बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कोशी प्रदेश : जेनजी विद्रोह

विर्तामोडमा थप एक जनाको मृत्यु, मृतकको संख्या चार पुग्यो

भौतिक संरचनामा भएको क्षतिको विवरण सङ्कलन हुँदै
शुक्रबार, २७ भदौ २०८२, १२ : ०९
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • विराटनगरमा जेनजी विद्रोहको क्रममा प्रहरीसँगको झडपमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।
  • विर्तामोड र इटहरीमा भएका झडपमा अन्य व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ।
  • कोशी प्रदेशमा झडपबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ, जसमा प्रहरी र नेपाली सेना संलग्न छन्।

विराटनगर । जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ–२ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बीएनसी हस्पिटलमा उपचार भइरहेको थियो ।

भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता एवं डीएसपी खगेन्द्र बहादुर खड्काले भने, ‘उनको मृत्यु भएको भन्ने जानकारी अस्पतालबाट आएको छ । उनको गोली लागेर मृत्यु भएको हो । तर, प्रहरीको हतियार खोसिएको थियो । खोसिएको हतियार पड्काउँदा उनलाई गोली लागेको हो कि के हो भन्ने बुझ्न सकिएको छैन ।’

विर्तामोडकै झडपका क्रममा यसअघि झापा अर्जुनधाराका अन्दाजी ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । जेनजी विद्रोहकै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी १४ का मोहन सरदारको मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने नआइसकेको बताए । ‘हामी विवरणहरू सङ्कलन गरिरहेका छौँ । अहिलेसम्म यकिन विवरण आएको छैन,’ उनले भने ।

भौतिक संरचना क्षतिको विवरण सङ्कलन गरिँदै

प्रदेश प्रहरीका अनुसार क्षतिको विवरण सङ्कलन गर्ने क्रम जारी छ । ‘टोलीहरू परिचालन गरिएको छ । भौतिक संरचनाको क्षतिको पूर्ण विवरण आउन अझै एक–दुई दिन लाग्नेछ,’ प्रहरी वरिष्ठ उपरीक्षक पोखरेलले भने, ‘अझै प्रहरी सबै ठाउँमा पुगिसकेको छैन ।’

क्षतिको विवरण सङ्कलनमा प्रहरीका साथै नेपाली सेनाले पनि काम गरिरहेको उनले बताए । ‘सबै निकायबाट विवरण सङ्कलन भएपछि संयुक्त अप्रेसन टोलीमा शेयर हुन्छ । त्यसपछि मात्रै फाइनल रिपोर्ट सार्वजनिक होला,’ उनले भने ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा भएका झडपहरूमा केही प्रहरी घाइते भए पनि गम्भीर घाइते कोही नभएको उनले बताए ।

‘सामान्य घाइते भएका प्रहरीहरू उपचारपछि आफ्नो युनिटमा फर्किसकेका छन्,’ पोखरेलले भने, ‘सम्पर्कविहीन भएका करिब ८–१० जना प्रहरी पनि सम्पर्कमा आइसकेका छन् । उनीहरू पनि सुरक्षित छन् ।’

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनापछिको अवस्था र क्षतिको विवरण सङ्कलन सुरु नै नभएको बताए । ‘काम कसरी र कहाँबाट गर्ने भन्नेबारे कुनै टुङ्गो लागेको छैन । सम्बन्धित कार्यालयहरूलाई आ–आफ्नो क्षतिको विवरण तयार गर्न अनुरोध गरिएको छ । प्रहरीहरू आफ्नो दैनिक काममा व्यस्त भएकाले क्षतिको मुचुल्का गर्न जाने अवस्था छैन,’ यादवले भने ।

उता, जेनजी आन्दोलनका क्रममा आगजनी भएका विराटनगरका सरकारी कार्यालयहरूको फोहोर सफा गर्न थालिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरमा जलेको खरानी सफा गर्ने, पन्छाउने कामसँगै नष्ट भएका सामानहरूको विवरण सङ्कलन गर्ने काम सुरु गरेको हो ।

यसैगरी आजैबाट विराटनगर महानगरपालिका, मोरङ जिल्ला अदालत, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय आदिका कर्मचारी पनि कार्यालयमा उपस्थित भएर सरसफाइमा बिहानैबाट जुटेका हुन् । आगलागीबाट धेरै क्षति भएको र सबैको विवरण सङ्कलन गर्न र सफाइ गर्न अझै केही दिन लाग्ने उनीहरूले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप