वर्षको उत्कृष्ट खेलाडी, युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक
सारांश
- नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणका लागि उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरेको छ।
- विभिन्न विधामा उत्कृष्ट खेलाडी र प्रशिक्षकको मनोनयनमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, एरिका गुरुङ, मानमति धामी लगायत छन्।
- अवार्ड कार्यक्रम भदौ २९ गते हुनेछ, जसमा वर्ष उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षकलाई पल्सर मोटरसाइकल प्रदान गरिनेछ।
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको २२औँ संस्करणको विभिन्न विधाका वर्षको उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला, युवा र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा गठित पाँच सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षकको छनोट गरेको हो। चार विधामा उत्कृष्ट ५/५ जना खेलाडी र प्रशिक्षक मनोनयनमा परेका छन्।
उत्कृष्ट पुरुष वर्ष खेलाडीको मनोनयनमा:
- दीपेन्द्रसिंह ऐरी (क्रिकेट): एसीसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमान र टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन।
- कुशल भुर्तेल (क्रिकेट): वर्ष २०८१ मा अलराउन्ड प्रदर्शन, टी-२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट।
- जनक चन्द (खोखो): भारतमा भएको पुरुष खोखो विश्वकपमा नेपाल उपविजेता बन्दा महत्त्वपूर्ण खेलाडी र दुई खेलमा प्लेयर अफ दी म्याच।
- स्यान्टु श्रेष्ठ (टेबल टेनिस): पेरिस ओलम्पिकमा छनोट हुने नेपालका तेस्रो खेलाडी र ओलम्पिक मार्च पासमा राष्ट्रिय झन्डा बोक्ने खेलाडी।
- विजय सिन्जाली (उसु): तेस्रो धाउलो वर्ल्ड कपमा कांस्य पदक र विश्व कम्ब्याट च्याम्पियनसिपमा स्वर्ण पदक विजेता।
उत्कृष्ट महिला वर्ष खेलाडीको मनोनयनमा:
- एरिका गुरुङ (कराते): भुटानमा दोहोरो स्वर्ण, अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण र एकेएफ २०औँ सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता।
- मानमति धामी (खोखो): महिला खोखो विश्वकपमा नेपाल उपविजेता बन्दा मुख्य खेलाडी, चार खेलमा प्लेयर अफ दी म्याच र फाइनलमा बेस्ट डिफेन्डर।
- एलिसा रास्कोटी मगर (कराते): भुटानमा टिम र एकलमा स्वर्ण, १६औँ एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा कांस्य र रजत पदक विजेता।
- रेखा पौडेल (फुटबल): एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी, निर्णायक गोल र साफ महिला च्याम्पियनसिप २०२४ मा सर्वाधिक गोलकर्ता।
- सलिना श्रेष्ठ (भलिबल): काभा नेसन्स महिला लिगमा उत्कृष्ट लिबेरो र टाइगर कपमा उत्कृष्ट लिबेरो।
उत्कृष्ट युवा वर्ष खेलाडीको मनोनयनमा:
- अजय बिक (एथ्लेटिक्स): चौथो दक्षिण एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक विजेता।
- अञ्जली महर्जन (कराते): दक्षिण एसिया यु-२१ कराते च्याम्पियनसिपमा स्वर्ण र १६औँ एसिया प्यासिफिक कराते च्याम्पियनसिपको ५० केजी तौल समूहमा स्वर्ण।
- पूजा महतो (क्रिकेट): नेपाली यु-१९ महिला टोलीलाई पहिलोपटक महिला विश्वकपमा छनोट गराउने कप्तान र छनोट खेलमा सर्वाधिक रनकर्ता।
- स्वस्तिका तिरुवा (बक्सिङ): बहराइनमा सम्पन्न आइएसएफ जिम्नासाइडमा बक्सिङतर्फ स्वर्ण विजेता।
- समीर तामाङ (फुटबल): ताइपेईमा भएको एएफसी यु-२० च्याम्पियनसिपमा चाइनिज ताइपेईविरुद्ध ह्याट्रिक गर्ने खेलाडी।
उत्कृष्ट वर्ष प्रशिक्षकको मनोनयनमा:
- कविराज नेगी लामा (पारा तेक्वान्दो): पलेशा गोवर्धनलाई पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य दिलाउने प्रशिक्षक।
- कुशल श्रेष्ठ (कराते): एरिका गुरुङलाई २०औँ एसियन सिनियर कराते च्याम्पियनसिपमा रजत दिलाउने प्रशिक्षक।
- महेश रिजाल (क्रिकेट): नेपाली महिला यु-१९ टोलीलाई पहिलोपटक यु-१९ विश्वकप पुर्याउन सफल प्रशिक्षक।
- लक्ष्मीनारायण वैद्य (खोखो): भारतमा सम्पन्न विश्वकप खोखो प्रतियोगितामा महिला टोलीलाई रजत पदक दिलाउने प्रशिक्षक।
- दीपक महर्जन (बक्सिङ): बहराइनमा सम्पन्न आइएसएफ जिम्नासाइडमा दुई स्वर्ण र दुई कांस्य दिलाउने प्रशिक्षक।
पिपल्स च्वाइस विधाको मनोनयनमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबल टेनिस) छन्। उनीहरूको भोटिङका लागि डिजिटल वालेट खल्ती बाइ आइएमई र गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेज पल्सर नेपालबाट भोटिङ जारी छ।
स्पोर्ट्स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिन भदौ २९ गते गरिनेछ। वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ भने अन्य विधाका विजेतालाई जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ।
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलको निरन्तरता छ। नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १७औँ वर्ष हो। अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका र अन्य सहयोगीहरूमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एन्ड स्पा, म्याजेस्टिक, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण