शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

राकेश कार्कीका तीन कविता

आइतबार, १५ भदौ २०८२, १६ : ४०
आइतबार, १५ भदौ २०८२

१) महोदयज्यू, अब कहिले हो त मुन्टो हल्लाउने ?


ललिपप देखाउने
कहिले फकाउने कहिले फुल्याउने
महोदयज्यू,
अब कहिले हो त मुन्टो हल्लाउने ?

कहिले छुमन्तरले
पर तल हुलमै मिसाउने
कहिले रातो दलेर
नजिक माथि समानान्तर बसाउने
होला होला जस्तो पारी
लामै कानेखुसी गरेर भुल्याउने
महोदयज्यू,
अब कहिले हो त मुन्टो हल्लाउने ?

असम्भव बाटोबाट
कोहीलाई कल्पनाको टुप्पामा पुर्‍याउने
तुरुन्तै जमिनमा पछारेर
अर्कोलाई आफ्नै पक्षमा सुर्‍याउने
दिन्छुझैँ गरी चखाउने
कहिले जुधाउने कहिले उल्याउने
महोदयज्यू, 
अब कहिले हो त मुन्टो हल्लाउने ?

नमान्ने आफैँ चाउरिने
झुके, पछि लागिराख्ने गराउने
अगुवा नै चिप्लेपछि
कराउने सबै चुपचाप हराउने
आधी बितिसक्यो
अब आधी त यसै गरी झुल्याउने
महोदयज्यू, 
अब कहिले हो त मुन्टो हल्लाउने ?

बिरालाको घाँटीमा
अब कल्ले हो त घन्टी लगाउने
महोदयज्यू, 
अब कहिले हो त मुन्टो हल्लाउने ?
००
२) दुःख छ र त आँसु छ

दुःख छ र त आँसु छ
नभए दुःखमा के बगाउने
तिम्रो–मेरो र हामी सबैको दुःखमा
त्यही आँसु छ बर्बर झरेर साथ दिने ।

तर जसले दुःख पर्दा 
अप्ठेरो पर्दा
माया गरेर सहयोग गर्छ
उसैलाई तिरस्कार गरिन्छ
यो दुनियाँमा यस्तै छ
मतलबी मानिस । 

त्यसैले त
बगेर गएपछि 
खोजिँदैन त्यो आँसुलाई
कसले त्यो आसुलाई बिचारा भन्ने ?

रुने पनि त केवल 
झारिरहन्छ त्यो आँसुलाई
न त रुनेले नै कठै भन्छ
त्यो आँसुलाई ।

सुँक्क–सुँक्क गरे पनि
घ्वाँ–घ्वाँ डाँको छाडी रोए पनि
रुनेलाई सुर्ता छ त
केवल उसको दर्दको
उसको व्यथाको
उसलाई सुर्ता छैन
उसलाई माया छैन
उसलाई सधैँ दुःखमा साथ दिने
दुई आँखाबाट 
कहिले रसाइरसाई 
कहिले बर्रर झर्ने 
त्यो आँसुको ।

विचरा त्यो आँसु
एकैछिन पनि रहन पाउँदैन
पुछिदिइहाल्छन्
औँलाका टुप्पाहरूले
हत्केलाहरूले
लुगाको फेरोले
गोजीमै पुछ्न तयार राखेका
रङ्गीचङ्गी रूमालहरूले ।

यो कस्तो सम्बन्ध हो
दुःखीलाई चाहिँ आँसुले 
सधैँ साथ दिने
तर त्यस्तरी मुटु चर्चरी चिरिएर
छाती पिटीपिटी रुँदा पनि 
सधैँ उपस्थित भएर साथदिने आँसुलाई
रुनेले नै मतलब नगर्ने
हतार–हतार पुछन् खोज्ने
लुकाइलुकाई पुछ्न खोज्ने
कहिले गालैमा सुकाइदिने
कहिले तकियामै भिजाइदिने
एकछिन पनि आफूसँग रहनै नदिने ।

त्यसैले यस्तो लाग्छ
रुनेको त दुःख
आँसुले बुझिदिने
तर 
आँसुको दुःख
कसले बुझिदिने
००

३) समय नै कहाँ छ र !

अब गहिराइमा
पुग्ने 
जाने
बुझ्ने
खोज–तलास गर्ने
समय नै कहाँ छ र !

सबैको आ–आफ्नै व्यस्तता छ
सतह–सतह यसो
छाम्ने
थाहा पाएजस्तो गर्ने
बुझेजस्तो गर्ने
भेटेजस्तो गर्ने ।

राम्रो अक्षरमा लेख्थे
अब औँला चलाउँछन्
किताब पढ्थे
अब सप्पै ई भएछन्
ती सिलोट र खरी
अझ पाटी र कमेरोको मसी

इतिहास भएछन् ।

सामानसँग साटिने सामान
पैसासँग साटिन थाले
अहिले त
‘समय नै पैसा हो’ भन्छन्
अनि त 
अरूलाई दिन
समय नै कहाँ छ र !

समयले मानिसलाई
बाँधेको छ
लादेको छ
लोभ्याएको छ
दलेको छ
सङ्क्षेपमा गुलाम बनाएको छ
त्यसैले समयको सँगसँगै दौडिने मानिससँग
समय नै कहाँ छ र !

छोराछोरीलाई दिने समय
चाइल्ड केयरसँग
बुढाबुढीलाई दिने समय
सिनियर होमसँग
कति–कति घर–परिवारलाई दिनुपर्ने समय
ओभर टाइमसँग

अब त 
मिलिक्क 
झिलिक्क
पिलिक्क 
चाहिन्छ सबैथोक ।

त्यसैले सबैजना
गरेको गर्‍यै
दौडेको दौडै
हात, गोडा, कान, आँखा, मुख, दिमाग
चलाको चलायै
एउटा मेसिनजस्तो
एउटा रोबोटजस्तो
यसो 
सुस्ताउने
रमाउने
आनन्द मान्ने
समय नै कहाँ छ र !
(लस एन्जेलस) 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप