शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण

आइतबार, २९ भदौ २०८२, ०१ : १७
आइतबार, २९ भदौ २०८२

सारांश

  • व्यास नगरपालिकाले गैह्राबारीमा चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको छ, जसले किसानलाई आलु भण्डारणमा सहयोग गर्नेछ।
  • केन्द्रमा पहिलो वर्ष किसानले उत्पादन गरेको आलुको बीउ निःशुल्क भण्डारण गरिनेछ, जसमा नगरपालिकाले जोखिम व्यहोर्ने प्रतिबद्धता जनाएको छ।
  • गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा बनेको केन्द्रले कृषि उपज भण्डारण र बजार व्यवस्थापनमा सहयोग गर्नेछ।

तनहुँ । व्यास नगरपालिका–११ गैह्राबारीमा रहेको तीन रोपनी सार्वजनिक जग्गा संरक्षण गरी चिस्यान केन्द्र निर्माण गरिएको छ ।

वर्षौँदेखि व्यक्तिले कब्जा गरेर भोगचलन गर्दै आएको उक्त जग्गा नगरपालिकाले संरक्षण गरी एक सय ३० मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण गरी सञ्चालनमा ल्याएको हो । पहिलो वर्ष किसानले उत्पादन गरेको आठ मेट्रिक टन आलुको बीउ निःशुल्क रूपमा भण्डारण गर्ने व्यवस्था मिलाइएको नगरपालिकाको कृषि, पशुपन्छी तथा सहकारी विकास उपशाखाकी प्रमुख समीक्षा पोखरेलले जानकारी दिइन् । 

आगामी आर्थिक वर्षदेखि व्यास नगरपालिकामा उत्पादन भएको आलु, सुन्तलालगायत फलफूल र तरकारी पूर्ण रूपमा भण्डारण गर्न सकिने छ । केन्द्र सञ्चालनको पहिलो वर्ष परीक्षणको समय भएकाले किसानले उत्पादन गरेका बीउ आलु भण्डारणमा निःशुल्क गरिएको उनले बताइन् । 

“पहिलो वर्ष भएकाले आलु भण्डारण गर्दा क्षति भएमा त्यसको जोखिम नगरपालिकाले व्यहोर्ने प्रतिबद्धता जनाएपछि भण्डारण गरिएको हो”, प्रमुख पोखरेलले भनिन् । 

व्यास-९ को सुनौलो नयाँ गोरेटो सहकारी संस्था, व्यास–५ को हरियाली कृषक समूह, व्यास–६ को श्याम्घा साना किसान समूह, रिस्ती मादी कृषक समूह र कृषि ज्ञान केन्द्रबाट गरी उक्त परिमाणको आलुको बीउ भण्डारण गरिएको छ । नगरपालिकाले चिस्यान केन्द्र सञ्चालनका लागि तीन पटकसम्म सूचना जारी गर्दा पनि कुनै सहकारी संस्था र प्राइभेट फर्मबाट समेत आवेदन नआएपछि नगरपालिका आफैँले चलाउँदै आएको छ ।

गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको संयुक्त लगानीमा केन्द्र निर्माण गरिएको हो । केन्द्र निर्माणको जिम्मा देवचुली कन्ट्रक्सन कम्पनी प्रालिले लिएको थियो । विसं २०७८ भदौ १३ गते कम्पनीले सम्झौता गरी निर्माण अघि बढाएको थियो । विद्युत् प्राधिकरणले समयमा ‘थ्री फेज’को ट्रान्समिटर जडान नगरिदिँदा एक वर्ष ढिला गरी सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाका योजना शाखा अधिकृत भेषराज तिवारीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक ठेक्का रकम रु एक करोड ६२ लाख ३२ हजार रहेकामा थप रु १९ लाख ९८ हजार वृद्धि भई करसहित रु करोड ९१ लाख ३२ हजार लागत रहेको छ ।

नगरपालिकामा चिस्यान केन्द्र निर्माण भएपछि वार्षिक करिब रु पाँच करोड बाहिरिनबाट रोकिने शाखा अधिकृत तिवारीले बताए । उनले भने, “व्यासमा चिस्यान केन्द्र सञ्चालनमा आएपछि आलु, फलफूल, तरकारीलगायत कृषि उपज भण्डारण गरी सुरक्षित राख्न सकिन्छ, योसँगै कृषि उपज भण्डारणका लागि पोखरा र चितवन लैजानुपर्ने समस्याको अन्त्य हुने विश्वास गरेका छौँ ।” 

चिस्यान केन्द्र सञ्चालनमा आएसँगै कृषि उपज भण्डारणमा सहज हुने भएपछि यहाँका किसान उत्साहित भएका छन् । विशेष गरी आलु, सागसब्जी तथा अन्य कृषि उपजको दीर्घकालीन भण्डारण गरी बजारमा मूल्य सन्तुलन कायम गर्न चिस्यान केन्द्र महत्त्वपूर्ण हुने नगरपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप