शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

विराटनगर भन्सारमा मालसामानको चाप, ९ सय भन्दाबढी मालवाहक रोकिए

शुक्रबार, २७ भदौ २०८२, १४ : १२
शुक्रबार, २७ भदौ २०८२

विराटनगर । जेनजी आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयमा २४ गतेदेखि मालसामानको आवागमन ठप्प हुँदा करिब नेपाल र भारततर्फ ९ सय भन्दा बढी मालवाहक ट्रकहरू रोकिएका छन् । 

यसैबिच बजारमा अत्यावश्यक वस्तुको माग बढेको र केही नासिने वस्तु बिग्रन थालेपछि भन्सार कार्यालयले आजदेखि अत्यावश्यक तथा नासिने वस्तुको जाँचपास सुरु गरेको छ ।

भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठले विशेषगरी पेट्रोलियम पदार्थ (एलपी ग्यास) र तरकारी, फलफूलजस्ता नासिने वस्तुहरूको जाँचपास सुरु गरिएको जानकारी दिए । 

लामो समयदेखि भन्सारमा रोकिएका कारण केही नासिने वस्तुहरू बिग्रन थालेको भन्दै व्यवसायीहरूले गुनासो गरेपछि यस्तो निर्णय लिइएको हो । भन्सारमा निकासीका लागि ल्याइएको एक ट्रक बन्दा बिग्रिएको श्रेष्ठले बताए ।

भन्सार कार्यालयले काम सुचारु गर्न तयारी अवस्थामा रहेको बताए पनि व्यवसायीहरूले आफ्ना मालवस्तु सुरक्षित रूपमा गन्तव्यमा पुग्ने सुनिश्चित नभएको भन्दै घोषणा (डिक्यलेर) गर्न आनाकानी गरिरहेका छन्। भन्सार प्रमुख श्रेष्ठका अनुसार व्यवसायीले मालवस्तु घोषणा नगरेसम्म भन्सार प्रक्रिया अगाडि बढाउन सकिँदैन । यसले गर्दा भन्सार प्रशासन तयार भए पनि पूर्ण रूपमा काम अगाडि बढ्न सकेको छैन ।

आन्दोलनका क्रममा भन्सार कार्यालयमा सामान्य क्षति भएको उनले बताए । उनका अनुसार भन्सारको गेटमा आगजनी भएको थियो भने बैंकमा लुटपाट भएको छ । 

यद्यपि, बैंकबाट पैसा भने लुटिएको छैन। समग्रमा भएको क्षति सामान्य रहेकाले भन्सारको काममा कुनै अवरोध नहुने जनाइएको छ ।

विराटनगर भन्सार कार्यालयको नेपाली भूभागमा करिब ४०० मालवाहक ट्रकहरू लाइनमा रहेका छन्। सोही घटना भएको दिन भारतबाट जाँचपासका लागि तयार भएका १५० भन्दा बढी गाडी अझै भारतमै रोकिएका छन् । 

यसबाहेक भारतीय भूभागमा पनि त्यत्तिकै सङ्ख्यामा वा त्योभन्दा बढी गाडीहरू रोकिएका हुनसक्ने उनको अनुमान छ । भारततर्फ रोकिएका गाडीहरूलाई बाटोमै राख्न भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप