बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

साझा यातायातका ६० भन्दा बढी कर्मचारीलाई ‘ट्रमा लाइफ सपोर्ट’ तालिम

शनिबार, २१ भदौ २०८२, १६ : ३३
शनिबार, २१ भदौ २०८२

सारांश

  • आस्म लाइफस्टाइल अस्पतालले साझा यातायातका ६० जना कर्मचारीलाई आधारभूत ट्रमा लाइफ सपोर्ट तालिम दियो।
  • यो तालिम सडक दुर्घटनामा प्राथमिक उपचार, जीवनरक्षक सीप र दुर्घटना रोकथामबारे केन्द्रित थियो।
  • डाक्टरहरूले दुर्घटनापछिको 'गोल्डेन पिरियड' मा प्राथमिक उपचारको महत्वबारे जानकारी दिए।

ललितपुर । ललितपुरको कुपन्डोलस्थित आस्म लाइफस्टाइल अस्पतालले साझा यातायातका ६० जनाभन्दा बढी कर्मचारीलाई 'आधारभूत ट्रमा लाइफ सपोर्ट' तालिम दिएको छ।

न्याय हेल्थ नेपालसँगको सहकार्यमा भएको यो तालिममा सडक दुर्घटनाको अवस्थामा प्राथमिक उपचार, जीवनरक्षक सीप र दुर्घटना रोकथामका उपायबारे प्रशिक्षण दिइएको थियो। 

प्रशिक्षकहरूले दुर्घटनापछि ज्यान जोगाउन महत्वपूर्ण मानिने 'गोल्डेन पिरियड' अर्थात् पहिलो घण्टाभित्र गरिने प्राथमिक उपचारको महत्वबारे जानकारी दिए। अस्पतालका वरिष्ठ अर्थोपेडिक सर्जन डा. भास्कर राज पन्त, डा. सन्दीप भण्डारी, र डा. गौरव वीर बज्राचार्यले प्रशिक्षण दिएका थिए।

साझा यातायातका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार कनकमणि दिक्षितले यस्तो तालिमको प्रशंसा गर्दै यसले दुर्घटनापछि यात्रु तथा सर्वसाधारणको ज्यान जोगाउन चालक र सहचालकलाई सक्षम बनाउने बताए।

प्रशिक्षक डा. भास्कर राज पन्तले आवश्यकताअनुसार आगामी दिनमा थप २-३ चरणमा यस्ता तालिम सञ्चालन गरिने जानकारी दिए। उनले दुर्घटनापछि एक घण्टाभित्रै घाइतेलाई उपचारमा पुर्‍याउन सके धेरै जीवन जोगाउन सकिने बताए। उनले प्रत्येक सवारीसाधनमा 'फर्स्ट एड बक्स' अनिवार्य राख्नुपर्ने सुझाव पनि दिए।

आस्म अस्पतालका सीईओ डा. सन्तोष शाक्यले यस्ता तालिमले दुर्घटनाबाट हुने क्षति कम गर्न मद्दत पुग्ने बताए। उनले साझा यातायातका कर्मचारीलाई लक्षित गरी सुरु गरिएको यो तालिम आगामी दिनमा अन्य सार्वजनिक सवारीका कर्मचारीलाई पनि दिने योजना रहेको जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप