जेनजी आन्दोलन : व्यवसायी भन्छन्– 'देश अब शान्त हुनुपर्छ'
सारांश
- जेनजी प्रदर्शनमा ३० जनाको मृत्यु, प्रदर्शनकारीले सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरे।
- भाटभटेनी सुपरमार्केटका १२ वटा स्टोर पूर्ण रूपमा क्षति, विनोद चौधरीको सीजी इलेक्ट्रोनिक्समा आगजनी, र अन्य व्यवसायिक प्रतिष्ठानहरूमा पनि क्षति पुग्यो।
- व्यवसायीहरूले देशमा शान्ति स्थापना गर्न र व्यावसायिक वातावरण बनाउन आवश्यक रहेको बताएका छन्, जसले अर्थतन्त्रमा नकारात्मक असर पारेको छ।
काठमाडौँ । सोमबारदेखि सुरु भएको शान्तिपूर्ण भनिएको जेनजी प्रदर्शनमा ३० जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन १९ जनाको ज्यान गएपछि मङ्गलवार प्रर्शनकारीहरु आक्रोशित हुँदै ध्वंसात्मक रुपमा उत्रिँदा नेता तथा निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी भएको थियो ।
प्रदर्शनकारीहरूको निसानामा सरकारी र निजी सम्पत्तिमाथि हुँदा देशभरका सबैजसो सरकारी कार्यालयहरूमा तोडफोड, लुटपाट र आगजनी भएको छ ।
नक्सालस्थित हिल्टन होटलबाट सुरु भएको तोडफोड र आगजनी बेलुकासम्म सिंहदरबारसम्म पुगेको थियो । मङ्गलवार सरकारी सम्पत्तिहरू सिंहदरबार, संसद् भवन,सर्वोच्च अदालत, विशेष, जिल्ला अदालत, राष्ट्रपति कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा समेत आगजनी भएका छन् ।
आन्दोलनकारीहरूले मीनबहादुर गुरुङले देशभर सञ्चालनमा रहेका १२ वटा भाटभटेनी सुपरमार्केटका स्टोरमा आगो लगाए भने ८ वटामा आंशिक असर परेको छ । प्रदर्शनकारीले चितवन र विराटनगर, हेटौँडामा रहेका भाटभटेनी सुपर स्टोर पनि तोडफोड गरेर लुटपाट गरेका छन् ।
आगलागीका कारण १२ वटा स्टोरका भवन, स्टक र सम्पत्ति पूर्ण रूपमा नष्ट भएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले बताए।
उनले भाटभटेनीका देशभरगरी १२ वटा स्टोरहरु पूर्ण रूपमा क्षति भएको छ भने ८ वटा भन्दा बढीमा आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको बताए ।
उनका अनुसार क्षति भएका १२ वटा स्टोरमा सामान र भवन गरी अबौंँको क्षति भएको छ । प्रत्येक स्टोरमा ४० देखि ५० करोड बराबरको लगानी गरेकोले कुल क्षतिको पूर्ण विवरण भने अझै आकलन भइरहेको छैन । उनका अनुसार भाटभटेनीमा देशभर गरी १० हजार भन्दा बढीलाई रोजगारी दिएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीको काठमाडौँ सतुसंगलस्थित चौधरी ग्रुप (सीजी) को घरायसी सामग्री उत्पादन तथा एसेम्बल गर्ने उद्योग सीजी इलेक्ट्रोनिक्समा आगजनीबाट पूर्ण रूपमा क्षति भएको छ ।
सीजी इलेक्ट्रोनिक्समा रेफ्रिजिरेटर, माइक्रो ओभन, टेलिभिजन, वासिङ मेसिन उत्पादन तथा एसेम्बल गर्ने गरेको थियो । त्यस्तै, सीजीको भैरहवा र थापाथलीस्थित सीजी मोटर्सको शोरुम पनि तोडफोड भएको छ ।
त्यस्तै, क्याप्टेन रामेश्वर थापाको तीनकुनेस्थित सिम्रिक एयरको कार्यालय पनि तोडफोड र आगजनी भएको छ । बत्तीसपुतलीस्थित मारवाडी सेवा समितिले सञ्चालन गरेको व्यावसायिक भवनमा पनि तोडफोड र आगजनी भएको छ । थापाथलीमा रहेका हुण्डाई, सिप्रदी अटोपार्टसको सोरुङ लगायत अन्य सोरुङहरुमा आगजनी भएको छ ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालको आइएमई समूहले लगानी गरेको चन्द्रागिरि केबलकार र मौलाकाली केबलकारको तल्लो स्टेसनमा आगजनी तथा तोडफोड भएको छ । उद्योगी शेखर गोल्छाको घरमा पनि तोडफोड तथा आगजनी गरिएको छ ।
त्यस्तै,कलंकी क्षेत्रमा रहेका केएफसी तथा अन्य पसलहरूमा पनि ठुलो क्षति भएको छ । जेनजीको शान्तिपूर्ण आन्दोलनमा निजी क्षेत्रको समेत समर्थन थियो । तर उक्त आन्दोलनले निजी सम्पत्तिमा समेत ठुलो क्षति पुगेको छ ।
अब देशमा शान्त वातावरण बन्नुपर्छ : व्यवसायी
व्यवसायीहरूले निजी क्षेत्रको सम्पत्ति तोडफोड, लुटपाट र आगजनी हुनु दुःखद पक्ष भएको धारणा राखेका छन् । हजारौँलाई रोजगारी दिएको क्षेत्रलाई निसाना गर्नु गलत भएको भन्दै उनीहरुले अब देशमा शान्ति हुन आवश्यक रहेकोे बताए ।
व्यवसायीक प्रतिष्ठानहरूमा आगोलागी र तोडफोड भए पनि आफूहरू सुरक्षित रहेको उनीहरूको भनाई छ । व्यवसायीहरूले दुई दिनको आन्दोलनले देशमा भएको विषम परिस्थितिमा जतिसक्दो चाँडो शान्ति स्थापना गर्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष शेखर गोल्छाले अब कसरी अगाडि बढ्ने विषयमा व्यवसायीहरूबिच छलफल भइरहेको बताए । उनले अब के ? भन्ने सवालमा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष तथा प्रतिष्ठित व्यवसायीसँग संवाद गर्न थालेको बताए ।
उनले भने,‘व्यवसायीहरूको व्यवसाय र घरमा आगोलागी र तोडफोड भएको छ । तर हामी ठिक छौँ, अब देशको वातावरण शान्त बनाउनुपर्छ ।’
त्यस्तै राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले अब मुलुकमा शान्त वातावरण बनाएर जान आवश्यक रहेको बताए । उनले आन्दोलनमा जे भए पनि अब मुलुकमा शान्ति र व्यावसायिक वातावरण बनाएर जान आवश्यक भएको बताए ।
उनले भने, ‘अब मुलुकमा शान्तिको वातावरण बनाएर जानुको विकल्प छैन । अहिलेको विषम परिस्थितिमा शान्त वातावरण बनाएर जानु आवश्यक छ । त्यो वातावरण बनोस् भन्ने छ ।’
जेनजी आन्दोलनका कारण निजी कर्पोरेट हाउसहरू तोडफोड, लुटपाट र आगजनी हुँदा त्यसको प्रत्यक्ष असर रोजगारी परेको देखिन्छ । त्यस्तै, राज्यको आम्दानी, कर, राजस्वमा समेत असर पर्दा अर्थतन्त्रमै ठुलो प्रभाव पर्ने अवस्था सिर्जना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण