बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजी आन्दोलनमा लुटपाट भएका सामान सङ्कलन गर्दै मकवानपुर प्रहरी

शनिबार, २८ भदौ २०८२, १२ : १८
शनिबार, २८ भदौ २०८२

सारांश

  • हेटौँडामा जेनजी आन्दोलनका क्रममा भएको लुटपाटमा संलग्नहरूमाथि प्रहरीले कारबाही थालेको छ।
  • प्रहरीले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी भएका दुई ट्रक सामान बरामद गरेको छ।
  • लुटपाटमा संलग्न केही व्यक्ति पक्राउ परेका छन् र अन्य सामानको खोजी भइरहेको छ।

मकवानपुर । गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा हेटौँडामा लुटपाट घटनामा संलग्नहरूमाथि प्रहरीले कारबाही तीव्र पारेको छ । सोही क्रममा शनिबार बिहान प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४, कर्राबाट बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट चोरी गरिएको दुई ट्रक सामान बरामद गरेको छ ।

आन्दोलनको फाइदा उठाउँदै विभिन्न अवाञ्छित व्यक्ति र समूहले सरकारी तथा सार्वजनिक कार्यालयहरू र व्यक्तिका घर तथा व्यवसायीक प्रतिष्ठानहरूमा पसेर लुटपाट तथा आगजनी गरेका थिए । सोही क्रममा हेटौँडा १० स्थित स्वास्थ्य मन्त्रालयबाट दराज, टेबल, कुर्सी, कम्प्युटरलगायतका सामग्री आन्दोलनकै क्रममा लुटपाट गरिएको थियो ।

ती सामानहरू स्थानीयको सूचना र सहयोगमा वडा प्रहरी कार्यालय सानो पोखराले कर्राबाट बरामद गरेको हो । प्रहरीका अनुसार, लुटपाटमा संलग्न केही व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको छ । पक्राउ परेका व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटना भएको राति दुई वटा ट्रकमा सामान लोड गरेर कर्रातर्फ लगिएको स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए । सोही आधारमा खोजतलास गर्ने क्रममा ती सामाग्रीहरु फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

6b1cf098-62c6-4755-b616-5e03cd47d58f

यसअघि शुक्रबार मात्र मकवानपुर प्रहरीले आम सर्वसाधारणलाई अपिल गर्दै लुटपाटमा संलग्नलाई नछोप्न र लुटिएको सामग्री वा भिडियो प्रमाणहरू तत्काल प्रहरीलाई उपलब्ध गराउन आग्रह गरेको थियो ।

मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले लुटपाटमा संलग्न कसैलाई पनि नछोडिनेछ भन्दै घटनामा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने र दोषी ठहरिए कारबाही गर्ने बाएका छन् । उनका अनुसार शनिवार बरामद सामग्री सुरक्षित गरिएको र बाँकी सामानहरू पनि खोजी भइरहेको छ ।

कर्राका स्थानीय नीरजसिंह ठकुरीले समुदायकै सक्रियतामा लुटपाटमा संलग्नको निगरानी गरेर बरामद सामग्री प्रहरीलाई बुझाउन सहयोग गरिएको बताए । २४ भदौ आन्दोलनपछि राजधानीदेखि विभिन्न प्रदेशसम्म सरकारी तथा गैरसरकारी कार्यालयमा तोडफोड, आगजनी र लुटपाटका घटनाहरू भएकोमा प्रहरीले नियन्त्रण, खोजतलास र सार्वजनिक सहयोगमा बरामद कार्यलाई प्राथमिकता दिएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप