शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन सीएनआईको आग्रह

शनिबार, २८ भदौ २०८२, ०६ : ५७
शनिबार, २८ भदौ २०८२

सारांश

  • नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ।
  • परिसंघले आन्दोलनका क्रममा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ।
  • लगानीकर्ता त्रसित भइरहे स्वदेशी तथा विदेशी लगानी घट्ने भन्दै परिसंघले सुरक्षाको प्रत्याभूति दिन आग्रह गरेको छ।

काठमाडौँ । नेपाल उद्योग परिसंघले निजी क्षेत्रलाई सुरक्षाको प्रत्याभूति दिलाउन आग्रह गरेको छ । शुक्रवार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो जनाएको हो ।परिसंघले देशभर भएको आन्दोलन तथा प्रदर्शनका क्रममा भएको धनजनको क्षतिप्रति नेपाल उद्योग परिसंघ गहिरो दुःख व्यक्त गरेको छ । 

आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका युवाहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । 

परिसंघले भनेको छ,‘ सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्नेलगायतका युवा पुस्ताको आकाङ्क्षालाई उच्च महत्व दिइ मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास परिसंघले लिएको छ । विद्यमान अन्यौलतालाई चिर्दै अगाडि बढ्नुपर्ने आम नेपालीको चाहना बमोजिम मुलुकमा शान्ति, सुव्यवस्था कायम हुने विश्वास लिएका छौं । यसका लागि आवश्यक सहयोग, सहकार्य एवं समन्वय गर्न परिसंघ प्रतिबद्ध छ ।’

आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको परिसंघले बताएको छ । 

परिसंघले औद्योगिक एवं व्यावसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको बताएको छ ।

लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्बाध रुपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघ आग्रह गरेको छ । 

सार्वजनिक एवं निजी क्षेत्रका संरचना पुनर्निर्माण लागि खर्बौँ लगानी आवश्यक पर्ने देखिन्छ । राज्यको स्रोतले मात्रै पुननिर्माण गर्न सक्ने अवस्था छैन । राज्यको प्रमुख आय स्रोत पनि निजी क्षेत्र नै भएको हुँदा त्रास एवं भय मुक्त भई उद्योग व्यवसाय गर्ने वातावरण सुनिश्चित गर्न परिसंघ आग्रह गरेको छ । 

अप्ठ्यारोमा परेको मुलुकको अर्थतन्त्रलाई सबै मिलेर अगाडि बढाउने वातावरण बनाउनु सबैको कर्तव्य समेत हुन आउने बताएको छ । विज्ञप्तिमा भनेको छ,‘ नयाँ पुस्ताले चाहेको आकाङ्क्षालाई मूर्तरूप दिई मुलुकलाई नयाँ चरणमा प्रवेश गराउने कार्यमा आजैका दिनदेखि नै गम्भीर प्रयत्नशील बन्नुपर्ने हाम्रो बुझाई छ । युवा पुस्ताको चाहनालाई सफल बनाउन निजी क्षेत्रले आफ्नोतर्फबाट सशक्त रुपमा प्रयत्न गर्ने प्रतिबद्धता बिहीबार साँझ सम्पन्न परिसंघको राष्ट्रिय परिषद बैठकले गरेको जानकारी समेत गराउन चाहन्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप