आज मिथिलाञ्चलमा अनन्त पूजा
सारांश
- आज मिथिलाञ्चलमा अनन्त पूजा धुमधामका साथ मनाइँदैछ, जसमा विभिन्न परिकार प्रसादको रूपमा चढाइन्छ।
- अनन्त चतुर्दशीमा अनन्त सूत्र डोला लिई मन्दिरमा पूजा गर्ने र धागो ग्रहण गर्ने चलन छ, जुन परिवारको सुख, शान्ति र समृद्धिका लागि गरिन्छ।
- यस पूजामा भगवान विष्णुको १४ नामको प्रतीक स्वरूप १४ गाँठ भएको डोरा बाँध्ने गरिन्छ, जसले दीर्घायु, शान्ति र समृद्धिको कामना गर्दछ।
जनकपुरधाम । आज मिथिलाञ्चलमा अनन्त पूजा धूमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल चतुर्दशीमा अनन्त पूजा गरिन्छ ।
यस दिन बिहानैदेखि मानिसहरूले घरआँगन सफा–सुग्घर बनाई पूजाका तयारी गर्छन् । यस अवसरमा काँक्रो, केरा, पान, सुपारी, खीर, पुरी, मालपुवा, हलुवा र विभिन्न मिठाई प्रसाद स्वरूप चढाएर छिमेकी तथा आफन्तलाई बाँड्ने चलन छ ।
मिथिलाञ्चलका महत्त्वपूर्ण पर्वमध्ये अनन्त चतुर्दशी पनि एक हो । यस दिन बिहानै विभिन्न फलफूलसँगै अनन्त सूत्र राखिएको डोला लिएर नजिकैको मन्दिरमा गई पूजा गर्ने र धागो ग्रहण गर्ने परम्परा छ ।
जनकपुरधाम–२२ की जिब्छी देवीले भनिन्, ‘हामी यो पूजा परिवारको सुख–शान्ति र समृद्धिको लागि गर्छौं । अनन्त भगवानले बच्चाहरूलाई दीर्घायु र घरमा सुख–शान्ति प्रदान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’
यस दिन स्नान गरी फूल चढाएर कथा वाचनसँगै अनन्त सूत्र बाँध्ने चलन छ । पुरुषहरूले दाहिने र महिलाले देब्रे पाखुरामा बाँध्ने यस सूत्रलाई एक वर्षसम्म राखिन्छ । गत वर्ष बाँधिएको सूत्र यसै दिन पूजापछि बिसर्जन गर्ने परम्परा छ ।
बनौली–७ की शान्ति मिश्रका अनुसार अनन्त पूजा गरिसकेपछि जाडो मौसम सुरु भएको मानिन्छ । परिवारका सबै सदस्यले अनन्त सूत्र बाँध्दा घरमा भगवानको कृपा र सुखशान्ति आउँछ भन्ने जनविश्वास छ रहेको उनको भनाइ छ ।
जयोतिषाचार्य डा. नवीनकुमार झाका अनुसार महाभारतकालमा वनवासमा रहेका धर्मराज युधिष्ठिरले यसै दिन अनन्त भगवानको पूजा गरेका थिए । त्यसपछि उनका दुःख हटेर पाण्डवहरूले पुनः राजगद्दी पाएको जनविश्वास रहेको झाले बताए ।
मैथिली समुदायमा अनन्त चतुर्दशी सामूहिक रूपमा मनाउने चलन छ । प्रत्येक घरमा नभई केही निश्चित घर वा पूजा स्थलमा सामूहिक रूपमा पूजा गर्ने परम्परा रहिआएको छ । पण्डित लालबाबु झाका अनुसार घरका सदस्य संख्या अनुसार भगवान विष्णुको १४ नामको प्रतीक स्वरूप १४ गाँठ भएको अनन्त डोरा (धागो) तयार पारिन्छ र प्रसादीसहित पूजा स्थलमा लैजान्छन् ।
धार्मिक किंवदन्तीअनुसार सत्ययुगमा समुद्र मन्थनको क्रममा अमृतसहित १४ रत्न प्राप्त भएको दिनदेखि नै अनन्त पूजा गर्ने चलन सुरु भएको हो । १४ रत्नको प्रतीकका रूपमा १४ गाँठ बाँधिएको अनन्त डोरा पाखुरामा बाँध्ने परम्परा छ ।
अनन्त अर्थात् कहिल्यै अन्त्य नहुने भगवान विष्णुको आराधना स्वरुप यो पूजा गरिन्छ । अनन्त पूजाबाट दीर्घायु, शान्ति र समृद्धि प्राप्त हुने जनविश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण