बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एमाले नेताद्वारा युवकमाथि निर्घात कुटपिट, पीडकलाई राजनीतिक संरक्षण दिएको आरोप

सोमबार, १६ भदौ २०८२, १९ : १४
सोमबार, १६ भदौ २०८२

सारांश

  • नेकपा एमाले सुनसरीका सदस्य महेश चौधरीसहितको समूहले इटहरीका राज कटुवाललाई कुटपिट गरी गम्भीर घाइते बनाए।
  • प्रहरीले घटनाको पाँच दिनपछि जाहेरी दर्ता गरेको र एमाले नेतालाई संरक्षण दिएको आरोप पीडित परिवारको छ।
  • घाइते राजको खुट्टा भाँचिएको र उनको उपचार भइरहेको छ, भने शिव चौधरी पक्राउ परेका छन्, तर महेश अझै फरार छन्।

विराटनगर । नेकपा एमाले सुनसरीका जिल्ला कमिटी सदस्य महेश चौधरीसहित एक समूहले इटहरी उपमहानगरपालिका-७ का २४ वर्षीय युवा राज कटुवालको हातखुट्टा भाँचिने गरी निर्घात कुटपिट गरेका छन् ।

भदौ ७ गते राति इटहरी–७ बजराहामा चौधरीले कटुवाललाई मरणासन्न हुने गरी कुटेका हुन् । इलाका प्रहरी कार्यालय इटहरीले पाँच दिनपछि मात्रै पीडित परिवारको जाहेरी दर्ता गरेको छ । तर एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूको रहेको र प्रहरीले अझै पक्राउ गर्न नसकेको भन्दै विरोध भइरहेको छ । 

पीडित परिवारका अनुसार ३५ वर्षीय चौधरी र उनका साथी २९ वर्षीय शिव चौधरीसहित १० देखि १५ जनाको हतियारधारी समूह कटुवालको घरमा पुगेका थिए । राजका बाबु टेकबहादुर कटुवालका अनुसार सुरुमा महेश एक्लै कटुवालको घरमा पुगेका थिए । गाउँकै चिनजानको व्यक्ति भएकाले राजकी आमा सीताले ढोका खोलिदिएकी थिइन् । तर ढोका खुल्नासाथ महेश र शिवसहितका अन्य व्यक्तिहरू भित्र पसी राजमाथि रडले अन्धाधुन्ध प्रहार गरेको टेकबहादुरले बताए । 

‘यो अप्रत्याशित र क्रूर आक्रमणले राजलाई गम्भीर घाइते बनायो । छोरामाथि भएको बर्बर आक्रमण देखेपछि सीता (श्रीमती) ले गुहार माग्दै चिच्याइन् । उनीहरूको आवाज सुनेर घरका अन्य सदस्यहरू आउन थालेपछि आक्रमणकारीहरू तत्काल घटनास्थलबाट फरार भए,’ उनले भने  । घाइते राज भने त्यतिबेलै बेहोस बनेका थिए । निर्घात कुटपिट गरेपछि पनि आक्रमणकारीहरूले राजलाई उपचारका लागि लैजाने क्रममा सडकमा मोटरसाइकल तेर्स्याएर एम्बुलेन्स तथा गाडी लैजान अवरोध सिर्जना गरेका परिवारको आरोप छ । 

इलाका प्रहरी कार्यालय इटहरीमा खबर गर्दा प्रहरी पनि ढिलो गरी पुगेको पीडित परिवारले आरोप लगाएको छ । अन्ततः पीडित परिवारले राजलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचार गराइरहेका छन् । 

आक्रमणमा परेर राज कटुवालको देब्रे खुट्टा र देब्रे हात भाँचिएको छ । उनको खुट्टाको अप्रेसन भदौ १० गते भएको छ भने हातको अप्रेसन हुन बाँकी नै रहेको बाबु टेकबहादुरले बताए । चिकित्सकहरूले पनि खुट्टाको अप्रेसनपछि हातको अप्रेसन गर्न सुझाव दिएका छन् । हाल राज राम्रोसँग बोल्न सकेका छैनन् र हिँडडुल गर्न पनि सक्दैनन्, यद्यपि उनको होस भने आएको छ । उनको पूर्ण स्वास्थ्य लाभ कहिले हुन्छ भन्ने अझै निश्चित नभएको परिवारले जनाएको छ । 

यो जघन्य अपराध भएको पाँच दिनपछि मात्रै इलाका प्रहरी कार्यालय इटहरीले पीडितको जाहेरी दर्ता गरेको छ । पीडित परिवारले एमाले नेता चौधरीलाई जिल्लादेखि प्रदेश तहका नेताहरूले संरक्षण दिएको आरोप लगाएका छन् । आक्रमणलगत्तै आक्रमणकारी महेश चौधरी र शिव चौधरीसहितको समूहविरुद्ध जाहेरी दिन घाइते राजकी माइली दिदी राधिका कटुवाल र भिनाजु मौसम पाठक इलाका प्रहरी कार्यालय इटहरी पुगेका थिए । तर, प्रहरीले त्यसदिन जाहेरी दर्ता गर्न मानेन । घाइतेकी कान्छी दिदी विनिता कटुवालले पीडा व्यक्त गर्दै भनिन्, ‘यो पुगेन, त्यो पुगेन भन्दै पाँच दिनसम्म प्रहरीले झुलायो । आक्रमण गर्ने महेश एमालेका नेता र नगरपालिकामा पनि काम गर्ने भएकाले दबाबका कारण घटना भएको भोलिपल्ट जाहेरी नलिएर पाँच दिनपछि भदौ ११ गते मात्रै इलाका प्रहरी कार्यालय इटहरीले ज्यान मार्ने उद्योगमा लियो,’ उनले अहिलेसम्म आफ्नो भाइमाथि आक्रमण गर्ने मुख्य मान्छे महेशलाई प्रहरीले पक्राउ नगरेको बताइन् । 

kutpit-raj-katuwal

इलाका प्रहरी कार्यालय इटहरीले घटनाको पाँच दिनपछि शिव चौधरीलाई भने पक्राउ गरेको छ । पक्राउ परेका चौधरीलाई पाँच दिनका लागि ज्यान मार्ने उद्योगमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । 

सुनसरी प्रहरीले महेशको खोजी कार्य तीव्र बनाएको बताए पनि पीडित परिवारका अनुसार महेश गाउँघरमै लुकिरहेका छन् । उनलाई एमालेका जिल्लादेखि प्रदेशसम्मका नेताले संरक्षण दिएको पीडितले आरोप लगाइरहेका छन् । 

प्रहरी अधिकारीका अनुसार प्रारम्भिक चरणको अनुसन्धान हेर्दा पुरानो रिसइबी भएको देखिएको छ । आक्रमण हुनुअघि दिउँसो शिव चौधरीसँग कटुवालको भनाभन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप