बाहिरी तत्त्वहरूको षड्यन्त्रमा आगजनी र विनाश भयो : मेयर आचार्य
सारांश
- पोखराका मेयर धनराज आचार्यले भ्रष्टाचारविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
- मेयर आचार्यले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेको र जनधनको क्षति भएको बताए।
- उनले महानगरपालिकाको कार्यपालिका बैठकबाट नगरवासीका आवश्यक सेवालाई निरन्तरता दिने निर्णय लिने बताए।
पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनप्रति आफ्नो अटल ऐक्यबद्धता रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर आचार्यले सो कुरा बताएका हुन् ।
उनले घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहहरूले भने आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेको बताएका छन् । मेयर आचार्यले पोखरामा भएको जनधनको क्षतिप्रति महानगर प्रमुखका हैसियतले गहिरो दुःख प्रकट गर्दै आगजनी र विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्त्वहरूको षड्यन्त्रपूर्ण गतिविधिबाट भएको बताएका छन् । उनले सम्पूर्ण क्षतिको विवरण प्रशासनको तर्फबाट सङ्कलन भइरहेको समेत बताएका छन् ।
आज पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवाहरूलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिने समेत उनले बताएका छन् ।
यस्ताे छ उनकाे स्टाटस्-
आदरणीय महानगरवासी बुवा आमा दाजुभाइ दिदीबहिनीहरु नमस्कार !!
हालै भएको जेनजी आन्दोलनका क्रममा दिवङ्गत भएका प्रिय भाइ बहिनीहरूप्रति म भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। देशले आफ्ना सपना बोकेका असङ्ख्य आँखाहरू गुमाएको यो पीडामा मेरो मन असाध्यै भारी भएको छ। साथै उक्त जेनजी आन्दोलनका क्रममा घाइते हुनु भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।
आज नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय सुरुआत भएको छ। नेपालले पहिलो पटक महिला प्रधानमन्त्री पाएको ऐतिहासिक अवसरमा म सम्माननीय प्रधानमन्त्री श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनप्रति मेरो अटल ऐक्यबद्धता छ। तर, घुसपैठ गरेर विनाश फैलाउने असामाजिक समूहहरूले आन्दोलनको पवित्र उद्देश्यलाई बिगारेका छन्, जसको परिणामस्वरूप जनधनको ठुलो क्षति भएको छ। पोखरामा भएको जनधनको क्षतिप्रति महानगर प्रमुखका हैसियतले म गहिरो दुःख प्रकट गर्दछु। जनताको नजिकको सरकारका रूपमा रहेको स्थानीय सरकारका सम्पूर्ण नागरिकका महत्त्वपूर्ण कार्यालयहरूमा गरिएको आगजनी र विनाश आन्दोलनकारी युवाभन्दा बाहिरी तत्त्वहरूको षड्यन्त्रपूर्ण गतिविधि हो भन्ने स्पष्ट तथ्य हामीसँग छ। यस सम्पूर्ण क्षतिको विवरण प्रशासनतर्फबाट सङ्कलन भइरहेको छ।
आज पोखरा महानगरपालिकाको कार्यपालिका बैठक बसेर नगरवासीका अत्यावश्यक सेवाहरूलाई कसरी निरन्तरता दिन सकिन्छ भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिँदैछ। यस कठिन परिस्थितिमा सम्पूर्ण नगरवासीहरूलाई धैर्यपूर्वक साथ दिन हार्दिक अनुरोध गर्दछु।
म बस्दै आएको मेरो निवास आजभन्दा २० वर्षअघि निर्माण गरिएको हो ।आन्दोलन चलेको बेला पारेर स्वार्थ बोकेर आएका घुसपैठीहरूले हाम्रो घर ध्वस्त पारिदिए ।
यस विषयमा कडाइका साथ स्पष्ट अभिव्यक्ति गर्न चाहन्छु कि म महानगर प्रमुख बनेपछि मैले कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने मासिक सुविधा समेत विद्यार्थी शिक्षा दान र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको तथ्य जगजाहेर छ। म विगत ३३ वर्षदेखि विभिन्न पेसा र व्यवसायमा संलग्न रहँदै आएको व्यक्ति हुँ, मेरो जीवन पोखरेलीहरूसामु सधैँ खुला किताबझैँ छ।
३ वर्ष महानगरको नेतृत्व गरिरहँदा मैले कुनै अनैतिक कार्य गरेको छैन। केही स्वार्थी समूहहरूले आफ्ना गलत काम नगरिदिएको कारण तथा निहित स्वार्थका आधारमा म र मेरो परिवारलाई निरन्तर बदनाम गर्ने, अफवाह फैलाउने र मानसिक यातना दिने कार्य भइरहेको तथ्यप्रति म पूर्ण रूपमा सजग छु।
मैले आजसम्म कसैको कुभलो गरेको छैन, भविष्यमा पनि गर्ने छैन। तर, जसले यस विनाशकारी घटनाको योजना बनाए, साथ दिए वा आगजनी, तोडफोड मात्र नभई लुटपाटसम्ममा संलग्न भए—तिनीहरूलाई यस्ता गलत बाटो र अनुचित कार्यमार्फत मात्र बाँचिरहन परिरहोस् भन्ने प्रार्थना गर्न सक्छु। किनकि सत्यलाई कहिल्यै दबाउन वा रोक्न सकिँदैन, सत्य सधैँ सत्यकै रूपमा रहन्छ।
यस कठिन समयमा मसँग देखाइएको सान्त्वना, सद्भाव र सहयोगका लागि सम्पूर्ण इष्टमित्र, साथीभाइ तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण