सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्की मालपोत अनिश्चितकालका लागि बन्द

सोमबार, ३० भदौ २०८२, १२ : ३७
सोमबार, ३० भदौ २०८२

सारांश

  • कास्की मालपोत कार्यालयको भवन आगलागीबाट क्षति पुगेपछि सेवा बन्द गरिएको छ।
  • कार्यालयका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका कारण सेवा दिन नसकिने सूचना जारी गरिएको छ।
  • जग्गा किनबेच, नामसारी लगायतका सबै कामहरू अर्को सूचना नआएसम्मका लागि बन्द भएका छन्।

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले भौतिक संरचनाको पुनः निर्माणपछि मात्रै सेवा सुरु गर्ने भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन जलेर नष्ट भएको छ ।  त्यहाँ भित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका छन् ।

कार्यालयका महत्त्वपूर्ण सरकारी अभिलेख तथा कागजातहरू जलेर नष्ट भएका कारण सेवा दिन सक्ने अवस्था नरहेको मालपोत कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ । 

निमित्त प्रमुख मालपोत अधिकृत शोभाखर पोखरेलले कार्यालयको मोठ, रजिस्ट्रेसन शाखा र मुद्दा, तामेली शाखामा ठुलो क्षति पुगेको बताए ।  

‘कार्यालयको भौतिक तथा प्राविधिक पुनः निर्माण नभएसम्म कार्य सञ्चालन गर्न असमर्थ भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द रहने ब्यहोरा सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ ।

योसँगै कास्की जिल्लामा जग्गाको किनबेच (रजिस्ट्रेसन पास), नामसारी, अंशबन्डा, रोक्का, फुकुवा, धितो बन्धक लगायतका सबै कामहरू पूर्ण रूपमा ठप्प भएका छन् । जलेका अभिलेखहरूको पुनः व्यवस्थापन र कार्यालयको पुनर्निर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्नेबारे निश्चित छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप