बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजीको प्रदर्शन

जेनजीको प्रदर्शनलाई समर्थन गर्न नेता र अभियन्ताको होडबाजी

सोमबार, २३ भदौ २०८२, १३ : ४०
सोमबार, २३ भदौ २०८२

काठमाडौँ । भ्रष्टाचार र बेथितिविरुद्ध ‘जेनजी’ युवाहरूको सडक प्रदर्शनलाई समर्थन गर्न राजनीतिक दल र तिनका नेताहरूको होडबाजी चलेको छ । 

सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि आक्रोशित भएका ‘जेनजी’ पुस्ताले सोमबार काठमाडौँको माइतीघरमा भेला भएर नयाँ बानेश्वर क्षेत्रसम्म स्वतःस्फूर्त विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न राजनीतिक दल, ती दलका नेताहरू, कलाकारदेखि विभिन्न सामाजिक व्यक्तित्वहरूले युवाहरूको मन जित्ने प्रयास गरेको देखिन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘जेनजी’को आक्रोश स्वाभाविक भएको बताएका छन् । सरकारले फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गरे पनि प्रचण्डले फेसबुकमार्फत नै ‘जेनजी’को आन्दोलनलाई समर्थन गरेका हुन् ।

केपी ओली नेतृत्वको गठबन्धन सरकार भत्काउन १४ महिनादेखि विभिन्न ‘प्लेटफर्म’ प्रयोग गरे पनि उनी सफल देखिएका छैनन् । सरकारमाथि चौतर्फी आक्रोश बढ्दै गएको बेला युवा पुस्ताको आन्दोलनमा उनले जस लिन खोजेको देखिन्छ ।

प्रचण्डले लेखेका छन्– ‘सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस् । भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन निरन्तर जारी छ ।’

यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिलाई सफा गर्नु जरुरी रहेको भन्दै जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । ‘निजी स्वार्थ केन्द्रित व्यक्तिवादी, स्वेच्छाचारी र भ्रष्ट राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्न राजनीतिलाई सफा गर्नु जरुरी छ । त्यसैले मैले भन्दै आएको छु, राजनीति सफा गरौँ र देश बदलौँ,’ उनले लेखेका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले ‘जेनजी’ पुस्ताको आवेग र विवेकमा देशको इतिहास बदल्ने शक्ति रहेको बताएका छन् । सहकारी बचत रकम ठगी आरोपमा नख्खु जेलमा रहेका उनले निजी सचिवालयमार्फत आन्दोलनको समर्थन गरेका हुन् ।

‘धेरैका लागि यो पहिलो प्रदर्शन हुन सक्छ । शासकहरूले तपाईंहरूसँग विधि र विवेकको शासन दिएनन्, सामाजिक सञ्जालको सानो ठाउँ पनि खोसे, तर तपाईंहरूको विवेक र आवेगसँग देशको इतिहास बदल्ने शक्ति छ’, उनले भनेका छन् ।

रविले मात्र होइन उनको पार्टी रास्वपाले पनि जेनजीको स्वतःस्फूर्त प्रदर्शनलाई प्रोत्साहन गरेको छ । आइतबार जारी गरेको विज्ञप्तिमा रास्वपाले भनेको छ, ‘सरकारको शृङ्खलाबद्ध कुशासन र राज्यशक्तिको दुरुपयोग, स्वतन्त्रता र मौलिक हक हननका विरुद्ध हामी सदनदेखि सडकमा आवाज निरन्तर उठाइरहेकै छौँ । यो परिप्रेक्ष्यमा जेनजी समेत सशक्त ढङ्गले सडकमा आउन आँट्नु उल्लेख्य राजनीतिक परिघटना हो ।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहने घोषणा गरिसकेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रर्दशनमा कुनै दलका नेता, कार्यकर्ता, सांसद लगायतलाई स्वार्थ पूरा गर्न बाठो नबन्न सचेत गराएका थिए ।

‘स्वतःस्फूर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, बहुला अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीको कारण जान मिल्दैन तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपूर समर्थन छ’, उनले लेखेका थिए ।

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको विरोध गर्दै सुरु भएको जेनजी पुस्ताको आन्दोलनलाई समर्थन गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्– ‘नेपालको भविष्य ऊर्जाशील र दूरदर्शी तपाईं युवाहरूको काँधमा छ । यो अभियानले नेपाली युवाहरूको आवाज, सपना र दृढ संकल्पलाई प्रतिनिधित्व गर्दछ । तपाईंहरूको उत्साह, सिर्जनशीलता र प्रतिबद्धता नै राष्ट्रलाई समृद्धि, समानता र दिगो विकासतर्फ लैजाने असली शक्ति हो । हामी सबै–युवा, नागरिक र नेतृत्व एकै ठाउँमा उभिएर उज्यालो नेपाल बनाउन सक्छौँ ।’

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘जेनजी’ पुस्ताका केही व्यक्तलाई आफ्नै निवासमा बोलाएर स्वागत गरे । उनीहरू सँगको कुराकानीबाट आफूले पाँच वर्षदेखि उठाउँदै आएका मुद्दा साझा र दीर्घकालीन रहेको जिकिर गरेका छन् ।

‘छोटो तर सार्थक संवादले अझ प्रस्ट पारिदियो कि हामीले विगत पाँच वर्षदेखि उठाउँदै आएका मुद्दाहरू साझा र दीर्घकालीन महत्त्वका रहेछन् । हामी सबै एउटै निष्कर्षमा पुग्यौँ— आन्दोलन उमेरको विषय होइन । भ्रष्टाचारले सबै उमेरका नागरिकलाई गाँजेको छ । त्यसैले भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्नु, अन्यायविरुद्ध लड्नु र आफ्ना आवाज बुलन्द गर्नु प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो’, प्रसाईंले लेखेका छन् ।

प्रदर्शनकारीले निषेधित घेरा तोडेर संसद भवनभित्र प्रवेश गरेपछि स्थानीय प्रशासनले सोमबार काठमाडौँको नयाँ बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यु  जारी गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप