पूर्णरुपमा क्षतिग्रस्त स्वास्थ्य मन्त्रालय अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्दै
सारांश
- जेनजी प्रदर्शनका क्रममा आगलागी हुँदा स्वास्थ्य मन्त्रालय पूर्ण रूपमा ध्वस्त भयो।
- मन्त्रालयले अस्थायी व्यवस्थापनको लागि ठाउँ खोजिरहेको छ र दैनिक कामकाजमा बाधा पुगेको छ।
- स्वास्थ्य सचिवका अनुसार एनएचआरसी भवनबाट आंशिक रूपमा काम सुरु गर्ने योजना छ।
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा आगलागीका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पूर्णरुपमा ध्वस्त हुन पुग्यो । रामशाहपथस्थित मन्त्रालयको चारतले भवनसँगै त्यहाँ रहेका फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेको सवारीसाधन पूर्णरुपमा जलेर खरानी हुन पुगेका छन् ।
यसैबिच स्वास्थ्य मन्त्रालयले अस्थायी व्यवस्थापनका लागि ठाउँ खोज्ने क्रममा रहेको जनाएको छ । भवन नहुँदा मन्त्रालयको काम कारबाहीमा प्रत्यक्ष असर परेको छ । दैनिक कामकाजमा बाधा पुगेको छ । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ ।
मन्त्रालयका सचिव डा.विकास देवकोटाले हालसम्म घाइतेको उपचारमा केन्द्रित भएर समन्वयकारी भूमिका गरिरहेको र अस्पताललाई आवश्यक पर्ने सामग्री दिने तथा त्यहाँबाट प्रदर्शनमा घाइतेको जनकारी लिने काम गरिरहेको बताए ।
उनले भने- ‘भवनको सबै कोठा, सरसामान जलेर नष्ट भएको छ । कुनै पनि बाँकी छैन । त्यहाँ बाँकी रहेका सामान स्थानान्तरण गर्ने कार्य सम्भव नै भएन ।’ सचिव देवकोटाले हाललाई मन्त्रालय पछाडि रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) को भवनबाट भोलिदेखि आंशिक रूपमा काम सुरु गर्ने योजना बनाएको जानकारी गराए । सामान्य तोडफोड भए पनि उक्त भवन भने जल्नबाट जोगिएको छ । उनका अनुसार सिंहदरबारमा ठाउँ मिल्यो भने पछि त्यहाँ मन्त्रालयलाई स्थानान्तरण गर्ने विचार गरिएको छ ।
मुलुकले अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीलाई पाइसकेको छ । मन्त्रीमण्डल विस्तार गर्ने तयारी हुँदैछ । स्वास्थ्य मन्त्री नियुक्त भएपछि कार्यकक्षका लागि मन्त्रालयसँग ठाउँ पनि छैन । सचिव देवकोटाले एनएचआरसीमा मन्त्रीलाई राख्न मिल्ने एउटा कोठा तयार गरेको बताए । ‘हामी कर्मचारीहरू त एउटा हलमा बसेर काम गरौला । मन्त्रीका लागि त्यही रहेको एउटा कोठा तयार गरेका छौँ । अहिलेलाई त्यहाँ काम गर्ने र सिंहदरबारभित्र ठाउँ पाउनका लागि पहल गरिरहेका छौँ’, उनले भने ।
मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन एकाइ भने हाल वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । ‘इमेलमा रहेका कागजपत्रलाई प्रिन्ट गरेर आवश्यकताअनुसार काम गर्ने । नयाँ नेतृत्व आएपछि उहाँको मार्ग निर्देशनपछि थप काम गर्ने विचार छ’, डा. देवकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण