दसैँका लागि कहाँ-कहाँ खुल्दैछन् सुपथ मूल्य पसल ?
काठमाडौँ । सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गर्नेछन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभरमा १११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । साल्ट ट्रेडिङले पनि देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
यी पसलबाट विभिन्न खाद्यान्न प्रतिकिलो २ रुपैयाँदेखि १० रुपैयाँसम्म छुट रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाले जानकारी दिए । ‘मन्त्रालयबाट निर्णय भइसकेको छ । अब यही भदौ ३० गतेबाट पसल सञ्चालन हुन्छ । उक्त पसलबाट २ रुपैयाँदेखि १० रुपैयाँसम्मको छुटमा खाद्यान्न खरिद गर्न पाउनेछन्,’ थापाले भने ।
उनका अनुसार कम्पनीले साउन २६ गते खाद्यान्नमा छुट गरिने मूल्य, सुपथ मूल्य पसल सञ्चालन गर्ने स्थानसहितको प्रस्ताव पठाएको थियो । यही भदौ ८ गतेको मन्त्रीस्तरको निर्णयअनुसार उक्त प्रस्ताव स्वीकृत भएको हो ।
खाद्यले कहाँ–कहाँ सञ्चालन गर्दैछ ?
खाद्य व्यवस्थाले कोशी प्रदेशमा ११ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्नेछ । जसअनुसार झापाको मुख्य शाखा कार्यालय बिर्तामोड, ताप्लेजुङमा शाखा कार्यालय ताप्लेजुङ, मोरङको प्रादेशिक कार्यालय विराटनगर, भोजपुरमा शाखा कार्यालय भोजपुर, संखुवासभामा शाखा कार्यालय संखुवासभा र हटियागोला बिक्री केन्द्र (भोटखोला गाउँपालिका), सोलुखुम्बुमा शाखा कार्यालय सोलुखुम्बु, ओखलढुंगाको शाखा कार्यालय ओखलढुंगा र कालिका खरिद बिक्री केन्द्र चम्पादेवी गाउँपालिकामा र खोटाङको शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

मधेस प्रदेशमा तीन स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । सिरहामा मुख्य शाखा कार्यालय लहान, धनुषामा प्रादेशिक कार्यालय जनकपुर र पर्सामा शाखा कार्यालय वीरगञ्जबाट सुपथ मूल्य पसल सञ्चालन गरिने जनाइएको छ ।
बागमती प्रदेशमा पाँच स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । काठमाडौँ उपत्यकामा थापाथली, रामशाहपथ दक्षिणकाली बिक्री केन्द्र, ललितपुरको नख्खु खाद्य गोदामबाट सुपथ मूल्य पसल सञ्चालन गरिनेछ । यसैगरी रसुवाको धुन्चे सदरमुकाममा यस्तो पसल सञ्चालन हुनेछ ।
गण्डकी प्रदेशमा ७ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । कास्कीको बिरौटा बिक्री केन्द्र, तनहुँको विमलनगर बिक्री केन्द्र, गोरखामा शाखा कार्यालय गोरखा र डिपो कार्यालय सिर्दिबास, लमजुङको सुन्दरबाजार खरिद बिक्री केन्द्र, मनाङमा शाखा कार्यालय मनाङ र मुस्ताङमा शाखा कार्यालय मुस्ताङबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
लुम्बिनी प्रदेशमा १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । रुपन्देहीमा भैरहवा र बुटवल हाटबजार, बाँकेमा मुख्य शाखा कार्यालय नेपालगञ्ज, दाङमा मुख्य शाखा कार्यालय तुलसीपुर, बर्दियामा मुख्य शाखा कार्यालय राजापुर र रोल्पामा शाखा कार्यालय लिवाङ, गुल्मीमा शाखा कार्यालय तम्घास र बलेटक्सार बिक्री केन्द्र रहनेछन् ।

रोल्पामा पतलाचौर खरिद बिक्री केन्द्र परिवर्तन गाउँपालिका, घर्तीगाउँ खरिद बिक्री केन्द्र माडी, सुलीचौर खरिद बिक्री केन्द्र र बडाचौर खरिद बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ । रुकुमपूर्वमा शाखा कार्यालयबाट यस्तो पसल सञ्चालन हुनेछ ।
कर्णालीका ४२ स्थानमा सुपथ मूल्य सञ्चालन गरिने भएको छ । सुर्खेतमा सिम्ता खरिद बिक्री केन्द्र, चौकुने खरिद बिक्री केन्द्र र पञ्चपुरी खरिद बिक्री केन्द्र, जाजरकोटमा शाखा कार्यालय जाजरकोट, दसेरा डिपो घोगी डिपो, नायक वडाघाट, चौखा डिपो, रजुतारा बिक्री केन्द्र, कालीमाडी खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।
जुम्लामा शाखा कार्यालय जुम्ला र धापा डिपोबाट सञ्चालन हुनेछ । मुगुमा शाखा कार्यालय मुगु, डिपो सोरुकोट, डिपो पुलु र श्रीकोट डिपोबाट सञ्चालन हुनेछ ।
दैलेखको शाखा कार्यालय दैलेख, नौमुले बजार खरिद बिक्री केन्द्र नौमुले, घोडाबास खरिद बिक्री केन्द्र, वेस्तडा बिक्री केन्द्र भगवतीमाई, राकम खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । यस्तै डोल्पाको शाखा कार्यालय दुनै, जुफाल डिपो, सर्मी डिपो, काईगाउँ त्रिपुराकोट बिक्री केन्द्र, साल्दाङ बिक्री केन्द्र, धो बिक्री केन्द्र, काककोट बिक्री केन्द्रबाट सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
रुकुमपश्चिममा शाखा कार्यालय रुकुमपश्चिम, कालीकोटमा शाखा कार्यालय कालीकोट, डिपो खल्लागाड, डिपो पादमघाट, डिपो थिर्पू, भैसासैना खरिद बिक्री केन्द्र, कुमालगाउँ र आरसीपी बजार खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । हुम्लामा शाखा कार्यालय हुम्ला, डिपो श्रगर, सर्केगाढ डिपो र यलवाङ बिक्री केन्द्र नाम्खाबाट सञ्चालन हुनेछ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका २८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यसमध्ये बझाङमा शाखा कार्यालय बझाङ, दौलीचौर खरिद बिक्री केन्द्र, थलारा खरिद बिक्री केन्द्र, भातेखोला र तलकोट खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।
कैलालीको धनगढी, डडेलधुराको खलंगा बजार, कन्चनपुरको शाखा कार्यालय महेन्द्रनगर, डोटीको खलंगा बजार र मौवानगर खरिद बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।
यसैगरी बाजुराको शाखा कार्यालय मार्तडी, डिपो कार्यालय कोल्टी, धुलाचौर बिक्री केन्द्र, बिच्छाया बिक्री केन्द्र र पाण्डुसैन बिक्री केन्द्र हुनेछन् ।
बैतडीको गोठालापानी र परचौडीहाट बिक्री केन्द्र, रोलेश्वर, आम्चौरा र दोगडाकेदार खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ । दार्चुलाको शाखा कार्यालय, सुनकेसरा बिक्री केन्द्र, हिकिला र खण्डेश्वरी खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।
अछामको शाखा कार्यालय मंगलसेन, सैनाबजार, साफेबगर र कमल बजार खरिद बिक्री केन्द्रबाट सञ्चालन हुनेछ ।
साल्ट ट्रेडिङको पसल कहाँ-कहाँ सञ्चालन हुन्छ ?
साल्ट टेडिङ कर्पोरेसन लिमिटेडले देशका ३८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । यसमध्ये काठमाडौँ उपत्यकामा कालीमाटी, सतुङ्गल, जावलाखेल, कोटेश्वर, सिफल, कपन, बालाजु, भक्तपुर सल्लाघारी, कौशलटार काँडाघारी, इमाडोल र महाराजगञ्जमा सुपथ मूल्य पसल सञ्चालन हुनेछ । यसैगरी तीनवटा घुम्ती पसल सञ्चालन गर्ने साल्ट ट्रेडिङले जनाएको छ ।
झापाको विर्तामोड, मोरङको विराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगञ्जमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
यस्तै नुवाकोटको त्रिशूली, मकवानपुरको हेटौँडा, चितवनको नारायणगढ, कास्कीको पोखरा, बागलुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङ, डडेल्धुरा, कैलालीको धनगढी, टीकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी र महेन्द्रनगर, डोटीको दिपायल, काभ्रेको धुलिखेल, सुर्खेत, बैतडीको पाटन, बाँके नेपालगञ्चमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
सुपथ मूल्य पसलमा कुन वस्तुमा कति छुट ?
खाद्यले सञ्चालन गर्ने सुपथ मूल्य पसलमा सबै किसिमका चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिइनेछ । यस्तै गहुँ दाना, चिनी, सबै किसिमका दाल र चना, भटमास, केराउ समेतका गेडागुडीमा प्रतिकिलो ५/५ रुपैयाँ छुट दिइनेछ ।

यस्तै चिउरा, आटा, पिठो, मैदामा पतिकिलो ७ रुपैयाँ छुट दिइनेछ । यस्तै जिरा, धनियाँ, चियापत्ती र जिउँदो खसी, बोका र च्याङ्ग्रामा प्रतिकिलो १०/१० रुपैयाँका दरले छुट दिइने जनाइएको छ ।
यसैगरी खाने तेल तोरी सनफ्लावर र भटमासको तेलमा ७/७ रुपैयाँ छुट दिइनेछ । रैथाने खाद्यवस्तुमा १०/१० रुपैयाँ छुट दिइने जनाएको छ । जसमा कर्णालीको सिमी, फापर दाना,चिनो, कागुनो, उवा र जुम्ली मार्सी तथा बासमतीमा रहेका छन् ।
यस्तै साल्ट ट्रेडिङबाट सञ्चालन हुने सुपथ मूल्य पसलमा नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा प्रतिकिलो ५ रुपैयाँ, तेल चिउरा, पिठो मैदा र दालमा प्रतिकिलो ७ रुपैयाँ छुट दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण