शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘म भ्रष्ट वा तस्कर थिइनँ, मुलुकमै उद्यम गरेर के गल्ती गरेँ ?’ : अटो व्यवसायी थापा

शुक्रबार, २७ भदौ २०८२, ११ : ४९
शुक्रबार, २७ भदौ २०८२

काठमाडौँ । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का निवर्तमान अध्यक्ष ध्रुव थापाले भावुक स्टाटस लेखेका छन् । उनले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । 

शुक्रबार फेसबुकमा स्टाटस लेख्दै थापाले आफू भ्रष्ट वा तस्कर नभए पनि किन निसाना बनाइयो भन्दै प्रश्न गरेका छन् । जेनजी समूहले उनको व्यवसायमा पनि आगजनी गरेका थिए ।

उनले लेखेका छन्-

म कुनै राजनीतिक मान्छे थिइन। न कुनै भ्रष्ट वा तस्कर। १७ वर्षको उमेरदेखि कलेज पढ्दै उद्यम गर्न सुरु गरेको थिएँ। कति आरोह अवरोह र जोखिम मोलेर यो स्थितिमा आइपुगेको अवस्था हो। आफूले मात्रै उद्यम व्यवसाय गरिन् अरू धेरैलाई पनि सिकाएँ। नेपालमै उद्यम गर्नुपर्छ। नेपालमै सम्भावना धेरै छ भन्दै अभिप्रेरित गर्दै आएको छु। आफूले उद्धम व्यवसायबाट केही कमाउँदा समाजको लागि पनि योगदान गरिरहेको छु। युवा उमेर देखि नै सामाजिक र मानवीय सेवामा लागिरहेको छु। म मात्र होइन हामी हामी दम्पति नै लागिरहेका छौँ।

७२ सालको भूकम्पको बेला होस् वा कोभिडको समयमा, थुप्रै सङ्ख्यामा एम्बुलेन्सहरू आयात गरेर विभिन्न संघ संस्थाहरूलाई निःशुल्क प्रदान गर्‍यौँ। जुन आजका दिनसम्म पनि नेपालका विभिन्न स्थानमा सेवा पुर्याइरहेका छन्। हामी दम्पतीले विभिन्न  सामाजिक सङ्घसंस्थाहरू मार्फत पनि देश र समाजलाई दुःख पर्दा आफ्नो व्यापार व्यवसाय छोडेर पनि मानवीय सेवाका लागि पहिलो प्राथमिकतामा राखेर योगदान गर्दै आएका छौँ।

आजका दिनसम्म आफूले जानेर बुझेर कुनै गलत कार्य गरेको जस्तो लाग्दैन तर यस्तो गरिरहँदा पनि आज आफू बस्ने घर अफिस जलाइँदा मन पनि जल्दो रहेछ। जलेको घरको आगोसँगै मेरा ती सबै उत्साह पनि जलेर खरानी भइरहेका छन्। जलेर खण्डहर भएको घर हेर्दा नेपालमा बसेर व्यवसाय गर्नु नै गल्ती गरिएछ कि भन्ने लागिरहेछ। मेरा बुवा बाजेहरूले आर्जेको जग्गामा बनाइएको यो घरसँग मेरो ३५ वर्षदेखिको मेहनत र पसिना जोडिएको थियो तर एकैछिनमा सबै खरानी बनाइदिए।

सम्पत्ति घर गुमाउनु को पीडा त एकातिर छँदै थियो त्यो पीडा भन्दा पनि धेरै पीडा हाम्रो परिवार कै सदस्य भएर बसेकी घरको काम गर्ने बहिनीलाई गुमाउनु पर्दा भइरहेको छ। घटना हुनु केही क्षण अघि मात्रै हामी सबै परिवारलाई खाना बनाएर खुवाएकी ती बहिनी एकछिनमै बर्बरतापूर्वक जिउँदै आगोमा जलाएर मारिन्छिन् भनेर कल्पना पनि नगरेको विभत्स घटना व्यहोर्नु परेको छ। घरमा मान्छे छन् भने जानकारी हुँदाहुँदै तलबाट आगो लगाउने कामले गरेका हुन् वा त्यहाँ भित्र अरू नै कोही थिए समयक्रमले बताउँदै जाला तर जोसुकै हुन् ती क्रूर अपराधीहरू भोलिका दिनमा कुनै राजनीतिक खोल ओढेर उम्किन नपाउन्।

अहिलेको आन्दोलनमा मेरो दाजु बिन्दु थापासँग मलाई जोडिएको छ। दाइ राजनीतिमा हुनुहुन्छ। उहाँ व्यवसायमा सफल भएपछि राजनीतिमा लागेर सेवा गर्छु भनेर हिँड्नुभयो। के राजनीति गर्नु नै अपराध हो? उहाँ राजनीतिमा लाग्नुभन्दा धेरै पहिला देखि नै पोखराको एक सफल व्यवसायीको रूपमा चिनिनुहुन्थ्यो। 

अनि अर्को कुरा उहाँलाई भ्रष्टाचार गरेको र भ्रष्टाचारबाट प्राप्त रकम उहाँको छोराहरूले मोजमस्ती गरेको भनेर जुन प्रकारले सोसल मिडियामा सयौँको सङ्ख्यामा फेक आइडी बनाएर देखाइयो त्यो बिलकुल निराधार र कपोलकल्पित छ। उहाँको बढ्दो लोकप्रियता देखेर उहाँको इमेज ड्यामेज गराई राजनीतिक अभीष्ट पूरा गर्न रचिएको योजना हो त्यो। 

हुन त यो क्षेत्रका आम जनताले राम्रोसँग बुझेका छन् उहाँको बारेमा। एउटा महत्त्वपूर्ण कुरा के भने, हामीहरूको परिवार अहिले मात्र होइन पुर्खादेखि नै जनताको पैसा भ्रष्टाचार गरेर कमाउनुपर्ने अवस्थामा छैनौँ। यो देश निर्माण गर्न हाम्रो पुर्खाको पनि महत्त्वपूर्ण योगदान छ। उनीहरूकै सन्तान हौँ हामी। यसैले हामीलाई यो देशको अझ बढी माया छ। मेरो दाजुले पनि विगत देखि नै सांसद र मन्त्री हुँदा प्राप्त गरेको सम्पूर्ण तलब भत्ता समेत सामाजिक कामका लागि डोनेसन गर्दै आउनुभएको छ। उहाँ नेपालमा भएका एकदमै कम मात्र स्वच्छ छवि भएका राजनीतिक नेतामध्ये मध्ये एक हुनुहुन्छ।

जसले आफूसँग भएको सम्पूर्ण चल अचल सम्पत्ति पारदर्शिताका साथ सबै जनताका  सामु राखिदिनुभएको छ। भ्रष्टाचार गरेको भए वा पछि गर्ने योजना भएको भए कसैले यस्तो गर्थ्यो होला र?

यो अत्यन्त पीडादायी क्षणहरूमा हामीप्रति सहानुभूति प्रकट गर्दै हाम्रो आत्मबल कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनुभएका सम्पूर्ण महानुभावहरू प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु। यहाँहरूले प्रदान गर्नुभएको उत्प्रेरणाका वचनहरूले हामीलाई पहिलेको भन्दा पनि अझै सशक्त भएर अगाडि बढ्ने हौसला मिलेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप