महाकाली नदीमा पानीको बहाव घट्दो : बाढी विस्थापित अझै घर फर्कन सकेनन्
सारांश
- दोधारा चाँदनी नगरपालिकाका तीन वडाका बासिन्दा बाढीका कारण विस्थापित भएका छन्।
- जोगबुढा नदीमा आएको बाढीका कारण ५४ घर डुबानमा परेका छन् र २१८ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
- नदीको बहाव घट्दो क्रममा रहेकाले साँझसम्म विस्थापित परिवार घर फर्कन सक्ने सम्भावना रहेको छ।
कञ्चनपुर । डुबानमा परेका दोधारा चाँदनी नगरपालिकाका तीन वडाका विस्थापित बासिन्दा अझै घर फिर्ता हुनसकेका छैनन् । दुई दिनअघिदेखिको अविरल वर्षाका कारण जोगबुढा नदीमा आएको बाढीका कारण ती परिवार विस्थापित भएका थिए ।
बस्ती अझै डुबानमै रहेकाले विस्थापित परिवार घर फिर्ता हुन नसकेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार नदीको बाढी बस्ती पस्दा ५४ घर डुबानमा परेका छन् । डुबानमा परेका दुई सय १८ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।
विस्थापनमा परेका परिवार नजिकको विद्यालयमा बस्दै आएका छन् । नदीको बहाव घट्दो रूपमा रहेकाले अवस्था यही रहे साँझसम्म विस्थापनमा परेका परिवार फर्कन सक्ने अवस्था रहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
डुबानमा परेर विस्थापनमा परेका नगरपालिकाको वडा नं ८ रामपुरे टापुर जर्गा टोलका २५ घरका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ भने वडा नं ३ पटरा खल्ला टोलका १५ घरका ५५ जनालाई सरसामान र चौपायासहित जमुना आधारभूत विद्यालयमा राखिएको छ ।
त्यसैगरी, वडा नं १० शान्ति टोलका १२ घरका ४० जनालाई अम्विका माध्यमिक विद्यालयमा राखिएको छ । सोही वडाको सुन्दरनगरमा रहेको सशस्त्र प्रहरीको बिओपीमा कार्यरत २३ जनालाई ओमकार आधारभूत विद्यालय र कञ्जभोजमा कार्यरत ३० जनालाई सहरी खोप केन्द्र भवनमा सारिएको छ । समयमै उद्धारकार्य गरिँदा बाढीजन्य विपद्का कारण हुने अप्रिय घटना भने हुन नपाएको प्रहरी नायब उपरीक्षक बोहराले बताए ।
उनका अनुसार महाकाली नदीमा पानीको बहाव घट्दो क्रममा रहेको छ । आज बिहान ७ः०० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख ७१ हजार ९१३ क्यूसेक रहेको छ । सीमा पुल बनवसामा चारपाङग्रे सवारीसाधन भने अझै सञ्चालन हुनसकेका छैनन् ।
नदीमा पानीको बहाव एक लाख क्यूसेक नाघेपछि सुरक्षाका कारण पुलमा चारपाङग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने गरिन्छ । सोमबार साँझ ५ः०० बजे महाकाली नदीमा यस वर्षकै बढी पानीको बहाव दुई लाख ७१० क्यूसेक पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ३१ जना पक्राउ
-
अनुमतिबिना भारतीय हेलिकोप्टर नेपाली आकाशमा
-
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै
-
प्रेमराजादेखि विश्व दोङसम्म, तीन दिन दरबार रोधीमा लोकसंगीतको उत्सव
-
दुई मन्त्रीलाई छेउमा राखेर बालेनले लेखे– देश बनाउने टोली
-
आवासीय चिकित्सकसँगै इन्टर्नको कार्यअवधि र भत्ता कार्यान्वयन गर्न मेडिकल काउन्सिलको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण