आक्रोश चुलिँदा जेनजी विद्रोह, अब सिर्जना र निर्माणमा लागौँ
समाजशास्त्रीय मान्यता र प्रविधिको अन्तरविकासलाई आधार मानेर पुस्ताको वर्गीकरण गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । नेपालमा हालै जेनजी पुस्ताले गरेको विद्रोहपछि यस विषयमा अझ बढी चर्चा हुन थालेको छ ।
जेन एक्स, जेन वाईपछि सन् १९९७ देखि २०१२ भित्र जन्मेको पुस्तालाई जेनजीको नामकरण गरिएको छ । यो पुस्ता फेसबुक, युट्युब, स्मार्टफोन तथा विभिन्न एपहरु चलाउँदै हुर्केको हो । उसका लागि च्याटजीपीटी कुरा गर्ने साथी हो भने सञ्जाल फेर्ने श्वास । तर उसको सोचाइ, विचार र व्यवहारको सही विश्लेषण नहुँदा आजको परिणाम हामीले भोगिरहेका छौँ ।
देशको रुपरेखा बदल्ने २७ घण्टे जेनजी विद्रोह केवल सामाजिक सञ्जालको प्रतिबन्धविरुद्धको प्रतिक्रियाका रुपमा मात्र बुझियो भने यो साँघुरो र सतही हुन्छ । यसले त असन्तुष्टिको पोकोमा आगो सल्काउने काम गरेको छ । यो त लामो समयदेखि सञ्चित भइरहेका सामाजिक, राजनीतिक तथा आर्थिक अन्तरर्विरोध तथा प्रमुख राजनीतिक दलहरुप्रतिको असन्तोषको प्रतिक्रिया हो । साथै, जनतामा उब्जिएको उकुसमुकुसको विस्फोट हो ।
सडकमा उत्रिएका युवाहरूको क्रोध मूलतः बेरोजगारी, भ्रष्टाचार, नातावाद अनि विलासिता र असमानताको पीडाको आवाज मान्नुपर्छ । यसका अनेक आन्तरिक र बाह्य कारण विस्तारै समयसँगै उजागर हुँदै जानेछन्, तर अहिले विद्रोहबाट भएको परिवर्तनलाई अस्वीकार गर्नु वा यसको गलत विश्लेषण गर्नु देश र जनताको हितमा हुनेछैन ।
नेपालको अर्थतन्त्र लामो समयदेखि रेमिटेन्समा निर्भर छ । कृषिक्षेत्र धरासायी छ । उद्योग व्यवसाय चौपट छन् । लाखौँ युवाले आफ्नो भविष्य विदेशमा खोज्नुपरेको छ भने देशभित्र रोजगारीका अवसर न्यून छन् । विद्यार्थीहरु पनि कक्षा १२ सक्नासाथ विदेसिनुपर्छ भन्ने मानसिकतामा छन् । तथ्याङ्कले सन् २०२४ मा युवाको बेरोजगारी दर करिब २० प्रतिशत भएको देखाउँछ । करिब ६० लाख जनता प्रवासमा छन् । तिनमा नेता, दल र तिनका चरित्रप्रतिको चरम निराशा र वितृष्णा छ । देशमा भएका र दलमा लागेका युवा तथा विद्यार्थी कोही सन्तुष्ट छैनन् ।
आज नेपालको राजनीति रिक्तता र सङ्क्रमणबाट गुज्रिएको छ । लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्था मात्र होइन, राष्ट्रको अस्तित्वकै बारेमा सकारात्मक र नकारात्मक विश्लेषण आइरहेका छन् । आशा पनि छ र अझ संकट गहिरिने खतरा पनि उत्तिकै छ ।
‘नेपो किड्स’ को टिकटक र इन्स्टाग्राममा नेतृत्ववर्गको विलासिताको प्रदर्शन असन्तोषकै शृङ्खला थियो । यसले आम युवामा असमानताको गहिरो अनुभूति गराइदियो । सरकारले सामाजिक सञ्जालमै प्रतिबन्ध लगाई अभिव्यक्ति स्वतन्त्रता खोसेपछि र सञ्जालमार्फत रोजगारी नै गुमेपछि युवा आक्रोश थप चुलियो । उता विदेश पुगेका लाखौँलाख युवाले आफन्तसँगको सम्पर्क र सम्बन्धमा देशको बेथितिप्रति प्रश्न उठाइरहे । सञ्जाल बन्द अर्थतन्त्र सुधार्न वा अपराध नियन्त्रण गर्न भन्दा आफ्ना असफलता र कमजोरी छोप्न सरकारले गरेको दुस्साहस सावित भयो । देखादेख भ्रष्टाचार भएको देखेका युवालाई यसले थप क्रोधित बनायो, जुन सामूहिक विद्रोहमा रूपान्तरित भयो ।
जेनजीको आन्दोलनलाई आम जनताले मौन समर्थन गरे । सरकार पक्षधर पनि यसको प्रतिवादमा उत्रिन खोजेनन् । यिनलाई सबक सिकाउनैपर्छ भन्ने ठाने । प्रतिपक्षीहरु त सरकारी रबैया र मैमत्त प्रवृत्तिको चर्को आलोचना गरिरहेका थिए । स्वभावैले उनीहरु परिवर्तनको चाहनास्वरुप आन्दोलनलाई समर्थन गर्ने नै भए । उता हिन्दु अतिवादी र राजावादीहरु पटक-पटकको असफल विद्रोहलाई पूर्णता दिने दाउ हेरिरहेका थिए ।
उनीहरुसँग पनि एउटा स्वार्थ समूह मिसिएको थियो । धमिलो पानीमा माछा मार्ने प्रवृत्ति कहाँ छैन र ? यस्ता विद्रोहमा घुसपैठ र अवसरवादले शिर उठाउने गर्छ । त्यसैले जेनजीको नेतृत्वको यो आन्दोलन आफ्नो मात्रै होइन भनी उनीहरुले नै भन्दै आएका छन्, सबै कर्मको जिम्मा लिएका पनि छैनन् ।
सरकार र उच्च पदस्थ वर्ग धेरै समयदेखि जनताप्रति गैरजिम्मेवार रुपमै प्रस्तुत हुँदै आयो । सत्ता उन्मादका कारण जनताको निराशा र असन्तुष्टिलाई हलुका रुपमा लिइयो । आलाकाँचा, केटाकेटी वा अपरिपक्व वर्गमा दर्ज गर्दै तिनले आन्दोलनको विस्तृत दायराको पूर्वानुमान गर्नै सकेनन् । जनतालाई दबाएर शासकको संरक्षण गर्न सकिन्न भनी सेनाले प्रतिक्रिया दिएकै हो । साथै, प्रहरीले आफ्नो मुख्यालय सुरक्षित राख्न नसक्नुले पनि यसलाई पुष्टि गरेकै छ ।
अझ भन्नुपर्दा यिनमा सुरक्षा समन्वय र उचित परिचालनको अभाव थियो । राष्ट्रिय गौरवका धरोहर जोगाउन यो शक्तिले सक्दैनथ्यो भनी कसैले भन्नै सक्दैन । जे होस्, शासकहरु राष्ट्रिय सुरक्षामा चुकेकै हुन् । तिनकै अकर्मण्यता र अक्षमताले पनि जेनजी विद्रोहलाई उचाइमा पुर्याएको हो ।
जेनजी सामाजिक सञ्जालहरुमा जोडिएका थिए । ती रेडिट र डिस्कर्डमा सङ्गठित थिए । विभिन्न समूह र संघसंस्थामार्फत तिनले लामो समयदेखि विद्रोहको योजना बनाएका थिए । जे कुरालाई पनि नजरअन्दाज गर्ने राज्य यस विषयमा पनि बेखबर रह्यो । हजारौँको संख्यामा आन्दोलनकारी सडकमा निस्किएपछि सरकार अत्तालियो । उसले धीरता गुमायो । शान्तिपूर्ण जेनजी आन्दोलनलाई त्यस्तै वैकल्पिक उपायद्वारा नियन्त्रण गर्न सकिन्थ्यो ।
लाठीचार्ज, पानीको फोहोरा, हवाई (रबर) फायर, गिरफ्तारीजस्ता विकल्पहरु बाँकी हुँदा पनि ऊ हिंसात्मक दमनमा उत्रियो । टाउका र छातीमा गोली बर्सिए । स्कुले पोशाकका छात्रछात्रा र युवाको रगतको खोलो बग्यो । दर्जनौँ मारिए र सयौँ घाइते भए । आखिर भ्रष्टाचारको विरोध गर्दा जवाफमा मृत्यु भोग्नुपर्यो । त्यतिबेलै राज्यले वैधता गुमाइसकेको थियो तर अझ ऊ ब्युँझेन । अन्ततः २४ घण्टा पनि नबित्दै राज्यले यति ठुलो क्षति व्यहोर्नुपर्यो ।
आज नेपालको राजनीति रिक्तता र सङ्क्रमणबाट गुज्रिएको छ । लोकतन्त्रिक गणतन्त्रात्मक व्यवस्था मात्र होइन, राष्ट्रको अस्तित्वकै बारेमा सकारात्मक र नकारात्मक विश्लेषण आइरहेका छन् । आशा पनि छ र अझ संकट गहिरिने खतरा पनि उत्तिकै छ ।
एकातिर अब प्रगतिशील आन्दोलनका नयाँ कार्यक्रम, पुनर्निर्माण र पुनर्संरचनाका ढोकाहरु उघ्रिनेछन् भनी सकारात्मक धारणा पनि देखा परेका छन् । विचारविनाका असक्षम नेता र रुढ पार्टी भन्ने भाष्य बनिसकेको यस परिस्थितिलाई बदल्न र अब सुध्रिनुपर्छ भन्ने आत्मसमीक्षा गर्न यसले सिकाएको छ ।
आज लोकतान्त्रिक संस्थालाई भ्रष्टाचारमुक्त बनाई उत्पादनमूलक रोजगारी र विकास रणनीतिमा अभूतपूर्व परिवर्तन चाहिएको छ । वास्तवमा समस्याको जड विदेशतिर देखाउने प्रवृत्तिको अन्त्य गर्दै आत्मसमीक्षा र शुद्धीकरणका माध्यमबाट मात्र नेपालको भविष्य सुरक्षित गर्न सकिन्छ ।
सहरी युवालाई राजनीति, ग्रामीण किसान, मजदुर संगठन अनि सहकारी तथा उद्यमशीलता र रोजगारीसँग जोड्नुपर्छ भन्ने शिक्षा पनि दिएको छ । साथै, राजनीतिक नेतृत्वलाई सच्याउने बाटोमा लाग्न दबाब पनि दिएको छ । यसले जनतामा आशा भरेको छ । ओलीपछि देउवा र देउवापछि प्रचण्ड, अनि फेरि ओली, देउवा र प्रचण्ड भन्ने गोलचक्करबाट निकास पाएको ठानी तिनले सन्तोषको श्वास फेरेका छन् । पार्टी र राजनीति नै पुनर्गठनको दिशामा पुगेको यो अवस्था आशावादी देखिन्छ ।
वर्तमान सङ्क्रमणकाल लम्बिँदै जाँदा राजावादी, हिन्दुवादी वा अतिवादी शक्तिहरू सलबलाइरहेका छन् । उनीहरुले यसको फाइदा उठाउन सक्छन् । पटक-पटक तिनीहरुले सेना प्रमुख र राष्ट्रपतिलाई भेट्ने र दबाब दिने गरेका घटना पनि बाहिर आएका छन् । उनीहरु सरकारमा सहभागी हुन, प्रभाव जमाउन, संविधान बदल्न र राज्यसत्ता कब्जा गर्न सक्रिय देखिन्छन् । यसले प्राप्त लोकतान्त्रिक उपलब्धिलाई उल्ट्याउन सक्छ । संविधान, गणतन्त्र, सार्वभौमसत्तालगायत उपलब्धि गुम्न सक्छन् । देश अझ सङ्कटमा धकेलिन सक्छ । यो अन्योलबिच स्वदेशी मात्र होइन, विदेशी शक्तिले पनि अनुचित फाइदा उठाउन सक्छन् । कतै तिनको स्वार्थले देशमाथि धावा बोल्ने त होइन भन्ने आशङ्काको कालो बादल पनि मडारिएको छ ।
यस अवस्थामा विद्रोहलाई निराशा र ध्वंशमा होइन, सिर्जना र निर्माणमा बदल्नुपर्छ । युवाको आक्रोशलाई ठोस परिवर्तनमा रूपान्तरण आवश्यक छ । यसका लागि तत्काल रोजगारी र आम्दानीको ग्यारेन्टी गर्ने कार्यक्रम ल्याउनुपर्छ । प्रवासी नेपालीको भावनाअनुरुप देशमै बस्ने तथा रेमिटेन्सलाई सही क्षेत्रमा लगाउने वातावरण सिर्जना गर्नुपर्छ ।
शिक्षाका लागि युवाहरु विदेसिनु नपर्ने गरी गुणस्तरीय बनाउनुपर्छ । नागरिक अधिकारको रक्षा गर्न स्वतन्त्र सञ्चार, निष्पक्ष निर्वाचन र स्वतन्त्र अदालतमा कुनै सम्झौता गर्नुहुँदैन । दमनको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन आवश्यक छ । भ्रष्टाचारको छानबिन र निर्मम कारवाही जनतामा मडारिएको निराशा चिर्ने मुख्य कदम बन्नुपर्छ ।
आज सार्वभौम पारदर्शी विदेश नीतिको आवश्यकता टड्कारो देखिएको छ । भारत, चीन वा अमेरिकासँग हुने ठुला सम्झौता पारदर्शी र जनतासँगको छलफलसहित सार्वजनिक गर्नुपर्छ । अझ नेपालको विभाजित र सङ्कटग्रस्त वाम आन्दोलनलाई पुनर्जीवित गर्नुछ । यसमा ठुलै संरचनागत र व्यावहारिक रूपान्तरण आवश्यक छ । यो विद्रोहले नेपालका वामपन्थीहरुलाई एकताबद्ध हुन उत्प्रेरित गरेको छ ।
आज लोकतान्त्रिक संस्थालाई भ्रष्टाचारमुक्त बनाई उत्पादनमूलक रोजगारी र विकास रणनीतिमा अभूतपूर्व परिवर्तन चाहिएको छ । वास्तवमा समस्याको जड विदेशतिर देखाउने प्रवृत्तिको अन्त्य गर्दै आत्मसमीक्षा र शुद्धीकरणका माध्यमबाट मात्र नेपालको भविष्य सुरक्षित गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
-
‘डन ३’ विवादमा रणवीरलाई राहत, असहयोगको निर्णय फिर्ता
-
तेस्रो पटक विवाह बन्धनमा बाँधिँदै आमिर खान
-
राजनारायण पाठक विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण