बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगन्ज नगरपरिषद् बैठकद्वारा शोक प्रस्ताव पारित, क्षतिको विवरण सङ्कलन हुँदै

मङ्गलबार, ३१ भदौ २०८२, ११ : ५७
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • वीरगन्ज महानगरपालिकाको बैठकले जेनजी आन्दोलनमा मारिएकाहरूप्रति शोक प्रस्ताव पारित गरेको छ।
  • आन्दोलनका क्रममा भएको क्षति करिब ११५ करोड रुपैयाँ बराबरको अनुमान गरिएको छ, जसले संरचनामा क्षति पुर्‍यायो।
  • बैठकले बजेट संशोधन गरी पुनर्निर्माणलाई प्राथमिकता दिने र घुसपैठमार्फत आपराधिक गतिविधि गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ।

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको नगरपरिषदको मंगलबार बसेको बैठकले जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त भएकाहरूको सम्झनामा शोक प्रस्ताव पारित गरेको छ। बैठकले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, आन्दोलनका क्रममा तोडफोड र आगलागीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएका छन्। प्रारम्भिक विवरणअनुसार हालसम्म करिब ११५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। 

महानगरका वडा कार्यालयहरू र स्वास्थ्य संस्थामा भएको क्षतिको विवरण अझै सङ्कलन भइरहेको उल्लेख गर्दै उनले पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्याङ्क सार्वजनिक गरिने बताए।

यसैबिच नगरपरिषद बैठकले आर्थिक वर्ष २०८२/०८३ मा विनियोजन गरिएको बजेटलाई संशोधन गर्ने र त्यसलाई संरचना पुनर्निर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ। सो सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गर्न केही दिनमै विशेष अधिवेशन बोलाइने तयारी भएको छ। बैठकमा नगर प्रमुख, उपप्रमुख, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरू तथा विभागीय प्रमुखहरूले आ-आफ्ना सुझाव राख्दै पुनर्निर्माणको कामलाई ढिलाइ नगरी तत्काल सुरु गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकले हालैको आन्दोलन वास्तविक जेनजीका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ। प्रमुख प्रशासकीय अधिकृत कर्णका अनुसार, जेनजी युवाहरूको नाममा भएको आन्दोलनमा घुसपैठमार्फत आपराधिक गतिविधि भएको प्रमाण फेला परेको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयसँग पत्राचार गर्ने निर्णय नगरपरिषदले गरेको उनले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप