खरानी टकटक्याएर उठ्ने साहस जुटाउँदै निजी क्षेत्र
सारांश
- जेनजी पुस्ताको प्रदर्शनमा सुरक्षाकर्मीको प्रयोगपछि हिंसा भयो, जसले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्यायो।
- होटल, सुपरस्टोर, र व्यवसायीका घरहरूमा आगजनी र तोडफोड हुँदा अर्बौंको क्षति भयो, हजारौं रोजगारी गुमे।
- व्यवसायीहरूले मुलुकमा शान्ति र सुरक्षाको माग गर्दै लगानी र रोजगारी सिर्जनामा प्रतिबद्धता जनाए।
काठमाडौँ । जेनजी पुस्ताले भदौ २३ गते गरेको प्रदर्शनमा सुरक्षाकर्मीको प्रयोगले ठुलो मानवीय क्षति हुँदा भोलिपल्ट आन्दोलन थप हिंसात्मक बन्यो । प्रदर्शनकारीहरू थप आक्रोशित हुँदै विध्वंसमा उत्रिँदा निजी तथा सार्वजनिक सम्पत्तिमाथि तोडफोड, लुटपाट र आगजनी गरे ।
प्रदर्शनकारीको निसानामा ठुला व्यवसायीहरू पनि परे । नेपालका ठुला व्यवसायीहरू विनोद चौधरी, चन्द्रप्रसाद ढकाल, शेखर गोल्छा, मीनबहादुर गुरुङ, साहिल अग्रवाल, ध्रुव थापा लगायत व्यवसायीहरू निसानामा परे ।
व्यवसायीहरू प्रदर्शनकारीहरूको निसानामा पर्दा उनीहरूको घर तथा व्यवसायी भवनहरूमा आगजनी तोडफोड र लुटपाट भएको छ । जेनजीहरुले छानिछानी व्यवसायीहरूको घर र व्यवसायमा आगजनी गरेका छन् ।
आन्दोलनमा आगजनी तथा तोडफोडका कारण देशभरि निजी क्षेत्रको अर्बौँ रुपैयाँको भौतिक सम्पत्ति क्षति भएको व्यवसायीहरूले बताएका छन् । व्यवसायीका शोरूम, होटल, व्यवसाय, सुपरस्टोर, निजी आवासलगायत विभिन्न ठाउँहरूमा तोडफोड, आगजनी र लुटपाट भएको क्षतिको वास्तविक तथ्याङ्क अझै यकिन हुन सकेको छैन ।
_LiIFVzOsxB.jpg)
एक वर्षअघि मात्रै सञ्चालनमा आएको पाँचतारे हिल्टन होटल जलेर ध्वस्त भएको छ । हिल्टन होटल जल्दा मात्रै ८ अर्ब रुपैयाँसम्मको क्षति हुनुको साथै हजारौँ रोजगारी गुमेको अवस्था छ । त्यस्तै, सबैभन्दा बढी मीनबहादुर गुरुङले सञ्चालनमा रहेको भाटभटेनी सुपरस्टोर जलेर ध्वस्त भएका छन् । देशभर सञ्चालनमा रहेका मध्ये १२ स्टोरहरू जलेर नष्ट भएका छन् भने केहीमा आंशिक क्षति भएका छन् । भाटभटेनीमा ५० हजारले पाइरहेको रोजगारी गुमेको अवस्था छ ।
त्यस्तै, विनोद चौधरीको थापाथलीमा रहेको अटो स्वरुम , सतुङ्गलमा रहेको सिजी डिजिडल पार्कका साथै रभिभवनमा रहेको निवास समेत प्रदर्शनकारीले लुटपाट र तोडफोडपछि आगजनी गरी पूर्ण रूपमा क्षति पुगेको छ ।
_kCQB7y2T8Q.jpg)
यस्तै, सिप्रदी ट्रेडिङ लगायत थापाथलीमा रहेका करिब आधा दर्जन अटो स्वरुममा प्रदर्शनकारीले तोडफोड र आगमजी गरेका हुन् । नेपाल होटल संघ हानले नेपालभर होटल तथा पर्यटनको क्षेत्रमाा मात्रै २५ अर्ब रुपैयाँको क्षति भएको बताएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको चन्द्रागिरि तथा पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालीका केबलकारका बेस स्टेसनहरू क्षतिग्रस्त भएका, पूर्व अध्यक्ष शेखर गोल्छाका घर तथा कार्यालय, उद्योगी विनोद चौधरीका घर तथा शोरूमसहित थुप्रै व्यवसायीहरूलाई क्षति भएका छन् ।
जेनजी आन्दोलनमा देशभर निजी क्षेत्रका लगानी रहेको व्यावसायिक सम्पत्तिमाथि आक्रमण हुँदा ठुलो क्षति भोग्नु परेको छ । व्यवसाय पुनः पुरानै लयमा फर्कन ठुलो लगानी आवश्यक छ । यसरी आन्दोलनले निजी क्षेत्रको लगानी र मनोबलमा मात्रै नभएर बैंकहरुले गरेको लगानीमा समेत प्रहार भएको छ । यसले मुलुकको अर्थतन्त्र, रोजगारी र राजश्वमा समेत ठुलो जोखिम पर्ने अवस्था छ ।
_KgAIOUWTXx.jpg)
घर र व्यवसाय जलेर ध्वस्त भए पनि उद्योगी व्यवसायीहरू मुलुक शान्त हुनु पर्ने आवश्यकता रहेको बताएका छन् । उनीहरूले भवन जले पनि सपना नजलेको भन्दै फेरि भवन जलेको खरानी र धुलो टकटक्याउँदै साहस जुटाउन थालेका छन् । व्यावसायिक संगठनहरुले पनि व्यवसायको सुरक्षा दिएर व्यवसाय गर्ने वातावरण बनाउन तयार रहेको सन्देश दिन थालेका छन् ।
निजी क्षेत्रका छाता संगठनहरुले तत्काल मुलुकलाई निकास दिन आवश्यक रहेको उल्लेख गरेका छन् । व्यवसायीहरूले जेनजी आन्दोलनमा निजी क्षेत्रमाथि भएको आक्रमणबाट विचलित र निराश नभएको बताएका छन् ।
उनीहरूले मुलुकमा शान्ति र व्यवसायीको सुरक्षा भए अझै मुलुकभित्रै रोजगारी सिर्जना र लगानी प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताउन थालेका छन् ।
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासङ्घले विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको बताएको छ ।
महासङ्घले विज्ञप्तिमा भनेको छ,‘मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता, मर्यादित रोजगारी, स्वरोजगारी र राजस्वको सदुपयोग जस्ता विषयप्रति युवा पुस्ताले देखाएको चासो प्रति सम्मान व्यक्त गर्दै विकसित घटनाक्रम विवेकपूर्ण अवतरण भई मुलुक समुन्नतिको यात्रामा अघि बढ्ने अपेक्षा गरेको छ।’
महासङ्घले अर्बौँ रुपैयाँ बराबरको क्षतिले राजस्व र कुल गार्हस्थ्य उत्पादनमै गम्भीर असर पार्ने प्रारम्भिक अनुमान समेत गरेको भए पनि लगानीको वातावरण सुरक्षित हुने विश्वस्त देखिएका छन् ।
_inFRb7nSw5.jpg)
त्यस्तै,नेपाल उद्योग परिसंघले सुशासन, भ्रष्टाचार निवारण, सार्वजनिक क्षेत्रमा पारदर्शिता हुनुपर्ने लगायतका युवा पुस्ताको आकाङ्क्षालाई उच्च महत्त्व दिई मुलुक नयाँ चरणमा प्रवेश गर्ने विश्वास लिएको छ ।
परिसंघले आन्दोलनका क्रममा सार्वजनिक एवं निजी सम्पत्तिमाथि भएको आगजनी, तोडफोड, लुटपाटको घटनाले उद्योगी व्यवसायीहरूलाई अत्यन्त दुखित एवं चिन्तित बनाएको परिसंघले बताएको छ ।
परिसंघले औद्योगिक एवं व्यावसायिक क्षेत्रमा परेको गम्भीर असर एवं व्यक्ति तथा व्यवसाय केन्द्रित तोडफोड, आगजनी एवं लुटपाटका घटनाले लगानीकर्तालाई त्रसितसँगै धेरैको रोजगारी समेत प्रभावित भएको बताएको छ ।
लगानीकर्ता त्रसित भइरहने स्थिति भए त्यसको गम्भीर असर रोजगारीसँगै स्वदेशी एवं विदेशी लगानीमा पर्ने हुँदा निजी क्षेत्रलाई निर्बाध रूपमा उद्योग व्यवसाय गर्ने वातावरण बनाइ सुरक्षाको प्रत्याभूति दिलाउन परिसंघ आग्रह गरेको छ ।

त्यस्तै, नेपाल चेम्बर अफ कमर्सले पनि नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा जनधनमा भएको ठुलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएको उल्लेख गरेको छ ।
आन्दोलनका क्रममा भएको जनधनको ठुलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यावसायिक वातावरण खलबल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरीले पनि कम्पनीमाथि हालै भएका हमला र क्षतिको विषयमा गहिरो पीडा व्यक्त गर्दै एक सन्देश जारी गरेका छन्। उनले युवाहरूको जायज मागलाई केही बाह्य शक्ति र अराजक तत्त्वहरूले अपहरण गरी कम्पनीको अर्बौँको सम्पत्तिमा क्षति पुर्याएको बताएका हुन्।
यद्यपि, उनले यो दुःखद घडीमा पनि कम्पनीका कर्मचारीहरूको असाधारण साहस र एकताले गर्दा भविष्यको आशा जीवित रहेको उल्लेख गरेका छन् । चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्,‘ विगत केही दिन हाम्रो कम्पनीको इतिहासमा सबैभन्दा पीडादायी क्षण बनेका छन्। शान्तिपूर्ण रूपमा सुरु भएको युवा आन्दोलनलाई हुलदङ्गा गर्ने समूह र अवाञ्छित शक्तिहरूले हिंसा, लुटपाट र तोडफोडमा परिणत गरे ।’
_rwESnJKCrd.jpg)
कम्पनीका अध्यक्षमाथि व्यक्तिगत हमला, पारिवारिक घरमा आगजनी, कारखाना र कार्यालयहरूमा क्षति, तथा सोरुमहरूमा लुटपाटजस्ता बर्बर घटनाहरू भएको उनले बताएका छन् । ‘दशकौँको मेहनत, त्याग र प्रतिबद्धता केही घण्टामै आगोमा परिणत भयो,’ चौधरीले भनेका छन्, ‘यो केवल सम्पत्तिमाथिको हमला थिएन, यो त हाम्रो आशा, विश्वास र राष्ट्रका लागि केही महत्त्वपूर्ण निर्माण गर्ने विचारमाथिको हमला थियो।’
यस कठिन घडीमा पनि चौधरीले कम्पनीका कर्मचारीहरूको प्रशंसा गरेका छन्। उनले आफ्ना नेता, प्रबन्धक र कर्मचारीहरूले ज्यानको बाजी लगाएर कम्पनीको सम्पत्ति बचाएको, सकेसम्मका सामानहरू सुरक्षित गरेको र ग्राहकहरूसँगको कम्पनीको वाचालाई निरन्तरता दिएको बताए।
उनले इतिहासले डढाइदिने आगोलाई नभई केबल कसरी त्यस आगोबाट बाहिरियौं, अझ बलिया, अझ गर्विलो र अझ एकताबद्ध भयौं भनेर सम्झने भन्दै कर्मचारीको हौसला बढाउने प्रयास गरेका छन् ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पनि आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ठुलो क्षति भोगेको भाट–भटेनी सुपरमार्केटले पुनः उठ्ने प्रतिबद्धता जनाएका छन् ।
_O8cYR2GNFx.jpg)
फेसबुक पोस्टमा भाटभटेनीले भनेको छ, ‘दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन। आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौँ ।’
कम्पनीले क्षतिपछि सरसफाइ र पुनर्निर्माणमा सहयोग पुर्याउने हजारौँ सहयोगी हातहरूको पनि प्रशंसा गरेको छ। पोस्टमा भनिएको छ, ‘हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’
क्षति ठुलो भए पनि भाट–भटेनीले आफ्नो संकल्प अझै बलियो रहेको उल्लेख गरेको छ। ‘भाट–भटेनी फेरि उभिनेछ। ग्राहकहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउने प्रतिवद्धता जनाइएको छ ।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका व्यवसायी शेखर गोल्छाले अझै शशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
गोल्छाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ देशमा सकारात्मक परिवर्तन सहित नयाँ पुस्ताले देखेको नयाँ नेपालको सपना पुरा होस् । केहि व्यवसायी माथि भएको विभत्स आक्रमणबाट हाम्रो परिवार पनि प्रभावित भयो तर म र मेरो परिवार निरास वा विचलित भएको छैन ।’
उनले आजको सुनौलो विहानीसँगै देश सकारात्मक दिशातर्फ अघि बढ्ने आशा रहेको बताए । उनले मुलुकमा लोकतन्त्र अझै सुदृढ होस् भन्दै आफू अझै सशक्त रूपमा रोजगारी सिर्जना गर्न र लगानी गर्न प्रतिबद्ध रहेको विश्वास दिलाउन खाजेको छ ।
उनले अन्धकार पछिको उज्यालोले हामी सबै नेपालीलाई सद्भाव र एकता कायम गर्न अझै बल मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।
त्यस्तै, नाडा अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष करण चौधरीले राष्ट्रको सेवामा समर्पित हुँदै पुननिमार्णम लाग्ने बताएका छन् ।
अध्यक्ष करणले देशबाट विचलिन नभई पुन निमार्णम लाग्ने र थप बलियो बनाउने उद्घोष गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो हाम्रो क्षण हो, नेपाललाई नयाँ उचाइमा पु–याउने अवसर हो। आउनुहोस्, हामी सबैले वाचा गरौँ, सचेत नागरिक बन्ने, अनुशासनलाई आफ्नो धर्म ठान्ने, र मातृभूमिको सेवामा आफ्नो सम्पूर्ण शक्ति अर्पण गर्ने छौं ।’
उनले हिमाल सार्न जरुरी छैन, तर हरेक दिन, हरेक काममा आफ्नो प्राणको पसिना हालेर १०० प्रतिशत दिने उल्लेख गरे । उनले भनेका छन्, ‘म यो भूमिको माटोसँग शपथ लिन्छु, मेरो हृदयको हरेक धड्कन, मेरो रगतको हरेक थोपा, यस राष्ट्रको सेवामा समर्पित हुनेछ। म पुनः निर्माण गर्नेछु, बलियो बनाउनेछु, र नेपाललाई अघि बढाउनेछु।’
उनले यो देशले नै सबैथोक दिएको भन्दै छ। अब देशलाई दिने पाले आफुहरुको भएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण