बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

व्यावसायिक मोडेल र आर्थिक पारदर्शिताबिना जलविद्युत् अभियान दिगो हुँदैन : मन्त्री खड्का

बिहीबार, १९ भदौ २०८२, १२ : ३५
बिहीबार, १९ भदौ २०८२

सारांश

  • ऊर्जा मन्त्री दीपक खड्काले जनताको सहभागितामा विद्युत् व्यवस्थापन प्रशंसनीय रहेको बताए।
  • उनले दुर्गम भूगोलमा विद्युत् पुर्‍याउने कार्यलाई असाधारण उपलब्धि ठाने र व्यावसायिक व्यवस्थापनमा जोड दिए।
  • मन्त्री खड्काले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र सुशासन कायम गरिने बताए।

काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जनताले आफ्नै सहभागितामा विद्युत् व्यवस्थापन गरेर अन्धकार हटाएको कार्य प्रशंसनीय रहेको बताएका छन् ।

राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा बोल्दै मन्त्री खड्काले समाजको यस योगदानलाई सरकारले निरन्तर सहयोग गर्दै आएको र यसलाई अझ व्यावसायिक ढंगले अघि बढाउन जरुरी रहेको बताए ।

उनले विशेषगरी कुना कन्दरासम्म, अप्ठेरा र दुर्गम भूगोलमा विद्युत् पुर्‍याउने कार्यलाई असाधारण उपलब्धि ठहर गर्दै समाजका गतिविधिहरूको प्रशंसा गरे । हाल देशभर करिब दुई हजार संघ–संस्था तथा व्यक्तिहरू संलग्न रही ४० मेगावाटभन्दा बढी लघु तथा साना जलविद्युत् परियोजनाबाट विद्युत् उत्पादन भइरहेको जानकारी पनि उनले दिए ।

मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्‍याउनाले सामाजिक–आर्थिक रूपान्तरणमा ठुलो योगदान पुर्‍याएको उल्लेख गर्दै अब यसलाई दीर्घकालीन रूपमा टिकाइ राख्न व्यावसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता अनिवार्य हुने धारणा राखे । उनले थपे- ‘ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउँछ, त्यसैले संस्थाहरूलाई व्यावसायिक मोडेलमा अघि बढाउन जरुरी छ।’

सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्‍याउने अभियानलाई प्राथमिकताका साथ अघि बढाइरहेको स्मरण गर्दै उनले २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको र त्यसतर्फ सरकार आक्रामक ढङ्गले अघि बढिरहेको जानकारी दिए । 

ऊर्जा क्षेत्रमा पछिल्ला वर्षमा नीतिगत सुधार भएका कारण दिगो र पारदर्शी प्रणालीतर्फ सरकार अघि बढिरहेको बताउँदै मन्त्री खड्काले सुशासन कायम गर्न सरकारले आक्रामक रूपमा काम गरिरहेको पनि उल्लेख गरे ।

कार्यक्रम समाजका अध्यक्ष नारायणध्वज खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र नेपालका कार्यकारी निर्देशक नवराज ढकाललगायत विभिन्न व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।

सभामा वक्ताहरूले लघु तथा साना जलविद्युत् क्षेत्रले ग्रामीण जीवनस्तरमा ल्याएको परिवर्तन र यसलाई दिगो बनाउने आवश्यकताबारे विचार व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप