शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी समर्थनपछि गाजामा इजरायलको भीषण बमबारी

मङ्गलबार, ३१ भदौ २०८२, १३ : ५२
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • इजरायलले गाजामा ठुलो मात्रामा बमबारी गरेको छ र स्थलगत आक्रमण सुरु गरेको छ।
  • मध्य गाजामा आक्रमण हुँदा हजारौं मानिसहरू विस्थापित भएका छन्, जसमा हताहतीको संख्या बढ्दै गएको छ।
  • इजरायली रक्षा मन्त्रीले गाजा जलिरहेको भन्दै मिसन पूरा नभएसम्म पछि नहट्ने चेतावनी दिएका छन्।

गाजा । इजरायलले रातभर गाजा सहरमा ठुलो मात्रामा बमबारी गरेको छ। अमेरिकी समाचार वेबसाइट एक्सियोस र यरुसलेम पोस्टले अज्ञात स्रोतलाई उद्धृत गर्दै इजरायली सेनाले अब सम्पूर्ण सहर कब्जा गर्नका लागि आफ्नो स्थलगत आक्रमण सुरु गरेको बताएका छन्, यद्यपि यसको आधिकारिक पुष्टि भने भएको छैन।

इजरायलले मध्य गाजामा पनि आक्रमण गरेको खबर छ, जहाँ हजारौँ मानिसहरू भागेर गइरहेका छन्। प्यालेस्टिनी अधिकारीहरूले मृत्यु हुने र घाइते हुनेको सङ्ख्या बढिरहेको बताएका छन्।

यो आक्रमण गाजा सहरमा इजरायलले लामो समयदेखि धम्की दिँदै आएको पूर्णस्तरको स्थलगत आक्रमणको तयारीका लागि गरिएको हो। यो सहरमा लाखौँ मानिसहरू बसोबास गर्छन्।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले सोमबार यरुसलेमको भ्रमणका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई अमेरिकाको अटुट समर्थनको आश्वासन दिएको केही घण्टापछि नै यो आक्रमण भएको हो।

मंगलबार बिहान सबेरै इजरायलका रक्षा मन्त्री इजरायल काट्जले 'एक्स' (पहिले ट्विटर) मा लेखेका छन्, ‘गाजा जलिरहेको छ’ । उनले ‘जबसम्म मिसन पूरा हुँदैन, तबसम्म इजरायल पछि हट्दैन र हार मान्दैन‘ भन्दै धम्की दिएका छन्।

गाजाका स्थानीय पत्रकारहरूका अनुसार गाजा सहरमा इजरायलले निरन्तर हवाई आक्रमण, तोप र गोलाबारी गरिरहेको छ। घरहरू ध्वस्त भएको र मानिसहरू भग्नावशेषमा फसेको बताइएको छ। 

इजरायलले गाजा सहरका बासिन्दाहरूलाई सहर छोडेर दक्षिणी क्षेत्रमा जान आदेश दिएको छ। इजरायल रक्षा बल (आईडीएफ) ले लगभग २ लाख ५० हजार प्यालेस्टिनीहरू त्यहाँबाट भागेको अनुमान गरेको छ, यद्यपि अझै पनि लाखौँ मानिसहरू त्यहीँ रहेको विश्वास गरिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप