मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बेनीमा सम्पर्कविहीन भएका दुई युवाको अवस्था अज्ञात

मङ्गलबार, १७ भदौ २०८२, ०२ : १४
मङ्गलबार, १७ भदौ २०८२

सारांश

  • म्याग्दीको बेनीमा दुई युवा शनिबार रातिदेखि सम्पर्कविहीन भएका छन्।
  • प्रहरीका अनुसार उनीहरूले खाना खाएपछि मोटरसाइकलमा निस्किएका थिए र मोबाइल स्विच अफ थियो।
  • प्रहरीले कालीगण्डकी नदीमा दुर्घटनाको आशंका गर्दै खोजी कार्य जारी राखेको छ।

म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा शनिबार रातिदेखि सम्पर्कविहीन बनेका दुई युवाको अवस्था अझैसम्म अज्ञात छ । रघुगङ्गा गाउँपालिका–२ भगवती घर भएका कुमार रिजाल र बेनी नगरपालिका–६ जामुनाखर्क घर भएका हरिप्रसाद शर्मा (रिजाल) गत शनिबार रातिदेखि सम्पर्कविहीन भएका हुन् । 

शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारीका रूपमा कार्यरत कुमार र बेनीको एक व्यावसायिक फार्ममा काम गर्ने हरि सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ ।

“दुवै जनाले बेनीको बैङ्क रोडस्थित एक होटलमा खाना खाएपछि मोटरसाइकलमा निस्किए पनि आफ्नो कोठामा नपुगेको र मोबाइल फोन समेत एकैसाथ बन्द (स्विचअफ) भएपछि आफन्तले खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए”, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सागर पौडेलले भने ।

बेपत्ता भएको समयमा सम्भावित ठाउँका सिसी क्यामेराले देखाएको दृष्यका आधारमा रिजालद्वय चढेको मोटरसाइकल म्याग्दी र कालीगण्डकी नदी किनारमा निर्माण भएको मोटरबाटोतर्फ मोडिएको देखिएको उनले बताए । उक्त मोटरसाइकल सो समयमा कालीपुलमा पुगेको नदेखिएपछि कालीगण्डकी नदीमा दुर्घटनामा परेको हुनसक्ने अनुमानका आधारमा खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ । 

सूचना अधिकारी पौडेलका अनुसार रिजालद्वयको अन्य माध्ययमबाट खोजतलास गर्दा अवस्था पत्ता लाग्न नसकेपछि उनीहरू सम्पर्कविहीन भएको समयमा अविरल वर्षा भइरहेको र मोटरसाइकलको गति तीव्र भएकाले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेर कालीगण्डकी नदीतर्फ खसेको अनुमानका आधारमा सोमबारदेखि नदी किनारमा खोजी सुरु गरिएको छ ।

मोटरसाइकल गुडेको सम्भावित ठाउँमा सिसी क्यामेराको पहुँच नभएको बताउँदै उनले रातिको समय भएकाले प्रत्यक्षदर्शीसमेत नभएकाले बेपत्ता भएका दुवै जनाको अवस्थाबारे यकिन गर्न कठिनाइ भएको उल्लेख गरे । सोमबार दिनभर नेपाल प्रहरी, सशस्त्र प्रहरी र बेपत्ता युवाको आफन्तहरूको टोलीले नदी किनारमा खोजी गरे पनि दुवै युवासँगै उनीहरू सवार मोटरसाइकलको अवस्था पत्ता लाग्न सकेको नसकेको पौडेलले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप