बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

रौतहटमा मोबाइल चोरी आरोपमा युवकमाथि निर्घात कुटपिट, उपचार क्रममा मृत्यु

चार जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता
आइतबार, १५ भदौ २०८२, २० : ४८
आइतबार, १५ भदौ २०८२

सारांश

  • रौतहटमा मोबाइल चोरीको आरोपमा कुटपिट गरिएका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ।
  • घटनामा संलग्न चार जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ, जसमा एक जना पक्राउ परेका छन्।
  • पीडित परिवारले झुठो आरोपमा कुटपिट गरी हत्या गरिएको भन्दै न्यायको माग गरेका छन्।

रौतहट । रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरमा मोबाइल चोरी गरेको झुठो आरोपमा निर्मम कुटपिटमा परेका एक दलित युवकको उपचारका क्रममा मृत्यु भएको छ । कुटपिटमा संलग्न चार जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।

३० वर्षीय नसिब बैठालाई गत साउन १६ गते बेलुकी गाउँकै पसलमा बसिरहेका वेला स्थानीय संजय यादव, विजय यादव, गर्भु गोसाइँलगायतको समूहले मोबाइल चोरीको आरोप लगाउँदै कुटपिट गरेका थिए । आरोप अस्वीकार गरेपछि उनलाई घरसम्म पठाइए पनि भोलिपल्ट सोही समूहले घरमै पुगेर आँखामा पट्टी बाँध्दै करिब ३०० मिटर टाढा लगेर रूखमा उल्टो बाँधेर साइकलको चेन, बेल्ट, हात र मुक्काले निर्मम तरिकाले कुटपिट गरेको पीडित परिवारको भनाइ छ । 

लगातारको कुटपिटपछि अवस्था गम्भीर बनेका बैठालाई इलाका प्रहरी कार्यालय कटहरियामा ल्याएर पञ्चायती गर्दा निर्दोष ठहर भए पनि स्वास्थ्य झन बिग्रँदै गएपछि उनलाई वीरगञ्जस्थित स्पर्श मल्टिस्पेसालिटी हस्पिटलमा भर्ना गरिएको थियो । करिब २० दिन उपचारपछि भदौ ११ गते उनको मृत्यु भएको परिवारले जनाएको छ ।

मृतककी आमा सुनैना देवी बैठाले भदौ ११ गते इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा गर्भु सरभङसहित चार जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले बताएका छन् ।

संलग्नमध्ये गर्भुदयाल सरभङलाई पक्राउ परेको छ भने अन्य फरार आरोपीको खोजतलास भइरहेको डीएसपी कार्कीले जनाएका छन् । घटनामा संलग्न अन्यको खोजी तथा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

पीडित परिवारका अनुसार मृतकलाई झुठा आरोपमा कुटपिट गरी हत्या गरिएको र अहिलेसम्म सबै संलग्नमाथि कारबाही नगरेको भन्दै उनीहरूले न्याय मागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप