बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘वरिष्ठ बलराम’ को फष्टलुक्स सार्वजनिक

बुधबार, १८ भदौ २०८२, २० : ४९
बुधबार, १८ भदौ २०८२

काठमाडौँ । सुरेन्द्र पौडेलको निर्देशन रहेको चलचित्र ‘वरिष्ठ बलराम’ को फष्टलुक्स पोस्टर र टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले फष्टलुक्सको रूपमा एकसाथ दुई वटा पोष्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार दयाहाङ राई र विजय बरालले स्थान पाएका छन् । बाँकी अन्य कलाकार पनि फिचर्ड छन् ।

एउटा पोस्टरमा भने दयाहाङ र विजय मात्रै छन् । रातो सुट र सर्ट–पाइन्टमा ठाँटिएका छन्, दयाहाङ । हातमा मोबाइल बोकेका उनी क्रुद्ध देखिएका छन् । विजय भने निराश देखिएका छन् ।

पोस्टरमा समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरी पनि देखिएका छन् । उनीहरूलाई क्यारेक्टरमा देख्न सकिन्छ ।  

त्यस्तै सार्वजनिक गरिएको पहिलो झलकमा भने दयाहाङ राई र विजय बराल बिचको नोक–झोकलाई प्रस्तुत गरिएको छ । यसले चलचित्र प्रतिको उत्सुकतालाई बढाएको छ । 

‘वरिष्ठ बलराम’ कात्तिक ६ गते भाइटिकामा रिलिज हुँदै छ । चलचित्रमा दयाहाङ र विजयको अलवा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ । 

पौडेल निर्देशित यो चौथो चलचित्र  हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका थिए । 

वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जि धामी र पुस्कर बि घिमिरे छन् । 

सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’ को छायाङ्कन चितवनका विभिन्न स्थानमा गरिएको हो । 

मानकृष्ण महर्जनको छायाङ्कन रहेको चलचित्रमा  तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । 

यो चलचित्रलाई काठमाडौँ उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप