सात वर्षका कागजात र डाटा नष्ट, क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा
सारांश
- कोशी प्रदेशको मुख्यमन्त्री कार्यालयले एउटा ल्यापटप र प्रिन्टिरबाट काम सुरु गरेको छ।
- आगजनीका कारण मुख्यमन्त्री कार्यालय लगायत अधिकांश मन्त्रालय ध्वस्त भएपछि सेवा प्रवाह प्रभावित भएको छ।
- ऐतिहासिक दस्तावेज जलेर नष्ट हुनुका साथै, डिजिटल डाटा भने केही हदसम्म सुरक्षित रहेको छ।
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एउटा ल्यापटप र प्रिन्टिरबाट काम सुरु गरेको छ । विराटनगरको रोडशेष दक्षिणमा रहेको मुख्यमन्त्री कार्यालयको मुख्य भवनको पछाडि रहेको सवारी चालकहरू बस्ने भवनबाट काम सुरु भएको हो ।
प्रदेश सरकारकी प्रमुख सचिव चन्द्रकला पौडेलले जेनजी आन्दोलनका क्रममा मुख्यमन्त्री कार्यालयलगायत अधिकांश मन्त्रालय पूर्ण रूपमा ध्वस्त भएपछि कोशी प्रदेश सरकारले वैकल्पिक व्यवस्थापनबाट सेवा प्रवाह सुरु गर्ने तयारी गरेको जानकारी दिइन् ।
मुख्यमन्त्री कार्यालयमै आएर पौडेलले आवश्यक कामको निर्देशन दिइरहेकी छन् । उनका अनुसार मुख्यमन्त्री कार्यालय परिसरमा बनेको नयाँ सभाहलबाट काम अघि बढाउने तयारी छ ।
_sE9cVTXFwB.jpg)
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय ‘पूर्ण रूपमा ध्वस्त भएको छ, जसका कारण तत्काल सो भवनबाट सेवा प्रवाह गर्न असम्भव छ,’ पौडेलले भनिन् । सेवा प्रवाह तत्काल यसअघिकै बिल्डिङबाट हुन सक्ने अवस्थामा नरहेको उनले बताइन् । ‘अहिले हामी क्षतिको विवरण सङ्कलन गरी मुचुल्का उठाउने प्रक्रियामा छौँ,’ उनले भनिन् ।
हालै निर्माण सम्पन्न भएको दुईतले सभाहलमा पनि तोडफोड भएको छ । तोडफोड र आगजनी भएको भवनको सरसफाइ भइरहेको छ । सोही भवनको तल्लो र माथिल्लो तलामा बसेर मन्त्रिपरिषद्् बैठक र अत्यावश्यक सेवा प्रवाहको व्यवस्था मिलाइने पौडेलले बताइन् । ‘हामी सबै कर्मचारी उपस्थित छौँ र समानान्तर रूपमा व्यवस्थापनको काम गरिरहेका छौँ’, उनले भनिन् ।
- ऐतिहासिक दस्तावेज जल्यो
आगजनीले प्रदेश सरकारको भौतिक संरचनामा मात्र नभई ऐतिहासिक र प्रशासनिक दस्तावेजमा पनि अपूरणीय क्षति पुर्याएको छ । प्रमुख सचिव पौडेलका अनुसार विगत सात वर्षदेखि राखिएका फाइल र कागजात पूर्ण रूपमा जलेर नष्ट भएका छन् । यद्यपि, डिजिटल डाटा भने केही हदसम्म सुरक्षित रहेको उनले बताइन् ।
_uskRei10cX.jpg)
प्रदेशको डाटा सेन्टर काठमाडौँमा रहेको सरकारी एकीकृत डाटा केन्द्रसँग जोडिएकाले त्यहाँसम्म पुगेका डाटा सुरक्षित रहेको पौडेलले बताइन् । ‘हाम्रा भुक्तानी, बजेट र हाजिरीसँग सम्बन्धित प्रणालीहरू एकीकृत डाटा केन्द्रमा लिङ्क भएका कारण पुनः सञ्चालनमा आइसकेका छन्,’ उनले भनिन्, ‘तर, हामीले यहीँ राखेका केही डाटा भने आगलागीमा परेका छन् ।’
विशेषगरी कानुनी बहसका अभिलेख, जबाफ लेखिएका कागजात र अन्य महत्त्वपूर्ण प्रशासनिक निर्णयहरू भौतिक रूपमा नष्ट भएकाले ती पुनः प्राप्त गर्न चुनौतीपूर्ण हुने देखिएको छ । सरकारले अब अन्य निकायहरूमा सुरक्षित रहेका कागजातहरूको प्रतिलिपि खोजेर काम चलाउनुपर्ने अवस्था आएको उनले बताइन् ।
प्रदेशका अधिकांश मन्त्रालयको अवस्था मुख्यमन्त्री कार्यालयको जस्तै छ । भौतिक पूर्वाधार विकास मन्त्रालय र सिँचाइ मन्त्रालयका कर्मचारी आ–आफ्नो मन्त्रालयको सरसफाइमा जुटेका छन् ।
_98Ewxip8Yz.jpg)
सानोतिनो भुक्तानीका कामहरू पनि केही दिनपछि सुरु हुने ती मन्त्रालयले जनाएका छन् । भौतिक पूर्वाधार मन्त्रालयका निमित्त सचिव रमेशकुमार श्रेष्ठले मन्त्रालयका सम्पूर्ण कागजात, फर्निचर र कम्प्युटर नष्ट भए पनि सेवा प्रवाहलाई निरन्तरता दिन भग्नावशेषबाटै काम थालिएको जानकारी दिए ।
मन्त्रालयको प्रशासन महाशाखा, सडक महाशाखा र भवन महाशाखामा सबैभन्दा बढी क्षति पुगेको छ । श्रेष्ठका अनुसार ती महाशाखाका सम्पूर्ण महत्वपूर्ण कागजात, टेबुल, कुर्सी, फर्निचर र कम्प्युटर लगायतका सामग्रीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।
_tVhBPMyVMn.jpg)
‘आगजनीबाट प्रशासन महाशाखाका सम्पूर्ण डकुमेन्ट लगायत फर्निचर ध्वस्त भएको अवस्था छ । कोठामा केही पनि काम लाग्ने अवस्थामा छैन,’ उनले भने, ‘सडक महाशाखाको पनि सम्पूर्ण डकुमेन्ट, टेबुल, कुर्सी, कम्प्युटर र फर्निचरहरू ध्वस्त भएको अवस्था छ भने भवन महाशाखाको पनि सम्पूर्ण डकुमेन्टलगायत टेबुल, कुर्सी र फर्निचर ध्वस्त भएका छन् ।’
यस्तो विषम परिस्थितिका बाबजुद मन्त्रालयले आफ्नो कामलाई निरन्तरता दिने प्रयास थालेको छ । ‘हामीले दैनिक प्रशासनका काम सुरु गरिसकेका छौँ,’ उनले भने, ‘अहिले हाम्रो प्राथमिकता क्षतिको यकिन विवरण सङ्कलन गर्नु हो । हामी त्यसैमा जुटिरहेका छौँ ।’
उता सामाजिक विकास मन्त्रालयमा तुलनात्मक रूपमा कम क्षति भएकाले त्यहाँ व्यवस्थापनको काम केही अघि बढेको छ । आर्थिक मामिला मन्त्रालयमा पनि क्षति कम छ । वन, पर्यटन तथा आन्तरिक मामिला मन्त्रालयहरूले पनि क्षतिको मुचुल्का तयार पार्दैैछन् ।
क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको प्रदेश सचिव पौडेलले बताइन् । ‘आज भरेसम्ममा कति भवनहरू मर्मत गरेर चलाउन सकिन्छ र कति पूर्ण क्षति भयो भन्ने प्रारम्भिक रिपोर्ट आउँछ,’ प्रमुख सचिव पौडेलले भनिन्, ‘तर यसको विस्तृत विवरण आउन अझै केही समय लाग्नेछ ।’
सरकारले मुचुल्काको काम सकिएपछि जलेका गाडी र अन्य फोहर हटाएर कार्यालय सञ्चालन गर्न मिल्ने कोठाहरूको खोजी गर्नेछ । यदि कुनै पनि कोठा प्रयोग गर्न नसकिने अवस्था आएमा वैकल्पिक स्थानबाटै सेवा प्रवाहलाई निरन्तरता दिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण