बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
विमर्श

समय, स्रष्टा र रचना

शनिबार, १४ भदौ २०८२, २० : ००
शनिबार, १४ भदौ २०८२

सारांश

  • लेखकले आफ्नो समयलाई रचनामा अभिव्यक्त गर्छन्, वर्तमानसँग जोडेर अतीत र भविष्यको कुरा गर्छन्।
  • साहित्यमा समयको प्रतिबिम्ब भनेको मानवीय संवेदना, मानवता र सामाजिक न्यायको अभिव्यक्ति हो।
  • लेखकहरूले आफ्नो समयमा हस्तक्षेप गर्न सक्ने रचनाहरू मार्फत समयलाई जीवन्त बनाउँछन्।

स्रष्टाले आफ्नो रचनामा आफू बाँचेको समयलाई अभिव्यक्ति दिन्छ । स्रष्टाका रचनामा अतीत र भविष्य पनि बोल्छन् तर वर्तमानसँग जोडिएर । समयलाई अभिव्यक्ति दिनु त्यसका उज्याला–अँध्यारा, आशा–निराशा, सुख–दुःख, घात–प्रतिघात, स्वप्न–सङ्घर्षलाई अभिव्यक्ति दिनु हो । मनुष्य जीवन, समाजका समग्र पक्ष र क्रियाकलापसँग जोडिएरै समयले अर्थ ग्रहण गर्छ । मनुष्यले नै समयलाई अर्थ प्रदान गर्छ । मनुष्यविना समयको अर्थ अनुभवका दृष्टिले शून्य रहन्छ । समयको प्रयोग साहित्यमा मनुष्यको पर्यायका रूपमा हुन्छ । साहित्यमा समय बोल्छ भन्नु मनुष्य बोल्छ भन्नु हो । मनुष्य बोल्छ भन्नु उसका यावत् पक्ष बोल्छन् भन्नु हो । साहित्यमा घडीको सुई र टिकटिक आवाज मात्र होइन समय । मानिसको अस्तित्व, चेतना, जीवनबोध, अनुभूति, संवेदना, स्मृति, क्षणभङ्गुरता, सङ्घर्ष आदिको रूपकका रूपमा समय साहित्यमा आउँछ । भौतिक दृष्टिमा समयलाई घटनाको क्रमबद्धता, एउटा विन्दुबाट अर्को विन्दुको दूरी एवं गतिशीलताको रूपमा हेरिन्छ, तर साहित्यमा यो अर्थ अपर्याप्त हुन्छ । विशुद्ध भौतिक दृष्टिमा समय मनुष्यविना पनि अस्तित्वमा रहन्छ । साहित्य र दर्शनमा यस्तो हुँदैन । चेतना र अनुभूतिविना यसलाई परिभाषित गर्न कठिन हुन्छ । समयसँग स्रष्टाको सम्बन्धको चरित्र एउटै छैन । फरक–फरक ढङ्गले स्रष्टाका रचनामा समयले अभिव्यक्ति पाएको छ । यो भिन्नता हामी संज्ञान, विचार, संवेदना, अनुभव, यथार्थको प्रतिविम्बन, प्रतिविम्बनको तरिका, संरचना आदिमा पनि पाउँछौँ । समयको सिर्जनात्मक अभिव्यञ्जनामा यिनले सबैभन्दा बढी अर्थ राख्छन् । 

मनुष्य समाज र त्यसको भित्री–बाहिरी संसारबाट स्रष्टाको बोध, विचार, संवेदना, अनुभव र अभिव्यक्ति प्रभावित हुन्छन् । यसबाट स्रष्टाको निजत्वको निर्माण हुन्छ । एउटा स्रष्टा अर्को स्रष्टाबाट भिन्न देखिन्छ । समयप्रतिको सरोकार र गम्भीरता सबै स्रष्टामा समान पाइँदैन । कोही चरम व्यक्तिवादको सिकार बन्छन्, कोही सत्ता पूजक हुन्छन् । कोही निराशा र विसङ्गतिले आक्रान्त पाइन्छन्; कोही अराजकता, घृणा र विद्वेष ओकल्छन् । कोही स्वप्न, सङ्घर्ष र परिवर्तनको विरोध गर्छन्; कोही आफू बाँचेको समयदेखि बेखबर हुन्छन् । आफ्नो समयलाई अभिव्यक्ति दिएर मनुष्यको अग्रगामी यात्रालाई सघाउने स्रष्टाका रचनामा समयको सजीव प्रतिविम्बन पाइन्छ । त्यसले हाम्रो हृदय र मस्तिष्कलाई स्पर्श गर्छ । तीबाटै हामीले ऊर्जा प्राप्त गर्छौं र अघिल्तिर प्रस्थान गर्छौं । अतीत र वर्तमान दुवैको यथार्थ हो यो । 

साहित्यमा समयको प्रतिविम्बन त्यसको उध्र्वगामी चरित्रको जीवन्त अभिव्यञ्जनामै सार्थक हुन्छ । जीवन्त अभिव्यञ्जना स्रष्टा आफ्नो समयसँग जोडिँदा; त्यसका अन्तर्विरोध र द्वन्द्वलाई ठिक ढङ्गले ठम्याउन सक्दा; सिर्जनाका सामाजिक, सौन्दर्यपरक अभीष्टका बारेमा स्पष्ट हुँदा एवं पक्षधरता, प्रतिबद्धता र अग्रगामी विचारलाई ग्रहण गर्न सक्दा मात्र हुन सक्छ । गहिरो मानवीय संवेदना, मानवताको पक्षपोषण, विभेदको आलोचना, समतापूर्ण समाजको निर्माणको चाहना, अँध्यारोका विरुद्ध उभिने साहस, मनुष्यप्रतिको गहिरो प्रेम, उसको आभ्यान्तरिक संसारको सूक्ष्म अवलोकन र त्यसको कलात्मक अभिव्यञ्जनाले स्रष्टालाई स्रष्टा जस्तो बनाउँछन् । 

आफ्नो समयमाथि सार्थक हस्तक्षेप गर्न सक्ने स्रष्टाका रचना नै जीवन्त हुन्छन् । उनीहरूका रचनामै समय जीवन्त ढङ्गले बोल्छ । हाम्रा निम्ति देवकोटा, रिमाल, हृदयचन्द्र सिंह प्रधान, भूपि, विकल, विजय मल्ल, वासु शशी, युद्धप्रसाद मिश्र, पारिजात, श्यामप्रसाद शर्मा आदि आफू बाँचेको समयमाथि सार्थक कलात्मक हस्तक्षेप गर्न सकेकै कारण प्रिय छन् । उनीहरूका रचनामा उनीहरू बाँचेको समयका उज्याला–अँध्यारा पक्ष मात्र बोल्दैनन्; स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा, सौन्दर्य र जीवनका सुखदुःख, राग–विराग, आँसु–हाँसो, स्वप्न, सङ्घर्ष पनि बोल्छन् । समयको कलात्मक अभिव्यञ्जना उनीहरूका रचनामा पाइन्छ । समयलाई उनीहरूले गहिरो मानवीय संवेदना, बोध, विचार, अनुभव र सूक्ष्म कलादृष्टिसहित अभिव्यक्ति दिएका छन् । 

साहित्य अन्यायपूर्ण युद्धको विरोध, हातहतियारको होडबाजीको आलोचना र न्यायका निम्ति सङ्घर्ष गर्नेहरूमाथिको दमनको प्रतिवाद गर्न थाल्छ ।

आफू बाँचेको समयलाई अभिव्यक्ति दिने स्रष्टा आफ्नो भूगोलमा मात्र सीमित रहँदैनन् । ती भूगोलको सीमा नाघ्छन् र विश्व चियाउँछन् । त्यससँग संवाद गर्छन् र रचनामा अभिव्यक्ति दिन्छन् । उनीहरू देश हेरेर मात्र दुख्दैनन्, विश्व हेरेर पनि दुख्छन् । उनीहरूलाई सिङ्गो विश्व आफ्नो आवासजस्तो लाग्छ । त्यसका सुख–दुःख आफ्नै सुख–दुःखजस्ता लाग्छन् । अँध्यारो देख्दा आक्रोश जन्मन्छ, उज्यालोले खुसी बनाउँछ । अन्यायले आगो जन्माउँछ, न्यायले आश्वस्त तुल्याउँछ । विश्वमा पाइने विभेद, गरिबी, अन्याय, स्वतन्त्रता एवं समानताको अपहरण साहित्यमा बोल्न थाल्छ । साहित्य अन्यायपूर्ण युद्धको विरोध, हातहतियारको होडबाजीको आलोचना र न्यायका निम्ति सङ्घर्ष गर्नेहरूमाथिको दमनको प्रतिवाद गर्न थाल्छ । विजय मल्लको ‘यस धर्तीको पानीमा’, भूपि शेरचनको ‘हो–चि–मिन्हलाई चिठी’, वासु शशीको ‘बीसौँ शताब्दीको गीत’, इच्छुकको ‘प्यालेस्टाइनी मित्रहरूको नाममा’ र ‘बेन्जामिन मोलाइसाको सम्झना’ आदिजस्ता कविता यसका उदाहरण हुन् । अन्य नेपाली साहित्यकारका रचनामा पनि वैश्विक सरोकार पाइन्छ । सरोकारले कवितामा मात्र नभएर साहित्यका अन्य विधामा पनि अभिव्यक्ति पाएको छ । समकालीन नेपाली साहित्यको एक महत्त्वपूर्ण विशेषता वैश्विक चेतना पनि हो । समकालीन स्रष्टाको वैश्विक सरोकार असमानता, अन्याय, गरिबी, जातिभेद, रङ्गभेद, अतिवाद, पर्यावरण विनाश, हातहतियारको होडबाजी, अन्यायपूर्ण युद्ध, नरसंहार, नवऔपनिवेशिक एवं साम्राज्यवादी उत्पीडन आदिको विरोध, कुरूपको अन्त्य एवं सुन्दरको स्थापनासँग जोडिएको छ । 

हामी कठिन समयमा छौँ । समयलाई कठिन मनुष्यले नै बनाउँछ । हामीले भोग्दै गरेको कठिन समय आम मानिसद्वारा निर्मित कठिन समय होइन । सत्ता र शक्तिमा रहनेहरूले समयलाई कठिन बनाएका छन् । मनुष्यले इतिहासका विभिन्न कालखण्डमा गम्भीर कठिनाइको सामना ग¥यो र तीसँग सङ्घर्ष गर्दै अघि बढ्यो । मनुष्यको यात्रा सहज र सरल कहिल्यै रहेन । अँध्यारोसँग सङ्घर्ष गर्दै मनुष्य यहाँसम्म आइपुगेको हो । आज मनुष्यका अगाडि अझ बढी चुनौती छन् । अतिवाद मौलाउँदै छ; फासीवाद नयाँ ढङ्गले विकसित हुँदै छ; लोकप्रियतावाद फस्टाएको छ; असमानताको खाडल फराकिलो भएको छ; हातहतियारको होडबाजी बढेको छ; लोकतन्त्र र धर्मनिरपेक्षताले अर्थ गुमाउँदै छन्; पर्यावरण विनाश बढेको छ; अन्यायपूर्ण युद्ध, बर्बरता, नरसंहारका कहालीलाग्दा दृश्य हाम्रा अगाडि छन्; ‘जसको लट्ठी उसैको भैँसी’ भन्ने उखान आजको विश्वको पनि यथार्थ हो । शब्दहरू कमजोर बन्दै छन् । मार्गरेट एटवुड यसतर्फ सङ्केत गर्दै आजकल शब्दहरूले खतरा महसुस गर्दै छन् भन्छिन् । प्रतिरोध चेतनाका स्रष्टा लेखेकै कारण मारिएका छन्, कारागारमा कैदी छन् र निर्वासित भएका छन्, बोल्न–लेख्न प्रतिबन्ध लगाइएको छ । स्रष्टा मात्र होइन, पत्रकार, वकिल, प्राध्यापक आदि पनि प्रताडित छन् । जोसे सारामागो संसार शक्ति, लोभ र मानवताको कमीका कारण विवेकहीन र अन्धो हुँदै गएको छ भन्छन् । सत्ता र पुँजी अझबढी मानवताविरोधी हुँदै गएको समय हो यो । यिनका अगाडि विवेक आज जस्तो कमजोर सम्भवतः यसअघि कहिल्यै थिएन । शासनसत्ता निर्वाचित जनप्रतिनिधिले होइन, थोरै पुँजीपति, व्यापारी र दलालले चलाउँछन् । कुर्सीमा कोही निर्वाचित बसेर के हुन्छ र ? शासनसत्ताको वास्तविक साँचो अर्कैको हातमा भएपछि । 

संसार राजनीतिक ढोँग र पाखण्डले ग्रस्त छ भन्ने ह्यारोल्ड पिन्टरको भनाइ मलाई निकै मर्मस्पर्शी लाग्छ । लोकतन्त्रका नाममा पाखण्ड, मानवताका नाममा पाखण्ड, मानवीय संवेदनाका नाममा पाखण्ड, जनताका नाममा पाखण्ड । हाम्रा अगाडि पाखण्डै पाखण्ड छ र हामीलाई यही नै सत्य हो कि जस्तो लाग्छ । हामी आफ्नै माटोलाई हेरौँ, हामी पाखण्डले राज गरिरहेको समयमा छौँ । एउटा भन्नु अर्को गर्नु, जनता सर्वोपरि हुन् भन्नु तर व्यवहारमा उल्टो गर्नु नै त पाखण्ड हो । धोकाको पर्याय हो पाखण्ड, यही त छ हाम्रा अगाडि । यसैलाई भोगिरहेछौँ हामी र घाइते छौँ । हाम्रा आवाज बेवास्ताका सिकार छन् । स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा र सौन्दर्य मर्दै छन् । संसारमा उज्यालो पनि त छ, यो अघिल्तिर नै बढिरहेछ, कतै यस्तो विश्लेषण एकपाखे त हुँदैन भन्ने लाग्न सक्छ । ठिक हो, संसार अघिल्तिर बढिरहेछ । संसारमा अँध्यारो मात्र होइन, उज्यालो पनि छ । यसको गीत पनि गाउन सकिन्छ, गाउनुपर्छ तर आजको यथार्थ ह्यारोल्ड पिन्टर, जोसे सारामागो र मार्गरेट एडवुडका शब्दमा बोल्छन्; पुँजीपति, व्यापारी, शक्ति र सम्पत्तिका लोभी एवं आलोचनात्मक विवेक सकिएकाहरूको भाषामा होइन । 

आतङ्कवाद पनि त्यसै जन्मिएको होइन नि ! आधिपत्यको चाहना; स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अतिक्रमण; संसारलाई आफ्नो औँलामा नचाउने प्रवृत्ति; अन्य सभ्यता र संस्कृतिप्रतिको चरम असहिष्णुता र सांस्कृतिक वर्चस्वको विस्तार ‘आतङ्कवाद’को जन्मको आधार र प्रेरक रहेका छन् ।

आजको कुरूप यथार्थप्रति हामी जति आलोचनात्मक हुनुपर्ने हो छैनौँ, विश्व छैन । अक्षरको प्रतिरोध मात्र होइन, सडकको प्रतिरोध पनि कम छ । प्रतिरोध व्यापक र बलियो हुनुपर्थ्यो, परिणाम निस्कने गरी विरोधका आवाज पोखिनुपर्थ्यो तर यथार्थ त्यस्तो छैन । प्यालेस्टाइनलाई हेरौँ, गहिरा पीडा छन् त्यससँग । नरसंहार चलिरहेको छ, भूमि अतिक्रमण बढिरहेको छ । भोकले, कुपोषणले, रोगले, सन्तापले, बमले, गोलीले मर्दै र मारिँदै गरेका मानिसका चित्र हाम्रा अघिल्तिर छन् । रुस–युक्रेन युद्धले निर्माण गरेको त्रासदी छ हाम्रा अगाडि । अशोक बाजपेयीका शब्दमा भनु भनेँ प्यालेस्टाइनीहरूमाथिको इजरायली अत्याचारले दोस्रो विश्वयुद्धमा नाजीहरूद्वारा प्रदर्शित क्रूरतालाई पनि बिर्साएको छ । हामीले यस यथार्थलाई साहित्यमा कति अभिव्यक्ति दिएका छौँ ? संसार कति बोलेको छ हाम्रो साहित्यमा ? गाजा मानवताका पक्षमा बोल्न र नरसंहारका विरुद्धमा उभिन आह्वान गरिरहेछ तर स्रष्टाहरू बोल्नुपर्ने जति बोलेको पाइँदैन, रुस–युक्रेन युद्ध दुख्नुपर्ने जति दुखेको देखिँदैन । प्रतिवाद भएको छ तर अपर्याप्त । लोकतन्त्र, मानवता, मानवीय संवेदना र गरिमाको सबैभन्दा बढी कुरा गर्नेहरू नै मुस्लिम आतङ्कवादका नाममा सोझो–घुमाउरो नरसंहारलाई सघाइरहेका छन् । 

सोच्छु— सामान्य प्यालेस्टाइनी जनता, अबोध बालबालिका, गृहिणी र वृद्धहरू कसरी आतङ्कवादी हुन सक्छन् ? आफ्नो भूमिबाट निर्वासित गर्ने अधिकार कसलाई छ ? आफ्नो देश र पहिचान खोज्नु, सभ्यता र संस्कृतिलाई जोगाउन चाहनु, शान्ति र न्यायका पक्षमा उभिनु र आफ्नो इतिहास स्मरण गर्नु आतङ्कवादी हुनु हो र ? हमासका नाममा गरिएको नरसंहारलाई उचित ठह¥याउन सकिन्छ र ? आतङ्कवाद पनि त्यसै जन्मिएको होइन नि ! आधिपत्यको चाहना; स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रीय अखण्डताको अतिक्रमण; संसारलाई आफ्नो औँलामा नचाउने प्रवृत्ति; अन्य सभ्यता र संस्कृतिप्रतिको चरम असहिष्णुता र सांस्कृतिक वर्चस्वको विस्तार ‘आतङ्कवाद’को जन्मको आधार र प्रेरक रहेका छन् । बाहिरको कुरालाई एकछिन बिर्सौं, हामी नेपाली स्रष्टालाई नै प्यालेस्टाइन त्यति दुखेजस्तो लाग्दैन । धेरै हामी मौन छौँ । बर्बरताप्रतिको मौनता छक्कलाग्दो छ । सायद पश्चिमी भाष्यबाट हामी पनि प्रभावित छौँ । सायद हाम्रा आँखामा हमास र ‘प्रोक्सी युद्ध’ लड्नेहरू मात्र छन् । हाम्रो मात्र होइन, संसारकै मौनता छक्कलाग्दो लाग्छ मलाई । सोच्छु— मौन रहनु पनि अरुन्धती रोयका शब्दमा बर्बरतालाई सघाउनु हो । प्यालेस्टाइनमा भएको नरसंहारकै सन्दर्भमा उनले भनेको कुरा हो यो । प्यालेस्टाइनमाथि इजरायली सत्ताले जे गरिरहेछ, त्यो मानवताका विरुद्धमा छ । यस्तो बर्बरता र क्रूरता इतिहासमा कमै पाइन्छ भन्ने लाग्छ मलाई । 

हामी कठिन समयमा छौँ । समयलाई कठिन मनुष्यले नै बनाउँछ । हामीले भोग्दै गरेको कठिन समय आम मानिसद्वारा निर्मित कठिन समय होइन । सत्ता र शक्तिमा रहनेहरूले समयलाई कठिन बनाएका छन् ।

टोनी मोरिसिन संसारमा अझै पनि विभेद देखिन्छ र इतिहास अँध्यारोको घाउ बोकेर बाँचेको छ भन्छिन् । यस्तो यथार्थका बिच मनुष्यलाई मनुष्यत्वबाट च्युत गर्ने, उसलाई आत्ममुग्ध र आत्मकेन्द्रित मनुष्यमा रूपान्तरित गर्ने, श्रम र सिर्जनामा विश्वास होइन कामुक र खन्चुवा बनाउने उत्सव चलिरहेछ । हाम्रा अगाडि सूचना, प्रविधि र बजारको विशाल जालो छ । ती मानिसलाई मानिस होइन वस्तु बनाउने सामग्री पस्किरहेछन् । सञ्चारको मायावी संसारमा प्रवेश गरेपछि मेरा आँखामा अर्कै मनुष्यको चित्र आउँछ— आत्ममुग्ध, गाउँदै–नाच्दै–खाँदै गरेको मनुष्यको चित्र । सामाजिक सञ्जाल अझ अगाडि छन् यसमा । यस्तो लाग्छ— संसारमा दुःख छैन, अन्याय र उत्पीडन छैन, जे छ सब ठिक छ, सबै ठिकठाक चलिरहेछ । मनुष्यको बन्दै गरेको यो छवि साँच्चिकै डरलाग्दो लाग्छ मलाई । उपभोक्तावादी पर्यावरणले आम मानिसलाई मात्र होइन, स्रष्टाहरूलाई पनि प्रभावित गरिरहेछ । 

आत्मकेन्द्रित, आत्ममुग्ध र उपभोक्तावादी बन्दै गएको मनुष्यका निम्ति मानवता महत्त्वपूर्ण हुँदैन; स्वतन्त्रता, समानता, सामाजिक न्याय र मानवीय गरिमाले ठुलो अर्थ राख्दैनन् । मानवताका विरुद्धमा उभिने सत्ताहरू यस्तै मनुष्य चाहन्छन् । पुँजीले चाहने मनुष्य पनि यस्तै हो । पुँजीको एउटा चरित्र युद्ध, बर्बरता र वर्चस्व पनि हो । आजको यस कुरूप यथार्थबाट हाम्रो कलम पनि कम–बेसी प्रभावित छ । कुरूपको प्रतिवादका निम्ति वामपन्थी भइराख्नपर्दैन, केही नभएर पनि प्रतिवाद गर्न सकिन्छ । आफ्नो माटो र बाहिरका लेख्नुपर्ने धेरै विषय छन् हामीसँग । साहित्यमा समयको प्रतिविम्बनको अर्थ यी सबैबारे बोल्नु हो । चिनुवा अचिबेले भनेजस्तै संसार अझै पनि असमानता र अन्यायबाट मुक्त छैन । हाम्रो मुलुक पनि यसको अपवाद छैन । आफ्नो रचनामा समयको सार्थक अभिव्यञ्जनाका निम्ति स्रष्टा यी सबैका विरुद्धमा उभिनु सक्नुपर्छ । कुरूपको अन्त्यको चाहना र सुन्दरको भोक नै नभएपछि स्रष्टाजस्तो स्रष्टा कसरी भइन्छ र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अमर गिरी
डा. अमर गिरी
लेखकबाट थप