आज न्वांगी पर्व मनाउँदै चेपाङ समुदाय
सारांश
- चेपाङ समुदायले भदौ २२ गते न्वांगी पर्व मनाउँदै आएका छन्, जुन यस वर्ष चितवनको कालिखोला क्षेत्रमा मनाइँदै छ।
- न्वांगी पर्व चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको छ, जसमा नयाँ अन्न खाने र पितृलाई चढाउने चलन छ।
- बागमती प्रदेश सरकारले चेपाङको बाहुल्यता भएका जिल्लामा सार्वजनिक बिदा दिने गरेको छ, र यो पर्व २०६३ सालदेखि सामूहिक रूपमा मनाउन थालिएको हो।
चितवन । चेपाङ समुदायले आज न्वांगी (छोनाम) पर्व मनाउँदैछन् । सो समुदायले राष्ट्रिय एवं धार्मिक पर्वका रूपमा न्वांगी पर्व हरेक वर्ष भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।
न्वांगी पर्व भदौ महिनाभरि नै मनाउने भए पनि २२ गते भने सामूहिक रूपमा भेला भएर विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाउँदै आएका छन् । यस वर्ष चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा देशभरका चेपाङ एकै ठाउँमा भेला भएर न्वांगी मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिए।
उनका अनुसार चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो गरी भदौ २२ गते राष्ट्रिय पर्व न्वांगीलाई उत्सवका रूपमा मनाउने गरिएको छ । उक्त उत्सवमा सहभागी हुन नपाउनेले आआफ्नो घर र टोलटोलमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रूपमा न्वांगी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौ महिनाभरि नै न्वांगी मनाउने परम्परा रहेको छ । उनले भने, “हामीले भदौ २२ गते न्वांगीलाई राष्ट्रिय रूपमा सामूहिक मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरूको कूलअनुसार भदौको पूर्णिमादेखि भदौ महिनाभरि नै मनाउने गरिन्छ ।” उनका अनसार चेपाङ जातिका ६४ वटा थर रहेका छन् ।
चेपाङ समुदायमा पितृलाई नचढाई र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ । न्वांगी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिन पनि रहेको उनले बताए ।
न्वांगीमा चेपाङ झाँक्री (पान्दे)ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वांगी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा चेपाङको सङ्ख्या ८४ हजार ३६४ जना छन् । चेपाङ समुदायका मानिसहरूको २६ जिल्लामा बसोबास रहेको पाइन्छ । चितवनमा मात्र चेपाङको सङ्ख्या ३५ हजार ६३७ छ । यसपछि मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६० र गोरखामा चार हजा २६८ जना रहेको जनगणना २०७८ को तथ्याङ्कले देखाएको छ । चेपाङहरूको राष्ट्रिय पर्व न्वांगीका अवसरमा बागमती प्रदेश सरकारले २०७९ सालदेखि चितवन, मकवानपुर र धादिङ गरी तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा दिँदै आाएको अध्यक्ष चेपाङले बताए । साथै गोरखाको गण्डकी गाउँपालिकाले पनि सार्वजनिक बिदा दिँदै आएको छ ।
चेपाङ समुदायले राष्ट्रिय पर्वका रूपमा आफ्नो घरघर र टोलमा मनाउँदै आएको न्वांगी पर्वलाई नेपाल चेपाङ सङ्घको अगुवाइमा २०६३ सालदेखि भने भदौ २२ गते सामूहिक रूपमा मनाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण