शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
रास्वपा नेता मधुकर अर्यालसँग संवाद

‘पाएको मतबारे अनभिज्ञ छु, डा. लेखजङ्गलाई भोट माग्न हामी सबै हिँड्छौं'

सोमबार, १६ भदौ २०८२, १९ : ००
सोमबार, १६ भदौ २०८२

काठमाडौँ । रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नौ जना आकांक्षीमध्ये प्राइमरी इलेक्सन विधिबाट डा. लेखजंग थापालाई उम्मेदवार चयन गरेको छ । यससँगै रास्वपाको प्राइमरी निर्वाचन प्रक्रिया र उम्मेदवार चयन भएका डा. थापाकै विषयमा पनि विभिन्न कोणबाट चर्चा भइरहेको छ । 

आकांक्षीमध्ये केहीले असन्तुष्टि नै सार्वजनिक गरिसकेका छन् । ३५ दिन लामो प्रक्रियाबाट उम्मेदवार छान्दा पनि किन असन्तुष्टिका स्वरहरु सुनिए ? उम्मेदवार छनोटका दौरान कुनै खेल पनि भयो ? उपनिर्वाचनमा रास्वपाको अवस्था कस्तो होला ? 

यिनै विषयमा केन्द्रित रहेर रुपन्देही क्षेत्र नम्बर ३ का रास्वपा क्षेत्रीय सभापति तथा आकांक्षी भएर पनि उम्मेदवार बन्न सफल नभएका मधुकर अर्यालसँग रातोपाटीकर्मी रोहित दाहालले कुराकानी गरेका छन् । प्रस्तुत छ, अर्यालसँगको कुराकानीको सम्पादित अंश :

तपाईं आकांक्षी हुनुहुन्थ्यो, तपाईंले टिकट किन पाउनुभएन ?

हाम्रो पार्टीमा छनोटका लागि एउटा निश्चित कार्यविधि थियो । म यस छनोट प्रक्रियामा नौ जना उम्मेदवारमध्ये एक थिएँ । मैले विभिन्न चरण पार गरेँ । तर मेरो अन्तिम योगफल कम आयो । त्यसैले मैले टिकट पाइनँ ।

तपाईंको पार्टी एकदमै लोकतान्त्रिक भनिन्छ । तपाईंले कति मत पाउनुभयो र डा. लोकजंग थापाले कति मत पाउनुभयो ? बताउन सक्नुहुन्छ ?

हिजोको उम्मेदवार छनोट प्रक्रिया एउटा महत्त्वपूर्ण घडी थियो । मैले सम्पूर्ण प्रक्रियालाई मनैदेखि सहयोग गरेको छु । उम्मेदवार छनोट गर्ने कुरा केन्द्रीय समिति सचिवालयले नै बसेर गरेको कुरा हो । 

Madhukar Aryal

आफूले पाएको मत पनि थाहा नपाउने त्यो कति लोकतान्त्रिक हो ?

हामीले गरेका विभिन्न चरणका प्रक्रियाहरूको नतिजा सार्वजनिक डोमेनमा नै प्रस्तुत गरिसकेका छौँ । मलाई लाग्छ, पार्टी केन्द्रले पक्कै पनि सार्वजनिक गर्न मिल्ने कुराहरू पठाउनेछ ।

त्यो जानकारी तुरुन्तै थाहा हुनुपर्ने होइन र ?

यस विषयमा म अनभिज्ञता नै प्रकट गर्छु ।

तपाईंले आफ्नो वा आफ्नो प्रतिस्पर्धीले कति मत पायो भनेर सोध्न पनि मिल्दैन ?

मलाई जान्ने इच्छा चाहिँ छ ।

तपाईं उपनिर्वाचन भइरहेको क्षेत्रको रास्वपा सभापति हुनुहुन्छ । त्यहाँ तपाईंले कम मत पाउनुभएको हो ?

मलाई खास त्यही कुरा जान्ने इच्छा छ । यस विषयमा म अनभिज्ञ छु ।

यसको मतलब, पार्टी जतिसुकै लोकतान्त्रिक भनिए पनि त्यो लोकतान्त्रिक छैन, पारदर्शी छैन, अलोकतान्त्रिक छ भन्ने हो ?  

म त्यसरी भन्दिनँ । पार्टी लोकतान्त्रिक छ र यसले लोकतान्त्रिक विधिलाई नै अपनाएको छ । निर्णय प्रक्रियाप्रति मेरो प्रतिबद्धता र समर्थन हिजोदेखि नै अटल छ । हामी नौ जनाले नै सबैभन्दा पहिला विधिलाई स्वीकार गर्‍यौं ।

यदि त्यस्तो हो भने यो सम्पूर्ण प्रक्रिया पारदर्शी र निष्पक्ष थियो भन्ने तपाईंलाई लाग्छ ?

यो निष्पक्ष र पारदर्शी नै भएको हुनुपर्छ ।

यदि त्यसो हो भने टिकट नपाउने आठ जनाले भेला भएर प्रदेश इन्चार्जलाई किन उजुरी हालेका त ?

हामी आठ जना भेला भएर उजुरी हालेका छैनौँ ।

डा. लोकजंग थापाविरुद्ध पार्टीमा उजुरी हाल्नुभएको छैन ?

छैन हजुर । मैले हालेको छैन । मेरो कुनै त्यस्तो उजुरीमा सहभागिता छैन । मैले डा. लोकजंगलाई बधाई पनि दिइसकेको छु । उहाँ मेरो असल मित्र पनि हुनुहुन्छ ।

त्यस्तो प्रक्रियाबाट आउँदा पनि पार्टीले कस्तो मान्छे छान्दोरहेछ भनेर तपाईंलाई अलिकति आत्मग्लानि हुँदैन ? 

मलाई यो कुरामा आत्मग्लानि छैन ।

मधु अर्यालले टिकट पाउनुभएन, किनभने उहाँका दुई श्रीमती छैनन् । तपाईंले सबै पार्टीका नियमहरू पालना गर्नुभयो । फोटो, भिडियो खिच्न चस्मा लगाउनुभएन । पार्टी अनुशासन उल्लंघन गर्नुभएन । पार्टी अनुशासन मान्नुभयो र कानुनको पालना गर्नुभयो । होइन र ? 

तपाईंले अगाडि सार्नुभएका केही तथ्यहरूसँग म अनभिज्ञता प्रकट गर्छु । डा. लोकजंगलाई मैले यो प्रक्रिया सुरु भएपछि मात्रै नजिकबाट चिन्न पाएको हुँ । तर उहाँको पारिवारिक सवालमा मलाई थाहा छैन । 

Madhukar Aryal1

यी सबै मुद्दाहरू पक्कै उठ्छन्, उनको उम्मेदवारी निर्वाचन आयोगले खारेज गर्छ र त्यसपछि मलाई टिकट मिल्छ भन्दै चुपचाप विरोध नगरी बस्नुभएको हो ?

त्यस्तो सोचाइ छैन मेरो ।

इलाममा गएको निर्वाचनबाट पनि तपाईंरुले पाठ सिक्नुभएको रहेनछ नि । 

पक्कै पनि इलामबाट हामीले ’कस्ट्ली लर्निङ’ गरेका छौँ । त्यसको बारेमा पार्टी केन्द्र एकदमै सजग छ ।

रुपन्देही ३ मा पनि विवादास्पद व्यक्ति छानेर गल्ती दोहोर्‍याउनुभयो नि ? 

यो प्रश्नको उत्तर सायद मभन्दा अरुले दिए राम्रो हुन्छ होला । 

तपाईंले नौ जना आकांक्षीबीच सौहार्द्धपूर्ण आत्मीयता थियो भन्नुभयो । तर डा. थापाले टिकट पाएपछि त्यहाँ रुवाबासी देखियो । त्यो टिकट पाएको हर्षको आँसु थियो ?

सबभन्दा पहिला अँगालो हाल्ने त म नै हो ।

रुवाबासी देखियो नि । त्यो हर्षको आँसु थियो ? 

तपाईंले जे देख्नुभयो, क्यामेराले देखेको कुराको बारेमा म व्याख्या गर्न सक्दिनँ ।

टिकट नपाएका बाँकी आकांक्षीहरु चुनावी अभियानमा लाग्लान् ? 

हामी सँगै हिँड्छौं । हामी एउटा ठूलो गाडी खोजेर सँगै जान्छौं ।

रुपन्देही क्षेत्र नम्बर ३ मा चुनावी माहोल कस्तो छ ?

रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकै कारणले राजनीतिक सरगर्मी बढिरहेको छ । यो एक किसिमको ’हेजिमोनी’ नै भन्नुस् । अब अन्य दलका साथीहरूले पनि आफ्नो नेतृत्वसँग टिकट माग्न सुरु गर्छन् ।

संरचनाका हिसाबले त तपाईंहरु निकै कमजोर हुनुहुन्छ नि ?

अन्य पार्टीसँग आफ्ना संरचना छन् । तर तिनीहरूसँग जनता आधारभूत रूपमा छैनन् । जुन दिन उहाँहरूले जनताको मुद्दा बोक्न छोड्नुभयो, त्यसरी नै रुखबाट पात खसे झैँ जनताको आशा पनि झरिरहेको छ । अबको आशा र भरोसा राष्ट्रिय स्वतन्त्र पार्टीसँग छ ।

Madhukar Aryal5

काठमाडौँ महानगरका मेयर बालेनजीले पनि त्यहाँ उम्मेदवार उठाउने रे । त्यसपछि तपाईंहरूलाई गाह्रो हुन्छ भन्ने चर्चा छ नि ? 

बालेनजीको एउटा पक्ष मलाई एकदमै रमाइलो लाग्छ, उहाँको मौनता । मिडियामा धेरै कुरा आउँछन्, जुन स्वाभाविक हो । म काठमाडौंतिर फर्केर हेर्छु, बालेनजी शान्त बसेको देख्छु, त्यसैले म यसमा धेरै टिप्पणी गर्न चाहन्नँ ।

मैले जान्न चाहेको कुरा तपाईंहरूको छलफल भएको छ कि छैन भन्ने हो ।

क्षेत्रीय सभापतिको हैसियतले म सायद त्यो स्तरको छलफलमा पुग्दिनँ होला ।

जब तपाईंले नख्खु कारागारमा आफ्नो पार्टीका अध्यक्ष रविजीलाई भेट्नुभयो, तपाईंलाई कस्तो लाग्यो ? नेपाली राजनीतिमा जेलनेलले मान्छेलाई परिपक्व बनाउँछ भनिन्छ । तपाईंले के देख्नुभयो ?

उहाँमा ऊर्जाको भण्डार देखें । ऊर्जामा कुनै कमी थिएन । मैले उहाँको आँखामा हेरेँ र देखेँ कि उहाँले हिजो बोक्नुभएको सपना, उहाँले सुरु गर्नुभएको राष्ट्र निर्माणको महान् अभियान विचलित भएको थिएन । हिजोको दिनमा उहाँ हिँड्दै, सोच्दै र काम पनि गर्दै हुनुहुन्थ्यो । उहाँसँग बसेर सोच्ने फुर्सद थिएन । 

अब दुर्भाग्यपूर्ण परिस्थितिका बाबजुद उहाँले आफूलाई केही समय दिन पाउनुभएको छ । अहिले उहाँ नेपाली राजनीतिलाई पुस्तकालयमा बसेर हेरे झैँ अझ सूक्ष्म ढंगले नियालिरहनुभएको छ । मैले उहाँबाट अझ बढी गम्भीरता र जवाफदेहिताको अनुभव गरेँ । 

जेलमा भेट्दा तपाईंले पक्कै टिकट माग्नुभयो होला ? उहाँले के भन्नुभयो ?
पार्टीको विधानले परिकल्पना नगरेको कुरा माग्नु अनुचित हुन्थ्यो । मैले पार्टीको विधान राम्रोसँग पढेको थिएँ । त्यसैले मैले त्यो भन्न सुहाउँदैन ।

उहाँले को उम्मेदवार हुँदा चुनाव जितिन्छ भनेर पक्कै पनि सोध्नुभयो होला नि ?

मलाई थाहा थियो कि हामी नौ जनामध्ये विधिमा जो आउँछ, त्यो दोस्रोभन्दा राम्रो हुन्छ । त्यसैले टिकट कसले पाउँछ भन्ने कुरा मलाई पहिले नै थाहा थियो ।

विस्तृत अन्तर्वार्ता भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप