पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको त्रास, दुई महिना यता तीन जनाको मृत्यु
सारांश
- पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट पछिल्लो २ महिनामा ३ जनाको मृत्यु भएको छ।
- स्थानीयका अनुसार बाघले मानिसलाई आक्रमण गर्नुअघि खसी, बाख्रा र बंगुरलाई पनि खाएको थियो।
- निकुञ्जका अनुसार बाघको आक्रमण बढेपछि सवारी साधन नरोक्न आग्रह गरिएको छ, र क्यामेरा जडान भइरहेको छ।
बारा । पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको पथलैया–अम्लेखगञ्ज सडकखण्डमा बाघको आक्रमणका घटना बढेको छ ।
सो क्षेत्रमा पछिल्लो २ महिनामा बाघको आक्रमणबाट ३ जनाको मृत्यु भइसकेको स्थानीयले बताएका छन् । बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगर–२१ र २२ का बासिन्दा छन् । बाघको आक्रमणबाट दुई महिना यता चन्द्रबहादुर बोलाङ्ग, कृष्ण कुमार शर्मा र रमेश कार्कीको मृत्यु भएको जीतपुरसिमरा–२२ का वडाध्यक्ष शेखरकाजी रुम्बाले बताए ।
बोलाङ्ग र शर्माको जङ्गलमा घाँस–दाउरा गर्ने क्रममा र कार्कीको ३ नं पुल नजिकै रातको समयमा आक्रमण भएको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष रुम्बाले केही महिनादेखि बाघको त्रासले स्थानीयहरू साँझ–बिहान घर बाहिर निस्कनसमेत डराएको बताए । ‘बाघले मान्छे खानुअघि अम्लेखगञ्जदेखि पथलैयासम्म स्थानीयहरूको खसी–बाख्रा, पाडा–पाडी, बङ्गुर खायो,’ उनले भने, ‘नरभक्षी बाघलाई नियन्त्रणमा लिनुको साटो निकुञ्ज र डिभिजन वन कार्यालयले आफ्नो क्षेत्र परेन भनेर पन्छिनु गलत हो ।’
_gFakafto83.jpg)
पथलैया–अम्लेखगञ्ज र पथलैया–निजगढ सडकखण्डमा बाघको आक्रमण बढ्न बढेपछि पर्सा राष्ट्रिय निकुञ्जले सार्वजनिक सूचना निकालेर सो क्षेत्रमा सवारी साधन नरोक्न यात्रुहरूलाई आग्रह गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले वन्यजन्तुहरू राष्ट्रिय राजमार्गको बाटो भएर ओहोरदोहोर गरिरहेकाले सबैमा सचेत हुन आग्रह गरेका छन् । उनले पथलैयादेखि तामागढी क्षेत्रसम्म क्यामेरा जडानको काम भइरहेको बताए ।
‘घाँस दाउरा गर्ने क्रममा यो भेगमा मानवीय क्षति भएको छ तर त्यो क्षति बाघकै कारणले भएको हो भन्नका लागि पोष्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छैन,’ उनले भने, ‘बाघको बासस्थान क्षेत्रमा मानिस पुगेपछि जम्काभेट भएर क्षति हुन्छ भने त्यसलाई मानवीय त्रुटि मानेर मानिसहरूले आफ्नो व्यवहारमा पनि परिवर्तन ल्याउनुपर्छ ।’
वन्यजन्तु राहत निर्देशिका २०८० मा वन्यजन्तुको बासस्थान क्षेत्रमा भएका मानवीय क्षतिमा राहत दिने व्यवस्था छैन । प्रमुख संरक्षण अधिकृत खतिवडाले निकुञ्जको कोर क्षेत्रभित्र घाँसदाउरा गर्ने क्रममा वन्यजन्तुबाट भएको क्षतिमा राहत पाउनुपर्छ भन्ने जनताको बुझाइ गलत भएको बताए ।
बारा, पर्सा र मकवानपुरको वन क्षेत्रलाई समेटेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ मा भएको गणना अनुसार यस क्षेत्रमा ४१ वटा बाघ छन् । यो मधेस प्रदेशकै एकमात्र राष्ट्रिय निकुञ्ज हो ।
प्रमुख संरक्षण अधिकृत खतिवडाले निकुञ्ज प्रशासनले मानिस र वन्यजन्तु दुवैलाई सुरक्षित राख्ने अभियान सञ्चालन गरे पनि मधेस प्रदेश सरकार, पालिका, वडा लगायत र अन्य निकायबाट कुनै सहयोग नपाएको गुनासो गरे ।

‘वन्यजन्तुको बासस्थानमा बाघले मान्छे खान्छ भने त्यसलाई दुर्घटनाको रूपमा लिनुपर्छ, सडक दुर्घटनामा दैनिक धेरै मान्छेको ज्यान जाँदा त्यसमा जनताको आक्रोश छैन, तर वन्यजन्तुले केही क्षति गर्यो भने धेरै भयो भनेर गलत प्रचार गर्ने प्रवृत्ति छ,’ खतिवडाले भने, ‘वास्तवमा बाघ दोषी कि मानिस दोषी भन्नेमा राम्रोसँग बहस भयो भनेमात्रै प्रकृति र मानिसप्रति न्याय हुन्छ ।’
पर्सा राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा केही वर्षदेखि मानिस र वन्यजन्तुबिच द्वन्द्व बढेको छ । निकुञ्जसँग जोडिएका पर्टेवा सुगौली, सखुवा प्रसौनी, ठोरी, मनहरी गाउँपालिकामा मानिस र बाघको द्वन्द्व धेरै छ । सामान्यतया बुढो, घाइते, भर्खरै आमाबाट छुट्टिएका तथा समस्याग्रस्त बाघ नै मानव बस्तीमा प्रवेश गरेर क्षति पुर्याउने गर्दछन् ।
प्रमुख संरक्षण अधिकृत खतिवडाले वन्यजन्तु संरक्षणप्रति नै नकारात्मक टिप्पणी बढ्दै गएको गुनासो गरे । वन्यजन्तु नियन्त्रण, व्यवस्थापन र मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणको काम राष्ट्रिय निकुञ्जको मात्रै नभएर स्थानीय तह, पालिकाहरू, वडा र प्रदेश सरकारको पनि जिम्मेवारी हुनुपर्ने उनको भनाइ छ ।
‘हामीसँग बजेट र कार्यक्रम पर्याप्त हुन्थ्यो भने केही पनि समस्या थिएन, तर भएका साधन–स्रोतले जनताको आकाङ्क्षा पूरा गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पर्याप्त बजेट, कार्यक्रम र सहकार्य नभइकन अब वन्यजन्तु बचाउन गाह्रो छ ।’
बाघको गणना प्रत्येक ४ वर्षमा हुन्छ । सन् २०१८ मा १८ वटा पाटे बाघ रहेको पर्सा राष्ट्रिय निकुञ्जमा सन् २०२२ को डिसेम्बरमा भएको गणनामा यो सङ्ख्या ४१ पुगेको थियो । अर्को वर्ष हुने गणनामा यो संख्या ५० भन्दा माथि पुग्ने निकुञ्ज प्रशासनले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण