बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
जेनजी आन्दोलन

जेनजीलाई कलाकारको सुझाव : आपसमा झगडा नगर्नुस्, उपलब्धि संस्थागत गर्न जुट्नुस्

सोमबार, ३० भदौ २०८२, १७ : ०५
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । जेनजी आन्दोलनपछि मुलुकको राजनीतिक परिदृश्य फेरिएको छ । सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनिसकेको छ भने रामेश्वर थापा,   कुलमान घिसिङ र ओमप्रकाश अर्यालले सोमबार आफूले जिम्मेवारी पाएका मन्त्रालयको कार्यभार सम्हालेका छन् । 

तर आइतबार बेलुका मन्त्री छनोटको विषयलाई लिएर जेनजी युवाहरुबिच असन्तुष्टि पनि देखिएको थियो । उनीहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडि केही समय प्रदर्शन र नाराबाजी समेत गरे । देशको राजनीतिक परिदृश्य नै परिवर्तन गरेको जेनजी पुस्ताको यस प्रकारको हर्कतले धेरैलाई चिन्तित तुल्यायो । 

जेनजी आन्दोलनलाई कलाकारहरुले पनि नैतिक र भौतिक समर्थन गरेका थिए । उनीहरुमा पनि जेनजी समूहका नेता भन्नेहरुको पछिल्लो क्रियाकलापले चिन्ता जगाएको छ । कलाकारहरुले आफूबिचका असन्तुष्टिलाई छलफलबाट टुंग्याउँदै आन्दोलनबाट प्राप्त उपलब्धिलाई सही दिशामा लैजानुपर्नेमा जेनजी समूहलाई आग्रह गरेका छन् ।

अभिनेता तथा निर्माता दीपकराज गिरी जेनजीले आर्जेको ऐतिहासिक अवसरलाई राष्ट्र निर्माणमा लगाउनु नै आन्दोलको वास्तविक सफलता हुने बताउँछन् । जेनजी आन्दोलनलाई सुरुदेखि नै नैतिक समर्थन र खबरदारी गर्दै आएका गिरी जेनजी समूह पछिल्लो समय भद्रगोल देखिएकोमा चिन्तित छन् । 

‘अब जेनजी एकअर्कासँग झगडा गरेर होइन, संयमित भएर एक भएर अगाडि बढ्नुपर्छ,’ उनी भन्छन्, ‘जेनजीको उद्देश्य सत्ता प्राप्ति होइन । त्यसकारण अब सत्तामा जानुपर्छ ? सत्तामा के गर्नुपर्छ ? भन्दा पनि राम्रो मान्छे जानुपर्छ भन्ने कुरामा कन्सर्न गरौँ ।’

१८–१९ वर्षका युवाहरूले मन्त्री हुने भन्दा पनि आन्दोलन सफल भइसकेपछि सक्षम मान्छे देश चलाउन पठाउनुपर्ने उनको तर्क छ । ‘अब विकासको उकालोमा लाग्नुपर्नेछ । बर्बादीको ओरालोतिर धकेलिन पनि सक्छ । अब जिम्मेवारी आएको छ,’ गिरी भन्छन् । 

अभिनेत्री आँचल शर्मा जेनजी आन्दोलनबाट सत्ता परिवर्तन भएकोमा खुसी छिन् । जेनजी आन्दोलनमा समेत सहभागी उनी विशेषगरी सुशीला कार्की प्रधानमन्त्री बनेकोमा खुसी व्यक्त गर्छिन् । 

‘अहिले म त एकदमै ह्यापी छु सुशीला कार्की प्रधानमन्त्री भएकोमा । उहाँलाई कानुन थाहा छ । राम्रो काम गर्नुहुन्छ भन्ने विश्वास छ,’ शर्मा भन्छन्, ‘यति छोटो समयमा यति ठुलो परिवर्तन आउला भनेर कसैले पनि सोचेको थिएन । परिवर्तन भयो अब संस्थागत गर्नुपर्छ ।’ 

देशमा भद्रगोल भएको समय कानुनसम्बन्धी जानकार व्यक्तिले नेतृत्व सम्हाल्नु सकारात्मक भएको उनी बताउँछिन् । तर परिवर्तनपछिको अवस्था अलि अराजक हुनसक्छ भन्नेमा उनी चिन्तित छन् ।

‘अब फेरि झनै नराम्रो हुन्छ कि अराजक हुन्छ कि भन्ने डर लागिराछ,’ उनी जेनजीलाई सुझाउँछिन्, ‘सजग, एकताबद्ध रहन र उपलब्धिलाई संस्थागत गरी राज्यलाई स्थिरतातिर लैजानु ।’ 

कमेडियन भरतमणि पौडेल अबको समाज समानता, पारदर्शिता र जिम्मेवार हुनुपर्ने बताउँछन् । जेनजीको आन्दोलनलाई केवल विद्रोह मात्र नभई समानता, पारदर्शिता र जिम्मेवार समाज निर्माण गर्ने नयाँ अवसरको रुपमा हेर्नुपर्ने उनको धारणा छ । 

‘आन्दोलनबाट भ्रष्टाचार, दलीय शासन, चरम निरङ्कुशता र व्यक्तिपूजाको अवसान भएको छ,’ उनी भन्छन्, ‘भोलिको समृद्ध नेपालका लागि सबै जुट्न र सहजीकरण गर्नुको विकल्प छैन ।’

कलाकार गोपाल ढकाल ‘छन्दे’ पनि जेनजीको उद्देश्यप्रति सकारात्मक भएपनि वर्तमान अवस्था अलि फरक ट्र्याकमा गएकोमा चिन्ता व्यक्त गर्छन् । उनी ‘रियल जेनजी’को नेतृत्वमा घुसपैठ भएको र वास्तविक लिडर को हो भन्नेमा अलमल देखिएको बताउँदै देश बनाउने दिशामा अब जेनजी समूहुसहित सबै जुट्नुपर्नेमा जोड दिन्छन् । 

‘आफैँभित्रको विद्रोहतिर, तोडफोडतिर गएर काम छैन,’ ढकाल भन्छन्, ‘वास्तविक जेनजी अगाडि आएर देशले कमाएको नामलाई कायम राख्न र देश बनाउने अभियानमा जुट्नुपर्छ ।’ यसका लागि सबैसँग हातेमालो गर्नुपर्ने उनको सुझाव छ ।

संगीतकार दीपक शर्मा जेनजी युवाको आन्दोलनले देशमा यति छोटो समयमा अप्रत्यासित परिवर्तन ल्याएको बताउँछन् । ‘तातो रगतले परिवर्तन भयो । अब सत्ता चाहिँ तातो रगतले मात्रै चल्दैन । व्यवहारिक हुनुपर्छ,’ संगीतकार शर्मा भन्छन्, ‘आन्दोलनको उपलब्धि सुशासन, भ्रष्टाचार उन्मूलन र रोजगार सुनिश्चित गर्नमा केन्द्रित हुनुपर्छ।’ 

जेनजीमा उत्साह र ऊर्जा भए पनि अनुभवको कमी रहेको भन्दै उनी परिवर्तनलाई संस्थागत गर्न, बुद्धि मिसाउन र सरकारमा विज्ञहरू ल्याउन सुझाव दिन्छन् । ‘जेनजीले खबरदारी गर्ने हो । तर यसमा अब आजै राजीनामा देऊ भनेर अलिकति अप्रिय कुरा सुनेँ मैले,’ उनी भन्छन्, ‘यो चाहिँ सही होइन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप