धरान उपमहानगरको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढ्यो
सारांश
- धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ।
- मेयर र उपमेयरबीचको मतभेदका कारण रोकिएको बजेट प्रक्रिया कार्यपालिका बैठकबाट संशोधनसहित पारित भएको छ।
- बजेट पारित नहुँदा विकास निर्माण, कर्मचारीको तलब र सामाजिक सुरक्षा भत्ता वितरणलगायतका काम रोकिएका थिए।
सुनसरी । लामो समयदेखि बजेटविहीन बनेको धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्ने प्रक्रिया अगाडि बढेको छ ।
उपमहानगरका प्रवक्ता सूर्यप्रसाद भट्टराईले शुक्रबार कार्यपालिका बैठकको बहुमतबाट संशोधनसहित बजेट सिलिङ पारित भएको र यही भदौ २६ गतेको नगर सभाबाट बजेट पारित गर्ने गरी प्रक्रिया अगाडि बढेको बताए ।
यहाँ उपमहानगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख अइन्द्रविक्रम बेघाबिचको मतभेदका बजेट प्रक्रिया अवरुद्ध हुँदै आएको छ । शुक्रबारको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तोकेको रु दुई अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ पारित गरेको छ । यद्दपि, यसमा नेकपा (एमाले) को असहमति छ ।
बैठकले पुँजीगत तर्फको कूल बजेट १० प्रतिशत कटौती गर्ने निर्णयसमेत गरेको छ । एमाले कार्यपालिका सदस्य सावित्री परियारले पेस गरेको उक्त संशोधन प्रस्तावमा बैठकले सर्वसम्मत समर्थन गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।
उनका अनुसार बैठकले ‘मेयर भिजन’ र ‘उपमेयर भिजन’ शीर्षकमा विनियोजित रकमलाई ‘नगर भिजन’ नामकरण गर्ने र यसअन्तर्गत करिब रु १५ लाख बराबरको योजना राख्ने निर्णय गरेको छ । पालिका गानका रूपमा छनोट भएको गीतमा प्रयोग भएको ‘श्रमिक’ शब्दलाई ‘श्रमदाता’ मा परिवर्तन गरी रेकर्ड गरिएको विषयमा विवाद उत्पन्न भएकामा यस सम्बन्धमा लेखकसँग परामर्श गरेर मात्र निर्णय गर्ने सहमति भएको छ ।
बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने र एमालेले प्रस्तुत गरेका बुँदागत सुझाव समेटी अर्को बैठकमा अनुमोदन गर्ने निर्णय गरेको पनि जनाइएको छ । थप विषयमा छलफल गर्न आइतबार कार्यपालिका बैठक बस्दै छ । उक्त बैठकमा नीति तथा कार्यक्रम, राजस्व पुनरावलोकन, नयाँ बसपार्क सञ्चालन प्रतिवेदन, सडक उपयोग सेवा शुल्क, दररेटलगायत विषयमा छलफल हुने प्रवक्ता भट्टराईले बताए ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक आर्थिक वर्षको बजेट असार १० भित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरपालिकाले हालसम्म बजेट ल्याउन सकेको छैन । बजेट पारित नहुँदा विकास निर्माण, कर्मचारीको तलब, सामाजिक सुरक्षा भत्ता वितरण, सार्वजनिक सेवा तथा अन्य आर्थिक कारोबार ठप्प छन् ।
यस्तो थियो विवाद
उपमहानगर प्रमुख राई र उपप्रमुख बेघाबिच श्रमदान कार्यक्रम, प्रशासकीय निर्णय र बजेट सिलिङ निर्धारणलगायत विषयमा उत्पन्न विवादका कारण कार्यपालिका बैठकसमेत बस्न सकेको थिएन । उपप्रमुखको नेतृत्वमा गत वैशाख ३० गते सम्पन्न राजस्व परामर्श समितिले करिब रु एक अर्ब ६० करोड १५ लाखको बजेट प्रस्ताव गरेको थियो । अन्तिम रूप दिनुअघि नै उनीहरूबिच मतभेद बढ्दै गएपछि कार्यपालिका बैठक बस्न नसकेर बजेट प्रक्रिया अवरुद्ध भएको हो ।
वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार बजेट पारित नहुँदा गत असार १ गतेयता विकास योजनाका ठेक्कापट्टा, सडक मर्मत, फोहोर व्यवस्थापन, स्वास्थ्य सामग्री आपूर्ति, कर्मचारीको तलब भुक्तानीलगायत काम रोकिएका छन् ।
यसअघि, उपमहानगरका २० वटै वडाका लागि करिब रु २१ करोड बराबरको बजेट सिलिङ निर्धारण गरेर एमालेको असहमतिबिच गत ४ गते वडामा पठाइएको थियो ।
यस्तै, श्रमदान कार्यक्रममा प्रयोग भएको तारजालीको भुक्तानी तथा वडा नं १६ स्थित नौलोबस्तीस्थित बहुभाषिक पाठशाला संरक्षणसम्बन्धी विवादले बजेट प्रक्रियामा अवरोध भइरहेको छ । उपमहानगर प्रमुख साम्पाङले सो कार्यको भुक्तानी नदिए अन्य योजनाको भुक्तानी रोक्ने चेतावनी दिइरहेका छन् भने उपप्रमुखसहित केही वडाध्यक्षले उक्त कार्यलाई गैर कानुनी भन्दै असहमति जनाइरहेका छन् ।
यस्ता विवादका बिच पटकपटकको छलफलपछि कार्यपालिकाले बजेट सिलिङ पारित गरेको छ । अब भने बाँकी प्रक्रिया अघि बढाउन सहज भएको उपमहानगरपालिकाले जनाएको छ । स्थानीयवासीले व्यक्तिगत विवाद र राजनीतिक खिचातानीका कारण नगरको समग्र विकास रोकिएकाप्रति दुःख व्यक्त गर्दै सबै पक्षलाई सहमति जुटाउन आग्रह गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण