सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देश खोज्न परदेश जान नपरोस्

आइतबार, १५ भदौ २०८२, ११ : ०१
आइतबार, १५ भदौ २०८२

देश भनेको केवल भूगोल र सिमानाले मात्र घेरिएको निश्चित क्षेत्रफल होइन । देश भनेको त नागरिक, सभ्यता, भाषा,  संस्कृति, परम्परा, चाडपर्व आदिको समष्टि रूप हो । वर्तमान समयमा नेपालको बाह्य बसाइँसराइको तीव्र दरलाई हेर्दा अबको केही वर्षपछि नेपाल आफ्नो सिमानाभित्र भन्दा बाहिर धेरै भेटिने हो कि भन्ने डर लाग्दै छ । 

कुनैबेला ठुला चाडपर्व आउँदा छोराछोरीहरू गाउँघर र देश फर्कनेको ओइरो र भिडभाड हुन्थ्यो भने अहिले त चाडपर्व मान्न नेपालका बुवाआमा नै परदेश जाने प्रचलनको सुरुवात भएको छ । विदेशका सन्ततिले खर्च बचतको दृष्टिकोणले नेपाल फर्कनुभन्दा बुवाआमालाई आफू बसेकै देशमा बोलाउँदा सस्तो हुन्छ भनेर बोलाइरहेका हुन्छन् । 
नेपाली डायस्पोरामा अहिले सामूहिक रूपमा चाडपर्व मान्ने, रमाइलो गर्ने, धार्मिक प्रवचन सुन्ने, साङ्गीतिक कार्यक्रम गर्ने परम्परा असाध्यै बढ्दै गएको छ । नेपालीभूमिबाहेक अन्य सम्पूर्ण नेपालीपन र स्वादका प्रकार विदेशतिर फैलिरहेका छन् । नेपाल विश्वमा छरिनु र चिनिनु राम्रो पक्ष होला तर देश नै रित्तिएर बाहिरिनु पक्कै पनि सकारात्मक र सुखद पक्ष होइन । नेपालीको सङ्ख्या परदेशका सहरसहरमा बढ्दै गएर नेपालका दलका भ्रातृ सङ्गठन समेत निर्माण हुन थालेका छन् । यतिसम्म कि विभिन्न राजनीतिक दलका नेता भोट माग्दै चुनाव प्रचार गर्न विदेशतिरै धाउन थालेका छन् ।

सबै आप्रवासी नेपाली मतदान गर्न स्वदेश नफर्के पनि नेपालमा रहेका परिवारको मतको मूल साँचो प्रवासीकै हातमा भने रहेको देखिन्छ । अहिलेको विश्वव्यापीकरणको युगमा विदेश जानु अनि स्वदेश फर्किनु स्वाभाविक प्रक्रिया हो तर बिदेसिएको यो मात्राले भोलि कतै देश नै रित्तिने अनि देश खोज्न परदेशतिर जानुपर्ने त होइन भन्ने अनुमान र आशंका उब्जिन थालेको छ । 

करिब एक दशककै अन्तरालमा पनि पहिले विदेशतिर फाट्टफुट्ट नेपाल भेटिन्थ्यो भने अहिले त ठुलै नेपाल भेटिन थालेको छ । आज नेपालका के गाउँ के सहर जताततै रित्तिनेको सङ्ख्या अत्यधिक बढिरहेको छ । आज नेपालका गाउँमा धमाधम विकासका पूर्वाधार पुगिरहेका छन् । विद्यालय, स्वास्थ्यचौकी, बाटोघाटो गाउँगाउँमा पुगेका छन् तर गाउँ छोड्ने र देशै छोड्ने सङ्ख्याको मात्रा दिनहुँ बढिरहेको छ । चलनचल्तीको भाषामा के मर्‍यो भन्नु भन्दा पनि काल पल्क्यो भन्ने डरलाग्दो समस्या देखिएको छ ।

परदेशमै पल्लारे, तल्लारे, सल्लारुखे, चिउरीका बारीको छिमेकी,  काकाकाकी, भान्जाभान्जी, आफन्त, इष्टमित्र र साथीहरू सबै भेटिन थालेका छन् । हरेक नेपालीको घरबाट कम्तीमा एकजना देशबाहिर छन् । प्रायःजसो विदेशमा रहेका नेपालीका घरमा एउटा पुस्ता मात्र होइन, तीन पुस्ता नै भेटिन्छन् । कुनै चाडपर्व आउँदा नेपालको घरमा भन्दा परदेशको घरमा जमघट हुने नेपालीको सङ्ख्या अत्यन्तै बढ्दै गएको छ । विदेशतिर स्वदेशको सबै किसिमको झल्को देखिन थालेको छ । 

हरेक नेपालीको घरबाट कम्तीमा एकजना देशबाहिर छन् । प्रायःजसो विदेशमा रहेका नेपालीका घरमा एउटा पुस्ता मात्र होइन, तीन पुस्ता नै भेटिन्छन् । कुनै चाडपर्व आउँदा नेपालको घरमा भन्दा परदेशको घरमा जमघट हुने नेपालीको सङ्ख्या अत्यन्तै बढ्दै गएको छ ।

विश्वका करिब १३० मुलुकमा नेपाली छरिएका छन्, कतिपय देशमा साथीभाइसँग मेरो कुरा हुन्छ ।  मजदुरी र रोजगारीका लागि सबैभन्दा धेरै नेपाली भारतमै छन् । भारतमा करिब ४०/५० लाख नेपाली रहेकोे अनुमान गरिन्छ । कतार, साउदी अरेबिया, युएई, कुवेत, बहराइन, ओमान, मलेसिया आदि देशमा लाखौँ नेपाली रोजगारीका लागि बसोबास गर्छन् । त्यस्तै स्थायी, अस्थायी र अध्ययनका लागि अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, जर्मनी, पोर्चुगल, नेदरल्यान्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड, जापान, दक्षिण कोरिया आदि देशमा लाखौँ नेपाली बसोबास गर्छन् । नेपालमा २०७८ सालको जनगणना अनुसार पनि पाँच लाख बस्नयोग्य घर खाली छन् भनिएको छ ।

घर छाडेर बिदेसिनेहरू फर्कने सम्भावना अत्यन्तै न्यून हुँदै गएको छ । विभिन्न समाचार माध्यम अनुसार करिब एकतिहाइ नेपाली देश बाहिर छन् भनिएको छ । देशका मुख्य जनशक्ति भनेका अधिकांश युवा बाहिर नै छन् । अहिले हाइस्कुल उत्तीर्ण गरेका विद्यार्थी नेपाल बस्न चाहँदैनन् । त्रिभुवन अन्तर्र्राष्ट्रिय विमानस्थलबाट दैनिक करिब २५ सय युवा अध्ययन र रोजगारीका लागि बाहिरिएका छन् । विश्वको तथ्याङ्क नै हेर्ने हो भने विश्वमा अन्तर्राष्ट्रिय आप्रवासीको सङ्ख्या करिब चार प्रतिशत मात्र छ तर नेपालीको यो सङ्ख्या भनेको अत्यधिक नै हो । राज्य रेमिट्यान्समा मख्ख भएर यही तरिकाले बसिरहने अनि समयमै यस्तो गम्भीर विषयमा उपाय खोजेन भने अबको केही वर्षमै नेपालको ठुलो जनसङ्ख्या देश बाहिर नभेटिएला भन्न सकिँदैन । 

अहिलेको युवापङ्क्ति यसरी बाहिरिनुको पहिलो कारण भनेको उपयुुक्त अवसरको खोजी र बेरोजगारी समस्या नै हो । नेपालमा न आज रोजगार छ न भोलि यति वर्षभित्र पाइएला भन्नु नै छ अनि बाध्य भएर देश छाड्नुपर्ने अवस्था छ । अहिलेको २१औँ शताब्दीमा प्रविधिको तीव्र विकास र विस्तारका कारणले युवाले नेपालमै बसेर संसारमा के भइरहेको छ भनेर बुझिरहेका हुन्छन् । उनीहरूले सबैभन्दा राम्रा अवसर कहाँ पाइन्छन् भनी अध्ययन गर्छन् अनि ती कुरा नेपालमा पाउन सक्दैनन् र सम्भावना पनि देख्दैनन् अनि विदेश पलायन भइरहेका छन् । आजका नेपाली युवाले नेपालका समाचारका हेडलाइनमा देशको प्रगति, उन्नति, विकास र समृद्धिका बारेमा केही राम्रा कुरा सुन्न र पढ्न पाउँदैनन् अनि निराश भएर विदेश जान बाध्य छन् । हरेक दिनजसो सरकारका जिम्मेवार व्यक्ति नै अनियमितता, कुशासन, भ्रष्टाचारमा लिप्त भएका समाचारै समाचार आउँछन् । सरकार सधैँभरि अनावश्यक र नचाहिने फोहोरी खेलमा अलमलिरहेको देख्ने हुनाले युवाले देशमा केही सम्भावना देख्दैनन् । सरकार युवालाई कसरी विश्व सुहाउँदो गुणात्मक र प्राविधिक शिक्षा अनि रोजगार दिन सकिन्छ भनेर कुनै दिन चिन्ता, चिन्तन र बहस गरेको सुनिँदैन । यसैले पनि युवाले देश छाडिरहेका छन् । देश आफ्नो भूगोल र सिमानाभित्र साँघुरिरहेको छ भने बाहिर विस्तार भइरहेको छ । 

आज देशका सम्पूर्ण सरकारी अङ्ग राजनीतिक विकृतिको प्रभावले सुस्त र प्रायः निष्क्रिय नै छन् । जनतामा निराशा मात्र देखिन्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मले समय सुहाउँदो गुणात्मक शिक्षा दिन सकेका छैनन् । विश्वविद्यालयहरू आकर्षक बन्न सकेका छैनन् । देशको सबैभन्दा ठुलो र पुरानो विश्वविद्यालय प्राध्यापक, विद्यार्थी र कर्मचारीको आन्दोलनका कारण वर्षमा नौ महिना तालाबन्दीको मारमा पर्छ । अनि विद्यार्थी देशमा बसेनन् भनेर के गुनासो गर्नु ? राजनीतिक नेतृत्व, सरकार, कर्मचारी प्रशासन र जनप्रतिनिधिहरू नै विश्वासी, जवाफदेही र उत्तरदायी बन्न सक्दैनन् भने देश कसरी बन्छ र युवाहरू कसरी देशमै अडिन सक्छन् ?

देश बनाउन नेतृत्वमा इच्छाशक्तिका साथै इमानदारिता र जनताको विश्वास चाहिन्छ । हरेक दल आन्तरिक कलह र गुट–उपगुटमा अलमलिएका छन् । राजनीतिक दलहरूमा एकअर्काप्रति कसैलाई कसैको विश्वास नै छैन । नेपालको राजनीतिमा एउटा डरलाग्दो समस्या भनेको राजनीतिलाई पेसा बनाइएको छ । दललाई कार्यकर्ता पाल्ने बाध्यता छ । सरकारी नियुक्तिमा राम्रोभन्दा पनि हाम्रोलाई छानिन्छ । अनि त्यही हाम्रैबाट लेनदेन, घुसपैठका काण्ड सुरु हुन्छन् । सबैको नजर देशको ढुकुटी कसरी कुम्ल्याउने भन्नेमै समय बितिरहेको छ । खाने र लुट्ने कुरामा सबै एकमत हुन्छन्, अनि कतै भाग पुगेन भनी क्षणभरमा तँ–तँ र म–मको लडाइँ सुरु गर्छन् । रात रहुन्जेल सँगै स्वर्ग र मत्र्यका कुरा गर्छन् अनि उज्यालो हुँदा उत्तरपन्थी, दक्षिणपन्थी र अवसरवादी भन्दै तथानाम गालीगलौज गरिरहेका हुन्छन् । दलाल र बिचौलियाको गुपचुप र स्वार्थबाट रातारात सरकार फेरिन्छन् । यस्तो अवस्थामा देश कसरी बन्छ ? अहँ, यही तरिकाले देश बन्दैन । अनि युवाले विदेश जाने निष्कर्ष निकाल्नुपर्ने स्वाभाविकै देखिन्छ । 

संविधान र कानुनमा कानुनी राज्य हुनेछ भनेर के गर्नु, जसले कानुनको कार्यान्वयन गराउनुपर्ने हो, उसैले कानुनको बारम्बार उल्लङ्घन गरिरहेको हुन्छ । जो नेतृत्वमा छ र जो जवाफदेही हुनुपर्ने हो उही बकम्फुसे अराजनीतिक गफमा समय बर्बाद गर्छ भने देश कसरी बन्छ ? एक त अहिलेका नेतृत्वमा देश बनाउने भन्ने कुनै भिजन र सपना नै छैन । यिनीहरू पटकपटक प्रयोगमा आएर असफल प्रमाणित भएका पात्र हुन् । राज्यलाई व्यक्तिगत सम्पत्ति जस्तो बनाएर पालो बाँडेर शासन गर्ने यी अक्षम पात्र रहुन्जेल यो देशमा केही नयाँ हुनै सक्दैन । यिनीहरूमा देश कसरी बनाउनुपर्छ भन्ने ज्ञानै छैन । योजना र सपनाविना बकम्फुस गफले देश बन्दैन । यो कुरा अहिलेको पुस्ताले राम्रैसँग बुझेको छ र अब देशमा यिनीहरूबाट केही हुनै सक्दैन भनी बिदेसिन बाध्य भएको छ । 

आज बिदेसिएको ठुलो जनशक्तिले पनि देशमा फर्कने आधार खोजिरहेको छ तर उपयुक्त आधार देख्दैन । आफ्नो जन्मभूमिलाई भावनात्मक रूपमा माया गर्नु अलग कुरा होला । देशमा फर्कनका लागि भविष्यको आधार त उसले देखेको छैन । अहिलेको जेन–जी पुस्ता यति चलाख छ कि क्षणभरमा संसारभर कहाँ के छ भन्ने पत्ता लाएर छाड्छ र ऊ लामो समय पर्खने पक्षमा छैन । गफले चिउरा भिज्दैनन् भनेजस्तै अबको निश्चित समयमा देश यसरी बन्नेछ भनेर न राज्यले विश्वास दिलाउन सक्छ, न त युवाले कुनै आधार देखेका छन् ? अहिले देशको अर्थतन्त्र खोक्रो छ, उद्योग कलकारखाना छैनन्, भएका संरचनाहरू निर्धा र अविश्वासिला छन् अनि यस्तो अवस्थामा रोजगारी कसरी सिर्जना हुन्छ भनेर आशा गर्ने ठाउँ छ र ? युवाहरू देशमा कसरी बस्ने र आप्रवासी के आधारले फर्कने भन्ने अत्यन्तै संवेदनशील निरुत्तर प्रश्न छन् । अहिले राज्यले यी प्रश्नको उत्तर जतिसक्दो चाँडो खोज्नुपर्छ । 
बाहिर बसेर देश खत्तम भयो, देशमा केही छैन भन्दै लेख्ने भनेर गाली र आरोप त लागिरहेको छ तर नेपालको वास्तविकता यही नै हो । वास्तविकता भन्दा वा लेख्दा केहीलाई नपचेको मात्र हो । अहिले नै देश खतम र बर्बाद भयो भनेर भनेको होइन कि खतम र बर्बादको बाटो अवलम्बन गरिरहेको छ । अहिलेकै बाटो परिवर्तन नगरे र यही रफ्तारमा जाने हो भने नेपालको ठुलो भाग खोज्न विदेश जान धेरै समय पर्खनुपर्दैन । मेरो देश समृद्ध बनोस्, देश देशभित्रै भेटियोस् भन्ने चाहना हरेक नेपालीको हुन्छ । एकथरीले बाहिरिएको जनशक्तिलाई अलि तुच्छ तरिकाले हेपेको पनि देखिन्छ । सबैले यति कुरा हेक्का राख्नुपर्छ कि भित्रकालाई भन्दा बाहिरकालाई नेपाल कम प्यारो छैन । 

मानिस एकठाउँबाट अर्को ठाउँमा बसोबास गर्ने कुरा नयाँ होइन । यो मानव सभ्यताको विकासक्रमसँगै सुरु भएको हो । मानिस इतिहासदेखि नै नयाँ कुरा खोजी गर्न, राम्रो अवसर पाउन बसाइँसराइ गरिरहेको छ तर अहिलेको यो नेपालको बाह्य बसाइँसराइको दर अत्यन्तै ज्यादा हो भनेर धेरै अनुसन्धानबाट पुष्टि भएको कुरा हो । नेपालका युवालाई देशभित्र रोक्न धेरै उपाय छन् । कृषिमा आधुनिकीकरण र व्यावसायीकरण गरिनुपर्छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गरी बाहिरी देशबाट आयातित तरकारी, फलफूल, खाद्यान्न, जडीबुटीलाई बन्देज नै गर्नुपर्छ । स्थानीय उत्पादनको बजारको जिम्मा स्थानीय सरकारले लिनुपर्छ ।

कृषिलाई मात्र प्राथमिकता दिएर गाउँगाउँमा रोजगार नै सिर्जना गर्ने हो भने बसाइँसराइ धेरै मात्रामा रोकिन्छ । सुविधासम्पन्न विद्यालय मात्र बनाएर होइन कि विद्यालयमा गुणात्मक, व्यावसायिक र प्राविधिक शिक्षाको व्यवस्था गरिनुपर्छ । विश्वविद्यालय गुणात्मक दृष्टिकोणले आकर्षक बनाइनुपर्छ । स्थानीयदेखि केन्द्रका सरकार विश्वासिलो र जनउत्तरदायी हुनुपर्छ । स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग र कलकारखाना स्थापनाका लागि प्रोत्साहन र सहुलियत प्रदान गर्नुपर्छ । देशमा राजनीतिक स्थिरता, सक्षम नेतृत्व, भ्रष्टाचारको अन्त्य हुनुपर्छ । जनताले पनि आवधिक निर्वाचनमा क्षणिक स्वार्थ र लोभमा नपरी र नबिकी सक्षम नेतृत्वलाई निर्वाचित गराउनुपर्छ । यी कुरा कार्यान्वयन गर्ने हो भने देशले काँचुली फेर्न सक्छ, अनि देशभित्रै सबै देश भेटिन्छ । अन्त्यमा, देश देशभित्रै रहोस्; परदेशतिर देश खोज्न जान नपरोस् । 
(भर्जिनिया, अमेरिका)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेन्द्र पन्थी
राजेन्द्र पन्थी
लेखकबाट थप