शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

पाकिस्तानमाथि भारतको सहज जित

आइतबार, २९ भदौ २०८२, २३ : ३६
आइतबार, २९ भदौ २०८२

सारांश

  • एसिया कपमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गर्यो।
  • भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ४७ रन बनाए, भने पाकिस्तानका लागि सहिबजादा फरानले ४० रन बनाए।
  • भारतले समूह 'ए' मा दुई खेलबाट ४ अङ्क जोडेर शीर्ष स्थान ओगटेको छ।

काठमाडौँ । भारतले एसीसी एसिया कपमा पाकिस्तानमाथि सहज जित निकालेको छ । आइतबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले हराएको हो । 

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १२८ रनको लक्ष्य पछ्याएको भारतले १५ ओभर ५ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । 

भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ४७ रनको योगदान गरे । यादवले ३७ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै अभिषेक शर्मा र तिलक बर्माले समान ३१–३१ रन बनाए । अभिषेकले १३ बल खेल्दै ४ चौका र २ छक्का प्रहार गरे । तिलकले ३१ बलमा २ चौका १ छक्का प्रहार गरे । 

पाकिस्तानका लागि साइम अयुवले तीन विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन बनाएको थियो ।  

पाकिस्तानका लागि सहिबजादा फरानले सर्वाधिक ४० रन बनाए । ४४ बल खेलेका उनले १ चौका र ३ छक्का प्रहार गरे । 

त्यस्तै फकर जमानले १७ रन बनाउँदा शाहिन्सा अफ्रिदीले ३३ तथा फहिम अश्रापले ११ रनको योगदान गरे ।   

भारतका लागि बलिङतर्फ कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए । उनले ४ ओभरमा १८ रन खर्चे । त्यस्तै अक्षर पटेल र जसप्रित भुमराहले दुई दुई विकेट लिँदा हार्दिक पाड्या र बरुण चक्रवर्तीले एक एक विकेट लिए । 

जितसँगै समूह ‘ए’ मा भारतले दुई खेलबाट ४ अङ्क जोडेको छ । भारत यस समूहमा शीर्ष स्थानमा छ । पराजित पाकिस्तानको २ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप