता रहेछन् । भावना र संवेदना भन्ने कुरा मानिसले आफैँसँग लिएर आएको हुन्छ । विचार, ज्ञान र दर्शन भने मानिसले प्रयत्नले, मेहनतले र प्रतिभा समेतको प्रयोगले प्राप्त गरेको विषय भयो । त्यसैले बाहिरबाट प्राप्त गरेका र थोपरिएका यस्ता ज्ञान, दर्शन र विचारहरूलाई हामीभित्रै रहेका र प्राकृतिक रूपले नै हासिल गरेका संवेदना र भावनाजस्ता हार्दिक पक्षले सजिलै पराजित गरिदिँदा रहेछन् । मान्छे उमेरले वृद्ध पनि हुन्छ र एक दिन उमेर पुगेपछि जान्छ भन्ने स्वाभाविक सत्यलाई हामीले नबुझेको कहाँ हौँ र ! तर जब पर्छ आफूलाई, त्यसबेला त्यो ज्ञान र विचार भन्ने कुरा त कहाँ जाँदो रहेछ कहाँ, आफूलाई साथ दिने त तिनै संवेदना, भावना र भावुकता मात्रै रहेछन् । ती जब आफूभित्रैबाट उम्लेर र बढेर आउँछन्, ती यसरी आउँदा रहेछन्, जसरी मध्य बर्खामा अविरल वर्षापछि नदीमा बाढी आउँछ र त्यसले दायाँबायाँको सम्पूर्ण वस्तुहरूलाई सोहोरेर बगाएर लैजान्छ । बाहिरबाट ल्याइएको, टाँसिएको र थोपरिएको कुराले आफू सज्जित, सुन्दर र विद्वत लागे पनि ती पूर्ण सत्यका स्वरूप होइन रहेछन् । ती त आंशिक सत्य मिसिएका भ्रम रहेछन् । त्यसैले ती आँसुसँगै, संवेदना र भावनासँगै बगेर जाँदा रहेछन् । मान्छे भन्नु पनि वास्तवमा यिनै भावना, संवेदना नै रहेछ भन्ने पनि लाग्न थालेको छ आजभोलि ।
यसरी भावना उडेर कहाँकहाँ पुग्छ । म भने भ्रमैभ्रमले भरिएको जीवनको नाङ्गो सत्यले डामिएर दुख्छु । फेरि पनि समय त रोकिँदैन । समय सत्य पनि हो सायद । समय गतिवान् हुँदा सपनाले अङ्कुराउने ठाउँ पाउने रहेछ । सत्यजस्तै लाग्ने, भइहाल्छ, बनिहाल्छ र पुगिहाल्छजस्तो मिठो लाग्ने र केही उपलब्धि प्राप्त भइहालेमा त्यही नै सधैँलाई होजस्तो पनि लाग्ने भ्रमको मिठो इन्द्रेणी पनि सँगसँगै आइहाल्दो रहेछ । यही ‘मीठो’मा हामी फेरि बरालिँदा रहेछौँ र भ्रमित भइहाल्दा रहेछौँ । सम्झन्छु, बडो गजब लाग्छ ।
शरीरको परिवर्तनलाई कतिपय सन्दर्भमा मनले स्वाभाविक स्विकार्दैन रहेछ । आहानै छ नि, ‘आँखा लोभी मन पापी ।’ उमेरले नेटो काटिसक्ता पनि मन भने अठार–बिस वर्षकै भइरहन चाहन्छ । यस्ता अनेकौँ विरोधाभास छन् जीवनमा । सभ्यता र संस्कृतिका स्थापत्यका बिचमा, सामाजिक साँध–सिमानाका बिचमा, उमेरको निरन्तर उकालो चढाइका बिचमा पनि आँखा लोभी मन पापी भइन्जेलसम्म यो विरोधाभासको भण्डार झन्झन् बढ्दै र भरिँदै जाँदो हो । त्यसैले जीवनलाई अनुभवहरूजस्तै विरोधाभासहरूको पनि सङ्ग्रह हो भन्न मन लाग्छ कतिकति बेलामा ।
आफू बाँचेको क्षेत्र पूर्वीय दर्शनको रसले छपक्कै भिजेको थियो कुनै बेला । त्यस रसको अलिअलि छिटो त अझै पनि बाँकी रहेकाले त्यसले पनि छोइन्छु कुनैकुनै बेलामा ।
सम्झन्छु— सत्य त एकदम जर्जर, एकदम सुक्खा र एकदम कठोर हुन्छ, भयाक्रान्त गराउने । त्यसैले मान्छेहरूले सत्य तितो हुन्छ भनेका होलान् । मान्छेहरू त्यसैले सत्यसँग भाग्न चाहने होलान् । भ्रमसँग त अनेकौँ रूपरङहरू हुन्छन् । त्यसैले त्यसलाई इन्द्रेणी भनेँ । भ्रमसँग अनेकौँ नाटकीयताहरू र अनेकौँ मोहनी आकर्षणहरू हुन्छन् । ती गुलिया हुन्छन्, ती हरिया, निला, राता, पहेँला, गुलाबी, बैजनी र अरूअरू पनि हुन्छन् । वास्तवमा तिनैले हामीलाई सत्यले थिचिरहेको बेलामा पनि बाँच्ने कला सिकाउँदा रहेछन् र नाङ्गो र कठोर सत्यको गह्रौँ बोझलाई समेत हलुका बनाइदिँदा रहेछन् । हामीसँग ‘माया’हरू छन् । त्यसैले हामी हिँड्दाहिँड्दै पनि, जाँदाजाँदै पनि, बन्दाबन्दै पनि र भत्कँदाभत्कँदै पनि रमाइरहेका हुन्छौँ । थकाइ र गुनासाका बिचमा पनि धेरै त सन्तुष्ट नै हुन्छौँ । कहिलेकाहीँ मनमा कुरा खेल्छ, जीवनमा भ्रम नभइदिएको भए जीवन कस्तो हुन्थ्यो होला । जीवन जीवन रहन्थ्यो होला र । आज हामीले भन्ने गरेको जीवनमा त अनेकौँ कमला र बग्ने तरल कुराहरू पनि छन् ।
सत्य एक्लो रहेछ, नितान्त एक्लो । सत्य एक्लो भएर नै कहालीलाग्दो पनि भएको होला । एक्लो भएर नै कठोर र कुरूप पनि भएको होला । यस दुनियाँमा एक्लो आउनु पहिलो सत्य र एक्लो जानु अन्तिम सत्य रहेछ । यस बिचमा अनेकौँ रङ्गीन भ्रमहरूसँग अनेकौँ किसिमले खेल्दा रहेछौँ, अनेकौँ किसिमले जम्काभेट गर्दा रहेछौँ र तिनलाई अनेकौँ किसिमले भोग्दा पनि रहेछौँ । जितेको अथवा हारेको भ्रम पनि यसै बिचमा पाल्दा रहेछौँ, पाएको र गुमाएको भ्रम पनि यसै बिचमा बोक्ता रहेछौँ । भ्रम भने कहिल्यै पनि सत्य जसरी एक्लो बस्तो रहेनछ । कहिले साथी–सँगातीका रूपमा, कहिले मायाप्रेमको रूपमा, कहिले घृणा र दुस्मनीका रूपमा तर त्यो जहिले पनि एक्लो नभईकनै आइरहँदो रहेछ । भ्रम त घामको वरिपरि छाया दगुरिरहेको जस्तो सत्यको वरिपरि घुमिरहँदो रहेछ, हामी मान्छेलाई थाहै नदिईकन । हामी भने त्यही बाहिरी रङहरूको चमकदमकलाई हेरेर सत्य भेटेको भानमा परिरहँदा रहेछौँ धेरैजसो समय त । यसरी हामी हिँडिरहँदा रहेछौँ आफ्नै उमेरमाथि टेकेर र बाटोजस्तो हाम्रो उमेर हामी जति हिँड्छौँ, जीवन त्यति नै छाटिँदै जाँदो रहेछ । यिनै भ्रमहरूको ताल, सुर र धुनमा हामी आयुभरि नाचिरहँदा रहेछौँ ।
आफू बाँचेको क्षेत्र पूर्वीय दर्शनको रसले छपक्कै भिजेको थियो कुनै बेला । त्यस रसको अलिअलि छिटो त अझै पनि बाँकी रहेकाले त्यसले पनि छोइन्छु कुनैकुनै बेलामा । त्यही दर्शनले भनेको सम्झन्छु, ‘सत्य भित्र सारमा हुन्छ र भ्रम भनेको सत्यको बाहिरी आवरण मात्र हो ।’ यस भनाइलाई गम खाएर विचार गर्दा पनि के लाग्छ भने सत्य एकदम नाङ्गो हुँदा होइन तर केही आवरणले छोपिँदा सुन्दर र अझ सर्वश्रेष्ठ हुन्छ । हामी जीवनलाई सुन्दर बनाउन चाहन्छौँ र सर्वश्रेष्ठ तरिकाले बाँच्न चाहन्छौँ । यस प्रकार जीवनमा सत्य र भ्रम दुवै आवश्यक हुँदा रहेछन् हामीलाई । त्यसै भएरै होला, जीवन सत्य र भ्रमको बिचबिचैबाट हिँडेको धेरै भोगिएको पनि । यी दुवै मात्रात्मक हिसाबले कति चाहिन्छ जीवनमा भन्नुभन्दा पनि दुवै आवश्यक छन् र दुवैलाई छुँदै जीवन हिँडेको राम्रो हुने रहेछ भन्ने निष्कर्षको नजिक आइपुगेको छु यस बेला । यो निष्कर्षको नजिकै आइपुगेका बेला हामी जीवनमा कति सत्य बाँच्छौँ र कति भ्रम बाँच्छौँ भनेर सोचिरहनुको प्रयोजन पनि समाप्त भएको अनुभव गरिरहेको छु र यी दुवैलाई हृदय खोलेर स्वागत गरिरहेको छु । यसरी दुवैलाई एकैसाथ स्वागत गर्न स्वागतद्वारमा उभिएपछि यस प्रश्नको बोझ पनि आफूबाट ओर्लेर हलुका भएको छु र जीवनको सौन्दर्यले झनै धेरै घेरिएर जीवनमय भएको छु ।
(२०६६) ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण