विनोद श्रेष्ठको दाबी – डीएसपीहरू त मकहाँ सुन राखेर पैसा लैजान्छन्
सारांश
- Gongabu मा साढे ९ किलो सुन र ४ करोड २५ लाख ५० हजार नगदसहित पक्राउ परेका विनोद श्रेष्ठले प्रहरी अधिकृतहरूले सुन राखेर नगद लैजाने गरेको बताए।
- श्रेष्ठले सुन धरौटीमा राखेर मिटरब्याजमा रकम लगाउने गरेको र उनको घरबाट नगद र सुन बरामद भएको थियो।
- राजस्व अनुसन्धान विभागले श्रेष्ठ र उनका छोराको कम्पनीबारे अनुसन्धान सुरु गरेको छ, र छोरा राजकुमारको कार्यालयमा पनि छापा मारिएको छ।
काठमाडौं । गोंगबुबाट साढे ९ किलो सुन र ४ करोड २५ लाख ५० हजार नगदसहित पक्राउ परेका विनोद श्रेष्ठले आफूकहाँ प्रहरीका अधिकृतहरूले पनि सुन राखेर नगद लैजाने गरेको जिकिर गरेका छन् । मिटरब्याजमा रकम लगाउने श्रेष्ठले आफ्नो घरमा छापा मार्न पुगेका प्रहरीहरूसँग यस्तो दाबी गरेका हुन् ।
मंगलबार मध्याह्न सादा पोसाकका प्रहरीहरूलाई उनले सोधे, ‘तपाईंहरू को हो ?’
अनुसन्धान अधिकृतहरूले आफूहरू प्रहरी भएको बताएपछि उनले थपे, ‘कुन दर्जा ?’ त्यसपछि अधिकृतहरूले आफ्नो दर्जा बताए । अनि श्रेष्ठले भने, ‘डीएसपीहरू त मकहाँ सुन राखेर पैसा लैजान्छन् ।’
प्रहरीका अनुसार सुन धरौटीमा राखेर रकम लैजाने प्रहरी अधिकृतहरूको नामचाहिँ श्रेष्ठले खुलाएका छैनन् । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘डीएसपीहरूले पैसा लान्छन् भनेर उहाँले भन्नुभो तर, कसले भन्ने कुरा भन्नुभएको छैन ।’
पुर्ख्यौली घर गोरखा नगरपालिका–६ भएका श्रेष्ठले काठमाडौं–२६ मा घर बनाएका छन् । सो घरमा उनी र पत्नीमात्रै बस्छन् । मंगलबार प्रहरी छापा मार्न जाँदा ७६ वर्षीय श्रेष्ठकी पत्नी गोरखा गएकी थिइन् ।
उनको घरबाट प्रहरीले ४ करोड २५ लाख ५० हजार नगद र साढे ९ केजी सुन बरामद गरेको थियो । सम्पतिको स्रोत खुलाउन नसकेपछि श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको छ । अदालतबाट म्याद लिएर श्रेष्ठमाथि अनुसन्धान थालिएको राजस्व अनुसन्धा विभागकी उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठले रातोपाटीलाई बताइन् । भनिन्, ‘अदालतबाट म्याद लिएर हामीले प्रारम्भिक अनुसन्धान थालेका छौँ ।’
चामलको बोरामा रकम प्याक गरेर राख्नेका श्रेष्ठले सुन धरौटीमा लिएर मिटरब्याजमा रकम लगाउने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले उनले चर्को ब्याजमा रकम लगानी गर्ने गरेको हुन सक्ने आशंका व्यक्त गरे ।
श्रेष्ठले आफ्ना छोराहरूको ‘एडीबी’ नामको कम्पनी भएको बताएका छन् । सो कम्पनीबारे पनि राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेको छ । प्रहरीले उनका छोरा राजकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यालयमा पनि छापा मारेको छ । मंगलबार राति साढे ९ बजेतिर काठमाडौँ–१६ नयाँ बजारमा रहेको राजकुमार श्रेष्ठको कार्यालयमा प्रहरीले छापा मारेको हो ।
राजकुमारले भाडामा लिएको फ्ल्याटमा छापा मारेर ९० हजार नगद र केही सुनका गहना बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । राजकुमारको कार्यालयबाट प्रहरीले ५ थान छड्के तिलहरी, नौगेडी, दुईथान बेरुवा औंठी र १ थान लकेट बरामद गरेको छ । उनी फरार छन् ।
श्रेष्ठ बाबु-छोराले नै एकै प्रकारको काम गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । उनीहरूकहाँ सुन पसलेहरू पनि सुन खरिद गर्न जान्थे । श्रेष्ठका ३ भाइ छोरा छन् । तीमध्ये राजकुमार जेठा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण